एस.एल.सी. र हिरासतको तितो अनुभव !

  • मोहन प्रसाद आचार्य
२०५८ तिर देशमा युद्धको आगो बलिरहेको थियो । झन् रुकुममा त परिस्थिति निकै खराब थियो । एसएलसि परीक्षा जिल्ला सदरमुकामको सैनिक घेरामा मात्र हुने गर्दथ्याे । सदरमुकाम मुसिकोट तत्कालीन खोलागाँउ गाबिसबाट करिब ८ घन्टा लामो पैदल दुरिमा थियो ।
 
एसएलसी चैत्र २० गते देखि सुरु हुनेवाला थियो । हामी ६ जना साथीहरू कोठा खोजेर बस्ने बन्दोबस्त मिलाउने सोचले चैत्र ३ या ४ गते शनिबारका दिन सदरमुकाम जाँदै थियौ । बिहानै हिडेका हामी करिब २ बजेतिर सदरमुकाम पुग्यौ । सदरमुकामको तल्लो भाग पिपलनेटामा रुकुम कारागार शाखा थियो । त्यहा प्रहरीले सबैको नाम सोध्यो । भन्न सजिलोको लागि एक साथिले ६ जनाकै नाम भनिदिनुभयो ।
 
दुर्भाग्यवश के भयो भने उहाँले मेरो नाम मोहन प्रसाद आचार्य भन्नुपर्नेमा मान प्रसाद आचार्य भन्नू भयो । यसमा उहाको दोष थिएन । कक्षा ९ मा मैले नाम फेरेर मान प्रसाद बाट मोहन प्रसाद बनाएको थिए । परिचयपत्र रुजु गर्दा मेरो नाम मिलेन । सबै साथीहरूलाई छोडेपनी प्रहरीले मलाई छोडन मानेन । मैले ब्यक्तिगत रुपमा कैयौं अनुनय गरे । साथीहरूले त्यस्तै अनुनय गर्नुभयो । उल्टो सबैलाई थुनिदिने धम्की दिन थाल्यो प्रहरीले । साथीहरूले पनि लाखौं प्रयास गर्नुभयो तर सम्भव भएन ।
 
उहाँहरु सबैलाई थुनिदिने भन्दै समाउन थाल्यो । प्रहरीको त्यो दानबिय व्यबहारको अगाडी साथिहरुको केही सीप लागेन । उहाँहरु जानुभयो । अब प्रहरीसँग म एक्लै भए ।
 
अनेक खालका प्रश्न सोधेर मलाई मनोबैज्ञानिक रुपले दबाब दिन थाल्यो । त आतंककारी नै होस । तेरो एउटा नाम भुमिगत र अर्को घरको नाम हो भन्ने आरोप लगायो । होइन भन्दा पनि उसले उल्टै थर्कायो । मलाई बोल्न सम्म दिएन । म रुन मात्र सक्थे तर रुन पनि दिएन ।
 
१७ बर्षको नाबालक मेरो मनमा अनेक कुरा खेल्न थाले । मलाई अरुभन्दा एसएलसि कै चिन्ता थियो । आफू बाँच्छु कि बाँच्दिन भन्दा पनि एसएलसि को पीर बढि थियो । घरायसी कामले पढ्न नपाउने मेरो लागि अबका १५ दिन निकै उपलब्धिमुलक हुने सोचेको थिए । त्यतिबेला फस्ट डिभिजनमा पास हुनुलाई ठुलै प्रतिष्ठाको बिषय मानिन्थ्यो . फस्ट डिभिजनमा पास हुने सोचले एक प्रकार उर्जा आएको थियो . तर त्यो उर्जा बिचमै बिलाउने भयो भन्ने पीररले निकै सताएको थियो ।
 
कारागारको प्रहरीले दुइ घन्टा केरकार गरेपछी मलाई हिरासततर्फ लियो । जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा रहेको एक प्रतिक्षालयमा म थचक्कै बसे । भोलि सदरमुकाम जान्छु भन्ने रहरले मैले अघिल्लो दिन समेत राम्रोसँग खाएको थिएन । त्यो दिन त झन खाने समय नै मिलेको थिएन । भोक र शोकले म निकै कम्जोर भैसकेको थिए ।
 
म करिब ४ घन्टा रोए होला । प्रहरीको मन कति कडा हुन्छ भन्ने कुरा मैले त्यसैबेला जानेको हु । साँझको ५ बजेको समयमा मलाई हिरासत भित्र हाल्न खोज्यो । मैले अस्विकार गरे । एक जनाले थप्पड हान्ने प्रयास गर्यो तर हानेन । प्रहरीले नै मेरो शरिरमा रहेका बेल्ड, पेन, पर्स लगायतका सम्पुर्ण सामान निकालेर सर्ट र पाइन्ट मात्र बाकी राखेर लतार्दै भित्र कोच्यो । निकै बेर चिच्याए । कराए । हात जोडे । तर मानेन । मेरो स्वर नै सुकिसकेको थियो । 
 
मलाई फलामको गेट खोलेर भित्र पसाएर बाहिरबाट ताला लगाएर प्रहरी त्यहाबाट गयो । भित्र अरु दुई जना रहेछन । एकजना आफ्नै काकाको हत्या गरिएका अपराधी र अर्को म जस्तै गलत सुचनाले दु:ख पाएका ब्यक्ति ।
 
साँघुरो कोठा । कहि कतै बाहिर हेर्न मिल्ने प्वाल सम्म थिएन । फलामको ढोकाबाट आकाशको सानो अंश देखिन्थ्यो । कुनामा एउटा घ्याम्पो थियो । त्यो पिसाब फेर्नलाई रहेछ । घ्याम्पो भरिएर पिसाब बाहिर पोखिएको थियो । पिसाबको गन्धले नाक फुटाउला जस्तो भएको थियो ।
 
साँझको ८ बजेतिर खान ल्याएर एक प्रहरी आए । दुई जनाले फलामको ढोकामा बनाइएको प्वालबाट दिएको भात र दाल लिए । तर मेरो मनमा आक्रोशको ज्वार चलिरहेको थियो । मैले लातले हानेर भातको थाल हुत्याइदिए । मेरो दुस्साहस हो या आक्रोश मैले अहिले पनि पत्तो पाएको छैन ।
 
प्रहरीले गाली गर्यो । मैले पनि गालि गरे । मेरो गल्ती छ भने गोलि हानेर मार होइन भने म आफै मर्छु । तेरो भात खानु छैन । म हिरासतमा भात खानेवाला छैन । कि निस्कन्छु कि नखाएर मर्छु । मेरो शब्द ठ्याक्कै यहि थियो त्यतिबेला ।
भात कोठाभरी छरिएको थियो । सफा गर भनेर थर्काउदै थियो । म तेरो कोठा सफा गर्न आएको हो र ? भनेर उल्टो थर्काए । हिरासतमा पिट्न पाइने रहेनछ क्यारे मलाई केही गरेन । अरु दुई जनाले त्यो सफा गरे । साखका ती दाइ मलाई सम्झाउदै थिए । बाबू तिमी यस्तो नगर । हिजो मात्र तिमिजस्तै एकजनालाई कता लिएर मार्यो थाह छैन । आक्रोश राख्ने होइन !
 
तर मेरो मनले मानेन । उनिहरु मजाले सुते त्यही भुइमा तर म रातभर एक मिनेट पनि सुत्न सकिन । बेला बेला प्रहरी जवान आएर मनोबैज्ञानिक तनाब दिन्थे । तर असइ र सइ तहका प्रहरीले सकारात्मक कुरा पनि गर्दथे । तिमी भोलि छुटिहाल्छौ भन्थे त्यै कुराले मलाइ केही आशा जागेको थियो ।
 
भोलिपल्ट बिहान ७ बजेतिर दिशा पिसाबको लागि बाहिर लियो । हत्कडी लगाउन मानिन तर प्रहरीले लगायो । केही खाएको थिएन दिशा त के आँउथ्यो र ! पिसाब मात्र फेरे । फेरि भित्र हाल्यो ।
करिब ११ बजे तिर बयानको लागि बाहिर निकाल्यो । अब म छुट्छु भन्ने लाग्यो । एक इन्स्पेक्टरले बयान लिए । मैले यथार्थ बयान दिए । उनले म भित्रको कन्फिडेन्स र यथार्थ कुरा बुझेछन क्यारे । तिमी निर्दोश छौ भने । तर दिनभर बयान लिए पनि बेलुका ४ बजेतिर तिर फेरि भित्र हाले ।
 
त्यतिबेला अब म छुट्दिन भन्ने पीर लाग्यो । खासमा साक्षीको अभाव भएको रहेछ । साथीहरुले बाहिर प्रयास गर्नु भएको रहेछ । तर कोहि तयार भएनन । अन्तिममा नन्द बिष्ट दाइ भगवान बनेर आउनु भयो । चिन्दै नचिनेको मान्छेलाई यसको पूरा जिम्मा लिन्छु भनेर साक्षीको तर्फबाट हस्ताक्षर गर्नु भयो । भोलिपल्ट बेलुका ६ बजेतिर मलाई छोडियो ।
 
एक चिनजानको होटेलमा बास बसे । भोलिपल्ट ६:३० सम्म कर्फ्यु थियो । ६:३५ तिर खलंगाबाट निस्के र घोडा कुदे जस्तै घरतिर लागे । ६ घन्टा लाग्ने बाटो करिब ३ घन्टामा पूरा गरे । बिचमै बुवाहरु आउनुभएको रहेछ उहाँहरुलाई भेटे ! हाँसी खुसी घरमा पुग्यौ ।
 
उता बिद्रोही पक्षलाइ के लागेछ भने प्रहरीको फन्दामा परेको मान्छे कसरी निस्क्यो ? यो कतै नाटक त होइन ? यसले कतै हाम्रो सुचना त लिक गरेन ? कतै यो सुराकी पो हो कि ? यस्तै यस्तै जिज्ञासा् लागेछन । उनिहरुले पनि एक दिन केरकार गरे । अनेक मानसिक तनाब दिए । तर म आफ्नै बयानको कारण छुटेर आएको थिए । प्रहरी अफिसरको मन जितेर आएको थिए । उनको पनि केही सीप लागेन ।
 
साथीहरू कोठा बनाएर आउनु भएछ । म पनि त्यसमै बस्ने भैहाले । परिक्षाको केही दिन अगाडी खलंगाको जिप्रका, खाद्य कार्यालय, सल्ले तथा बोरागाउ सैनिक ब्यारेकमा एकसाथ आक्रमण भयो । कोठामा सबै सगै चिच्यायौ । राता राता गोलि गएको स्पष्ट देखिन्थ्यो ।
 
ठुलठुला आवाजमा बमहरु पड्किन्थे । त्यही वातावरणमा एसएससि सकियो । एसएलसिको बेला मलाई बयान लिएका इन्स्पेक्टर बेला बेला आएर ढाडस दिन्थे । मेरो लेखाइ हेरेर मन्त्र मुग्ध थिए ।
 
नतिजा आयो म फस्ट डिभिजनमा पास भएको कुरा मलाई भन्दा पहिले प्रहरी अफिसरलाइ थाह भएछ । श्रावन २४ मा नागरिकता बनाउने कामले सदरमुकाम गएको थिए । तिनै प्रहरी इन्स्पेक्टर ले अगाडी आएर ल बधाइ छ भाइ भने । तर मैले तिनलाइ भुलेको रहेछु ।
 
जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि लाइन लागेको थिए । एक कार्यालय सहयोगी मार्फत मलाई बोलाए । प्रमुख जिल्ला अधिकारी, डिएसपी र ती इन्स्पेक्टरले सामुहिक माफी मागे ।
 
प्रहरीको काम यस्तै हो ।  यसलाई अन्यथा नलिनु । तिमीले अनावश्यक दु:ख पाएछौ । तिमी सफल हुने मान्छे हौ । पढाइ निरन्तर गर्नु । केही सहयोग चाहिएमा हामीलाई भन्नु भने । प्रहरी प्रती जागेको मेरो बितृस्ना मेटाउने प्रयास गरे ।
 
म पनि केही हदसम्म सकारात्मक बने । त्यति गर्दा गर्दै मेरो नागरिकता बनिसकेछ । प्रमुख जिल्ला अधिकारीकै हातबाट नागरिकता लिए । मनमा एक प्रकारको उर्जा थपिएको महसुस गरे । प्रमुख जिल्ला अधिकारीले तिमी सफल हुने मान्छे हौ भनेको कुरा मेरो काममा अहिले नै सुने जस्तो लाग्छ । 
 
- (लेखक आचार्य, नेपाल सरकारको शाखा अधिकृत हुनुहुन्छ ।)
 
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्