कालिजपालनमा जमेका गणेश, पाखोबारीमै सुन फलाउने रहर

बिदेशबाट फर्केपछि १६ रोपनी जग्गामा पशुपालन, कुखुरापालन, तरकारी र फलफूल उत्पादनको काम

रुकुम पश्चिम / १२ वर्ष विदेशमा पसिना बगाएर फर्केका रुकुम पश्चिमका ४६ बर्षिय गणेश खड्काले गाउँकै पाखोबारीमा सुन फलाउने रहर बोक्नुभएको छ । मुसीकोट नगरपालिका –२ का खड्काले करिब एक करोडको लगानीमा चलाएको शारदा सिस्ने जलजला कृषि कम्पनीले गरेको एकिकृत कृषि कर्मबाट सुन फलाउने रहर बोक्नुभएको छ ।

गाउँको आफ्नै १६ रोपनी जग्गामा खड्काले अहिले पशुपालन, कुखुरापालन, तरकारी र फलफूल उत्पादनको काम गरिरहनुभएको छ । आठ वर्ष साउदी अरब र चार वर्ष मलेसियामा मजदुरी गरेर फर्केका खड्काले २०७४ सालमा दर्ता गरेको कृषि कम्पनी अहिले जिल्लाको अब्बल कृषि फर्ममा रुपमा चिनिन्छ ।

उहाँले गाउँमा गरेको कालिजपालन जिल्लाको एक मात्र व्यवसायीक फर्म हो । खड्काले सात रोपनी जग्गामा तरकारी खेतीका लागि टनेल, कागती र अमिलाको बोट रोप्नु भएको छ । त्यसैगरी दुई हजार ६० वर्गमिटर जग्गामा बाख्राखोर, कालिजपालन, कुखुराखोर र आफू बस्ने घर रहेको छ । सिचाँईको लागि पानी ट्याङकी, मलखाद र फर्ममा गाडि आउने सडक समेत आफैले बनाउनुभएको छ ।

आफ्नै माटोमा केहि गर्ने रहरले विदेशबाट फर्किएका खड्काको चाहनामा भने बेला बेला ठक्कर लागिरहेको बताउनुहुन्छ । “२३ वर्षको उमेर २०५५ सालमा बिदेश गए, तर खासै कमाई भएन,” खड्काले भन्नुभयो, “आठ बर्ष साउदी अरबमा पसिना बगाएर लागेको ऋण तिरेर चार लाख मात्र बचाए ।”

साउदीबाट फर्केपछि एक बर्ष गल्ला तथा किराना पसल सन्चालन गर्दा उधारोको कारण बन्द गर्नुपरेको उहाँले सुनाउनुभयो । त्यसपछि यातायात व्यवसायमा संलग्न खड्का घाटा नै भएपछि मलेसिया जानुभयो । चार वर्षपछि परदेशबाट उस्तै असन्तुष्ति बोकेर खड्का फेरि नेपाल फर्किनुभयो ।

“पत्रपत्रिका पढे, युटुब हेरे, कृषिमा सम्भावना देखे” खड्काले भन्नुभयो, “आफ्नै माटोमा केहि गर्ने रहर जाग्यो ।” सरकारले गर्ने मान्छेलाई लगानी दिन्छ, अनुदान दिन्छ भन्ने सुनेर कृषि पेशामा जोडिएको उहाँको भनाई छ । विदेशमा दुःख, सुखमा साथ दिने मान्छे नहुने, गाउँमा परिवारका साथ व्यवसायमा रमाउन सकिने सम्झेर गाउँ आएको उहाँको भनाई छ ।

मलेसियाबाट फर्केपछि तरकारी खेती र बोईलर कुखुरा पालनमा हात हाल्नुभएका खड्काले ती दुवै पेशामा पनि सफल नभएपछि कालिजपालन गर्ने निर्णय गर्नुभयो । सुरुमा २५ वटा कालिज ल्याएर व्यवसायिक पालन गर्नुभएका उहाँले पछिल्लोपल्ट दुई सय कालिज थप्नुभयो । ती सबै बिक्रि भए । अहिले उहाँको फर्ममा १५० कालिज हुर्किरहेका छन् ।

सुरुमा कालिजको खोर निर्माण गर्दा पशु अस्पताल तथा पशु सेवा कार्यालयले दुई लाख रुपियाँ सहयोग गरेको थियो । त्यो बाहेक उहाँले कुनै सरकारी अनुदान नपाएको बताउनुभयो । उहाँले पहिलो लडका सबै कालिज बिक्री गरिसकेपछि भाउ र बजार राम्रो भएकोले व्यवसायमा हौसिएको जनाउनुभयो ।

खड्काको फर्ममा तीन जना नियमति र पाँच जना आंशिक कामदार छन् । कालिजपालनसँगै बट्टाई, टर्कि र लौकाट पनि पालन भईरहेको छ । बेमौसमी तरकारी खेती, बाख्रापालन, लोकल र बोईलर कुखुरापालन, कागती र अमिलाको खेती पनि सँगसँगै भईरहेको छ ।

अहिले खड्काको बारीमा रोपिएका ८५० कागतीको बोट फल्न सुरु गरेका छन् । तीन सय अमिलाका बोट हुर्किरहेका छन् । दश लाखको बाख्रा र दश लाखकै कालिज खरिद गरिएको खड्काले जानकारी दिनुभयो । प्रत्येक पटकमा तीन हजार पाँच सय बोईलर कुखुरा, पाँच सय बट्टाई, ४५० लोकल कुखुरा बिक्रि हुने गरेको उहाँको भनाई रहेको छ ।

“राम्रोसँग आम्दानी हुने बेला भएको छैन,” खड्काले भन्नुभयो, “अझै लगानीकै चरणमा छु ।” अहिले बट्टाई र लौकाट सकिएको छ भने टमाटर बिक्रि भएर बेर्न जमाउने तयारी छ । आफ्नो फर्ममा उत्पादन भएका हरेक चिजको बजारीकरणमा समस्या नभएको खड्काले उल्लेख गर्नुभयो ।

करिब एक करोड लगानी भैसकेको जानकारी दिनुहुँदै खड्काले आम्दानीको सुरुवाती भएकोले हाल बार्षिक आठ लाखसम्म बचत हुने गरेको खड्काले जनाउनुभयो । अझै केहि रकम लगानी गर्न पाए बारीमै सुन फलाउनसक्ने विश्वास उहाँले बोक्नुभएको छ ।

एकै पटकमा दुई हजार कालिज पाल्ने लक्ष्य बोकेका खड््काले आर्गानिक खाना, नास्ता खुवाउने गरी होमस्टे सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । कालिजको सुपसँग कोदाका ढिडो, सिस्नोसँग मकै तथा कोदोको रोटी खाने व्यवस्था होमस्टेमा हुने उहाँले बताउनुभयो । उहाँले जंगली बंदेल पालनको प्रक्रियामा रहेको समेत उल्लेख गर्नुभयो ।

करिब ४५ लाख ऋण लिएर कृषि फर्म सञ्चालन गरेको बताउनुहुँदै उहाँले सरकारी तवरबाट अनुगमन र प्राविधिक ज्ञानको अपेक्षा गर्नुभएको छ । नेपालमा कृषिमा राम्रो सम्भावना भएकोले जमिन बाँझो राख्न नहुँने उहाँको भनाई छ । उहाँले स्वदेशमा गरेपछि नहुने भन्ने केहि नभएकोले किसानले उचालेको पाईलामा सरकारले टेको लगाउन जरुरी रहेको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:०४
प्रतिक्रिया दिनुहोस्