सोसल मिडिया
रुकुम पश्चिम / शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका –३ मा रहेको पुरानो सिंचाई नहर भत्किएको छ । चौरजहारी टार सिंचाई कार्यालय अन्तर्गत रहेको चौरजहारी नगरपालिका –३ देखि वडा नम्वर –१ जाने पुरानो नहर भत्किएको हो ।
चौरजहारी टार सिँचाई कार्यालयका अध्यक्ष अर्जुन कुमालका अनुसार नहरमा आएकाे पानीकाे निकास नहुँदा भत्किएको हो । शनिबार दिउँसो परेको पानी र नहरमा आएकाे पानी समेतले गर्दा नहर भत्किएको हो ।
वडाको घारीपाखा देखि विजयश्वरी जाने सडक निर्माणको क्रममा नहरको निकास बन्द भएको र क्षमता भन्दा बढी पानी जम्मा हुँदा नहर भत्किएको अध्यक्ष कुमालले बताउनुभयो । सडक निर्माणको क्रममा पुरिएको नहरको माटो हटाईएको छैन ।
अध्यक्ष कुमालले पुरानो नहरको करिब २० मिटर भाग भत्किएको जनाउनुभयो । अन्यत्रको जमिनमा पानी आवश्यक नभएको बेला पुरानो नहरतर्फ बढी मात्रामा पानी ढल्काईएको उहाँले उल्लेख गर्नुभयो । भत्किएको नहरको लागि आवश्यक प्रक्रिया पु¥याएर तत्कालै मर्मत कार्य थालिने समेत अध्यक्ष कुमालले जानकारी दिनुभयो ।
खोलागाउँदेखि चौरजहारीसम्म आएको नहर पुरानो भएकोले बेला बेलामा भत्किने गरेको छ । टार सिचाई कार्यालयको सक्रियतामा मर्मत हुँदै समेत आएको छ ।
नहर भत्किएपछि विजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा क्षति पुगेको छ । संस्थाका अध्यक्ष तेजबहादुर बटालाका अनुसार नहर देखि २० मिटर तल रहेको कार्यालय परिसरमा क्षती पुगेको हो ।
नहर भत्किएर आएको पानीसँगको माटो र ढुङगाका कारण कार्यालय परिसर जलमग्न तथा हिलाम्मे भएको छ । जसको कारण सेवाग्राहिहरुलाई आउजाउ गर्न असहज भएको छ । खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष बटालाले रुखहरु समेत ढलेको कारण कार्यालयको पछाडिको भागमा असर भएको उल्लेख गर्नुभयो ।
नहरबाट खसेको माटोढुङगाले कार्यालयको भित्ताहरुमा क्षती पुगेको छ । कार्यालयमा जम्मा भएको पानी, माटोढुङगा र रुखहरु नहटाउदा सेवा प्रवाह गर्न कठिनाइ भएकाे बताईएको छ ।