रुकुममा सामना परिवारको जनसङगीत अभियान

वैज्ञानिक समाजवादको लागि गीत संगीतबाट जनता जगाउँदै

नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा निकट सामना साँस्कृतिक परिवारले रुकुममा जनसङगीत अभियान सुरुवात गरेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामना परिवारले वैज्ञानिक समाजवादको लागि जनसङगीत अभियान सुरु गरेको जनाएको छ ।

जिल्ला सदरमुकाम मुसिकोट खलङगामा आईतबार सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको सामना परिवारले आज सोमबार सानीभेरी गाउँपालिकाको सिम्लीमा र मंगलबार आठबिसकोट नगरपालिकाको राडि बजारमा प्रस्तुती राख्ने जनाएको छ ।

नेकपा रुकुम पश्चिमका डि वान सेक्रेटरी भाष्कर मल्लका अनुसार वैज्ञानिक समाजवादको पक्षमा सन्देश प्रवाह गर्न र जनता जगाउन अभियान सुरुवात गरिएको हो । मल्लले सांस्कृतिक कार्यक्रमको दौरानमा नृत्य, नाटक, जनवादी गीत र राजनैतिक प्रशिक्षण समेत राख्ने गरिएको बताउनुभयो ।

जनसङगीत अभियानको नेतृत्व गरिरहनु भएका नेकपाका केन्द्रिय सदस्य आरोहले फागुन २७ गते देखि जनताका बीचमा निरन्तर सांस्कृतिक प्रस्तुतीहरु राखिरहेको बताउनुभयो । उहाँले जनताका भावना तथा भोगाई, परिवर्तन र मुक्तिका सन्देशहरु गीत संगीतको माध्यामबाट राख्ने गरेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य चन्द्र बुढाले जनतालाई सचेत बनाउन र परिवर्तनको लहरमा उभ्याउन संगीत सशक्त माध्याम भएको उल्लेख गर्नुभयो । उहाँले वैज्ञानिक समाजवादका लागि सबै जना इमान्दारहरु एक ठाउँमा उभिन आवश्यक रहेको समेत बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ०९:०३
प्रतिक्रिया दिनुहोस्