Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा पशुवस्तुमा लाग्ने विभिन्न रोग विरुद्ध ७९ हजार डोज खोप उपलब्ध

पशुवस्तुमा धमाधम निशुल्क खोप लगाईदैं
२०७९ चैत १८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा भेडाबाख्रामा लाग्ने संक्रामक पि.पि.आर., बंगुर तथा संगुरमा लाग्ने स्वाइन फिवर, कुखरामा लाग्ने रानीखेत र गोरु, गाई र भैसीमा लाग्ने खोरेत रोग बिरुद्ध ७९ हजार डोज खोज प्राप्त भएको छ ।

केन्द्रिय खोप प्रयोगशालाबाट खोप प्राप्त भएपछि पशुवस्तुहरुलाई विभिन्न रोगहरुबाट बचाउन भेडाबाख्रा, संगुर तथा बंगुर र कुखुरालाई किसानको घरदैलोमै पुगेर धमाधम खोप दिईन थालेको छ । पशुपालनका लागि अग्रणी जिल्ला मानिएको रुकुम पुर्वमा पशुवस्तुहरुलाई रोग नलागोस् भनेर अभियान नै सञ्चालन गरेर निशुल्क खोप लगाईएको हो ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजना र विभिन्न स्थानीय तहको समन्वयमा ‘खोप अभियान’ सञ्चालन गरिएको हो । दुई हप्तामा चार हजार ६९० खोप लगाईएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर १ र २ र सिस्ने गाउँपालिकाको वडा नम्वर ५, ६, ७ र ८ मा खोप लगाईएको हो ।

कार्यालय प्रमुख बस्नेतले भेडाबाख्रामा लाग्ने संक्रामक पि.पि.आर.रोग बिरुद्ध दुई हजार ७२१, संगुर तथा बंगुरमा लाग्ने स्वाइन फिवर बिरुद्ध ३५८ र कुखुरामा लाग्ने रानीखेत रोग बिरुद्ध एक हजार ६११ डोज खोप लगाई सकिएको बताउनुभयो । अन्य सबै वडाहरुमा सम्बन्धित गाउँपालिका तथा वडा कार्यालयको समन्वयमा खोप लगाईने बताईएको छ ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले प्राविधिक कर्मचारीहरु अभाव रहेका स्थानीय तहका वडाहरुमा कार्यालबाटै कर्मचारी पठाएर खोप लगाउने गरेको छ । सबै पशुवस्तुलाई खोप लगाउने लक्ष्य अनुरुप गाउँपालिकालाई खोपहरु समेत उपलब्ध गराईएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा केन्द्रिय खोप प्रयोगशालाबाट ४८ हजार डोज पि.पि.आर. खोप, दुई हजार डोज स्वाइन फिवर बिरुद्धको खोप र २५ हजार रानीखेत बिरुद्धको खोप प्राप्त भएको छ ।

जसमध्य जिल्लाको सिस्ने गाउँपालिकामा सात हजार पाँच सय डोज पि.पि.आर, दुई सय स्वाइन फिवर र एक हजार रानीखेत विरुद्धको खोप उपलब्ध गराईएको छ । त्यसैगरी पुथा उत्तरगंगा गाउँपालिकामा १५ हजार डोज पि.पि.आर., पाँच सय स्वाइन फिवर र दुई हजार रानीखेत बिरुद्धको खोपको डोज उपलब्ध गराइएको कार्यालय प्रमुख बस्नेतले उल्लेख गर्नुभयो ।

भूमे गाउँपालिकामा १० हजार पि.पि.आर., तीन हजार स्वाइन फिवर र दुई हजार रानीखेत बिरुद्धको खोप पठाईसकिएको छ । गाउँपालिकाहरुले आवश्यकता अनुसार वडा कार्यालयसँगको समन्वयमा खोप लगाउने छन् ।

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख बस्नेतले गाईभैसीमा लाग्ने खोरेत रोग बिरुद्धको खोप पनि लगाउने कार्यक्रम रहेको बताउनुभयो । उहाँले जिल्लामा खोरेत रोग बिरुद्धको चार हजार डोज खोप आईपुगेको जानकारी दिनुहुँदै जिल्लाका सिमा नाकाहरुमा रहेका गाईभैसीमा उक्त खोप लगाइने जनाउनुभयो ।

जिल्लामा खोरेत रोग नरहेकोले भित्रन नदिनको लागि रुकुमपश्चिम, रोल्पा, बाग्लुङ्गका सिमाना रहेका गाईभैसीमा उक्त खोप लगाइने बताईएको छ । घरदैलोमै पशुवस्तुहरुमा निशुल्क खोप लगाउन पाएपछि किसानहरु भने खुशि भएका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्