सोसल मिडिया
बाग्लुङ्ग / जिल्लाको गलकोट नगरपालिका १० पाण्डबखानीमा विविध खेलकुद कार्यक्रम हुने भएको छ । घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले २५६७ औं बुद्धजयन्ती तथा बैशाखे पुर्णिमा मेलाको अवसरमा विविध खेलकुद आयोजना गर्ने भएको हो ।
मेलाको लागि शनिबार तयारी बैठक समेत गरिएको छ । मेलामा वडा स्तरीय पुरुष तथा महिला भलिबलसंगै पौढ पुरुष भलिबल, डबल ब्याट्मिन्टन खेल र नृत्य प्रतियोगिता गर्ने निर्णय गरिएको छ । मञ्चका अध्यक्ष प्रकाश पुनको अध्यक्षतामा बसेको भेलाले कार्यक्रमको लागि विभिन्न उपसमितिहरु निर्माण गरेको छ ।
अतिथि सत्कार, आर्थिक समिति, खेलकुद समिति, साँस्कृतिक समिति, प्रशासनिक समिति, स्वयंसेवक समिति, मञ्च व्यवस्थापन, मेस व्यवस्थापन र प्रचारप्रसार समिति निर्माण गरेको मञ्चका सचिव दिप घर्तिले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा पुरुष भलिबलको प्रथम पुरस्कार एक लाख, दोस्रो पुरस्कार ६० हजार राखिएको छ ।
त्यसैगरी महिला भलिबलमा प्रथम पुरस्कार ५० हजार, दोस्रो ३० हजार राखिएको छ भने पौढ पुरुष भलिबल प्रथम पुरस्कार ५० हजार, दोस्रो ३० हजार, नृत्य प्रतियोगितामा प्रथम ३० हजार, दोस्रो २० हजार, तेस्रो १० हजार र व्याडमिन्टन खेलको प्रथम पुरस्कार २० हजार र दोस्रो १२ हजार राखिएको छ।
बैशाख १५ गते नाम दर्ता र १६ गते खेलको टाइसेट सार्वजनिक गरिने मञ्चले जनाएको छ ।