करको दायरा बढाउन कोलेनिकाबाटै स्थायी लेखा नम्वर

तीन महिनामा रुकुम पश्चिमबाट १०४ वटा स्थायी लेखा नम्वर वितरण

रुकुम पश्चिम / आन्तरिक राजश्व विभागले करदातालाई कर तिर्न सजिलोको लागि विभिन्न जिल्लाबाटै स्थायी लेखा नम्बर लिन सकिने व्यवस्था गरेको जनाएको छ ।

शुक्रबार रुकुमपश्चिम स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा स्थायी लेखा नम्बरलाई बायोमेट्रिक बनाउने कार्यको लागि डिभाईस जडान गर्नुहुँदै आन्तरिक राजश्व विभागका निर्देशक राजु प्रसाद प्याकुरेलले करको दायरा बढाउन यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो ।

विभागका सूचना अधिकारी समेत रहनुभएका निर्देशक प्याकुरेलले विभागको स्वयम् कर सहभागीता बढाउने नीति अनुरुप पछिल्लो पटक पाँच जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयबाट स्थायी लेखा नम्बर लिन सकिने व्यवस्था गरेको बताउनुभयो । उहाँले पुस १ गते देखि रुकुमपश्चिम, रुकुमपूर्व, मुस्ताङ, डोल्पा र मुगुबाटै स्थायी लेखा नम्बर वितरण गरिएको उल्लेख गर्नुभयो ।

नयाँ पनि लिन सकिने र पुरानो लाई बायोमेट्रिक बनाउने डिभाईस जडानको लागि जिल्लामा पुगेको निर्देशक प्याकुरेलले जनाउनुभयो । उहाँले करदातालाई कर तिर्न सजिलो बनाउन र करको दायरा बढाउन विभागले जिल्ला जिल्लामा सेवा प्रवाहको काम सुरुवात गरेको उल्लेख गर्नुभयो ।

आन्तरिक राजश्व विभाग अन्तर्गत ८४ स्थानमा कर कार्यालय रहेको तर २२ जिल्लामा कार्यालय नभएको जनाउँनुहुँदै उहाँले अब पाँच जिल्लामा रहेका कोलेनिका मार्फत स्थायी लेखा नम्वरको काम गर्न सकिने बताउनुभयो । अनलाईन सिस्टम मार्फत जुनसुकै स्थानबाट करको सेवा लिन सकिने उहाँको भनाई रहेको छ ।

पुस १ गते बाट जिल्लाबाटै सुरु भएको स्थायी लेखा नम्वर वितरण कार्य अन्तर्गत हालसम्म १०४ वटा स्थायी लेखा नम्वर वितरण भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुमपश्चिमले जनाएको छ । कोष नियन्त्रण बोमलाल पराजुलीका अनुसार व्यक्तिगत स्थायी नम्वर ६५ वटा, व्यवसायीक रुपमा ३२ वटा र कार्यालयले सात वटा स्थायी लेखा नम्वर जिल्लाबाट लिएका छन् ।

रुकुम उद्योग वाणिज्य संघका संयोजक पहलबहादुर खड्काले जिल्लाबाटै यस्तो सेवा प्रवाह हुनु खुशिको कुरा भएको उल्लेख गर्नुभयो । स्थायी लेखा नम्वर लिनकै लागि दाङ तथा सल्यानसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको समेत उहाँले जनाउनुभयो ।

विभागले जिल्लाबाटै स्थायी लेखा नम्वर लिन सकिने व्यवस्था गरेपछि सर्वसाधारण, व्यवसायी तथा कार्यालयहरुले समेत झण्झट र फजुल खर्च बेहोर्नु नपर्ने उहाँको विश्वास रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्