Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री शर्मालाई दोस्रो पटक विश्वासको मत

केन्द्रमा एमाले–माओवादीसहित गठबन्धन भत्किए पनि कर्णाली प्रदेशमा एमालेकाे समर्थन कायमै
tribeni2

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाउनुभएको छ । शुक्रबार सभामुख नन्दा गुरुङले मुख्यमन्त्रीले विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा बहुमत सदस्यले विश्वासको मत दिनुभएको हो ।

मुख्यमन्त्री शर्मालाई राप्रपा बाहेकका सबै दलहरूले विश्वासको मत दिएका छन् । ४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा ३९ जना मतदानमा सहभागी भएका थिए । मुख्यमन्त्री शर्माको पक्षमा ३८ जना प्रदेश सभा सदस्यहरूको विश्वासको मत दिएका छन् भने विपक्षमा १ मत परेको छ ।

माओवादी केन्द्रको संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री शर्मा गत पुस २७ गते नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले माघ ६ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले फेरि विश्वासको मत लिनुभएको हो । दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपाबाहेक काँग्रेस, एमाले, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् । केन्द्रमा बनेको एमाले–माओवादीसहित गठबन्धन भत्किए पनि एमालेले कर्णाली प्रदेशमा समर्थन कायमै राखेको छ ।

यसअघि विश्वासको मत नदिएको काँग्रेसले भने यस पटक मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको हो । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रको १३, नेकपा एमालेका १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रको एक–एक जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०७:०४
प्रतिक्रिया दिनुहोस्