Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा निर्माणाधिन सामुदायिक भवनमा ६ महिनादेखि तालाबन्दी

वडा कार्यालय भाडामा बस्न बाध्य
tribeni2

रुकुम पश्चिम / जिल्लाको चौरजहारी नगरपालिका –१ मा निर्माणाधिन सामुदायिक भवनमा ६ महिनादेखि तालाबन्दी गरिएको छ । भवन निर्माणको लागि जिम्मा पाएका स्थानीय निर्माण व्यवसायीले मुख्य ठेकेदारबाट भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

नयाँ शहर आयोजना कार्यालयको सहयोगमा निर्माण भईरहेको सामुदायिक भवन निर्माणको अन्तिम अवस्थामा ताला लगाईएको हो । भवन निर्माण कार्यमा संलग्न स्थानीय भद्रबहादुर बिष्टले आफूले मुख्य ठेकेदारबाट पैसा पाउन बाँकि रहेकोले बाध्य भएर ताला लगाउनु परेको बताउनुभयो ।

उहाँका अनुसार ठेकेदार कम्पनी एचबी इन्जिनियरिङ कन्ट्रक्सन प्रा.लि.बाट १३ लाख ५० हजार रुपियाँ पाउन बाँकि रहेको छ । बिष्टले नौ लाखको चेक पाएको तर खातामा पैसा नै नभएको र बाँकि चार लाख पचास हजार रकम पााउनुपर्ने उल्लेख गर्नुभयो । आजभोलि भन्दाभन्दै ठेकेदारले लामो समयसम्म भुक्तानी नदिएको बिष्टले जनाउनुभयो ।

उहाँले आफूले न्याय पाउन सजिलो होला भनेर काम गरेको भवनमा ताला लाउनु परेको बताउनुभयो । पूर्व वडाध्यक्ष समेत रहनुभएका बिष्टले आफ्नै कार्यकालमा काम सम्पन्न गर्ने चाहना हुँदाहुँदै पनि मुख्य ठेकेदारको लापरबाहिको कारण अहिलेसम्म काम पुरा हुन नसकेको उल्लेख गर्नुभयो । छलफलको वातावरण होला र आफूले गरेको लगानी पाउँला भन्ने मनसायले ताला लगाउनु परेको उहाँको भनाई रहेको छ ।

नयाँ सहर आयोजना कार्यालयका अनुसार चौरजहारी नगरपालिकाको वडा नम्वर १, २ र ४ मा सामुदायीक भवन निर्माणको लागि एचबी इन्जिनियरिङ कन्ट्रक्सन प्रा.लि.ले ठेक्का पाएको थियो । निर्माण कम्पनीले एक करोड छ लाख रकममा तीन वटा सामुदायीक भवन निर्माण गर्ने सम्झौता २०७७ असोज २६ गते गरेको आयोजना कार्यालयले जनाएको छ ।

२०७८ असार मसान्तमा सक्काउनुपर्ने काम दुई पटक म्याद थप गरेर २०७९ असारसम्म लम्ब्याईएको छ । वडा नम्वर २ को भवन हस्तान्तरण भएर वडा कार्यालय समेत सञ्चालन भैैसकेको छ भने ४ नम्वर कार्यालय सञ्चालनको तयारीमा रहेको छ । १ नम्वरमा भने अन्तिम समयमा ठेकेदारहरु बीचको लेनदेनको कारण काम रोकिएको कार्यालयले जानकारी दिएको छ ।

वडा कार्यालय सञ्चालनको लागि बनाईएको भवन नबन्दा हालसम्म वडा कार्यालय भाडामा सञ्चालन भईरहेको वडाध्यक्ष इन्द्रबहादुर गिरीले बताउनुभयो । उहाँका अनुसार वडाको लागि बनाईएको भवनमा तालाबन्दी गरिएको छ भने वडा कार्यालयको लागि मासिक १२ हजार रुपियाँ भाडा तिर्नुपर्ने बाध्यता रहेको छ ।

वडाध्यक्ष गिरीले ६ महिनादेखि लागेको ताला खोल्न गत बिहिबार आयोजना कार्यालय, वडा कार्यालय र इलाका प्रहरी कार्यालयको टोलीले मुचल्का बनाएर ताला खोलेतापनि स्थानीय ठेकेदारले पुनः शुक्रबार ताला लगाएको जानकारी दिनुभयो ।

उक्त भवनमा अब विद्युत लाईन जडान, रंगरोगन, शौचालयको ढोका जडान र सरसफाईको काम मात्र बाँकि रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्