Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा एसइई परीक्षार्थीबाट अवैध शुल्क असुली

केन्द्राध्यक्ष र अनुगमन समितिको खर्च भन्दै उठाईएको रकम फिर्ता हुने
tribeni2

रुकुम पश्चिम / चैत १७ गतेबाट चलिरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रवेशपत्र लिन जाँदा विद्यार्थीहरुले अवैध शुल्क तिर्नुपरेको गुनासो रहेको छ । जिल्लाको आठबिसकोट नगरपालिकामा रहेका चार वटा परीक्षा केन्द्रमा परीक्षा दिने परीक्षार्थीले बाध्य भएर उक्त शुल्क तिर्नु परेको बताएका हुन् ।

आदर्श माध्यमिक विद्यालय घेत्माका परीक्षार्थी बिक्रम थापाले नगरभित्र रहेका सबै विद्यार्थीहरुले प्रतिव्यक्ति तीन सयको दरले प्रवेशपत्र लिने बेला पैसा तिरेको बताउनुभयो । उहाँका अनुसार विद्यालयले केन्द्राध्यक्ष र अनुगमन समितिको खर्च भन्दै उक्त रकम उठाएको हो । परीक्षा केन्द्रमा प्रवेशपत्र लिन गएको बेलामा तीन सय रुपियाँ नतिरेमा परीक्षामा समेत बस्न नपाउने बताईएपछि सापट मागेर पैसा तिरेको थापाले उल्लेख गर्नुभयो । उक्त रकमको रसिद नदिएको बताईएको छ ।

आठबिसकोट नगरपालिकाका अनुसार नगरभित्रका विभिन्न १८ विद्यालयका ६२६ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागी रहेका छन् । नेपाल राष्ट्रिय मावि गत्तासैना, जनता मावि झिन्चौर, हिमालय मावि खदि र बालकल्याण मावि राडिमा परीक्षा केन्द्र रहेका छन् । परीक्षार्थीबाट शुल्क लिईएको बिषयमा शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनले अवैध शुल्क उठाएको सूचना पाएकोले तत्काल सम्बन्धित बिद्यालयलाई शुल्क फिर्ता गर्न निर्देशन दिएको बताउनुभयो ।

उहाँले आफूहरु अनुगमनमा जाँदा उक्त कुरा नखुलेको तर जिल्ला फिर्ता भएपछि जानकारी आएको जनाउनुभयो । केन्द्राध्यक्षहरुले सम्बन्धित विद्यालयहरु मार्फत उठाएको उक्त शुल्क अवैध भएकोले फिर्ता गर्नुपर्ने उहाँको भनाई रहेको छ ।

आठबिसकोटस्थित एक विद्यालयका शिक्षकले परीक्षा केन्द्रमा गएको बेला शुल्क मागिएपछि आफूहरु पनि झसङग भएको बताउनुभयो । परीक्षा दिन नपाउने डरका बीच बिद्यार्थीहरुले शुल्क तिरेर प्रवेशपत्र लिएको बताउनुभयो । “हामीले जम्मा गरिदियौ, प्रधानाध्यापक मार्फत केन्द्राध्यक्षलाई उक्त पैसा बुझाईएको छ,” उहाँले भन्नुभयो, “यो अवैध शुल्क हरेक सालको परीक्षामा व्यवस्थापनको नाममा उठाईदै आएको छ ।”

शुल्क फिर्ता निर्देशन

यस विषयमा जानकारी पाउने बित्तिकै नगरपालिकामा एक छलफल कार्यक्रम आयोजना गरेर अवैध शुल्क फिर्ता गर्न निर्देशन दिईएको आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । नीति, नियम भन्दा बाहिर गएर बिद्यार्थीबाट शुल्क उठाईएको गुनासो आएकोले विद्यार्थी, विद्यार्थी नेता, शिक्षक प्रतिनिधिहरु सहितको छलफलमा उक्त शुल्क फिर्ता गर्न सहमति भएको शाहले बताउनुभयो ।

विद्यार्थी नेता हरि पुनले केन्द्राध्यक्ष र अनुगमन समिति रिझाउन बिद्यालयले अवैध रकम असुल्ने गरेको बताउनुभयो । परीक्षाको बेला मात्र हुने नाम मात्रका अनुगमन र केन्द्राध्यक्ष छनौटमा भएको सेटिङ अनुसार परीक्षार्थीले मार खेप्नु परेको उल्लेख गर्नुभयो । पीडित बिद्यार्थीहरु आठबिसकोट नगरपालिका पुगेर बिरोध जनाएपछि फिर्ता गर्न पहल गर्ने मौखिक सहमती भएको छ ।

यसरी उठाईएको शुल्कबारे केन्द्राध्यक्षले नै जानकारी नभएको प्रतिक्रिया आएको छ । जनता मावि झिन्चौरका केन्द्राध्यक्ष पूर्णबहादुर चन्दले आफूहरुले त्यस्तो कुनै कार्य नगरेको र त्यो अवैधानिक भएको दाबी गर्नुभयो । नगरपालिकामा यस विषयमा छलफल भएको सुनिएको तर आफूले पैसा उठाउन निर्देशन नदिएको उहाँको भनाई रहेको छ । विद्यार्थीबाट पैसा उठाए वा नउठाएको कुरा सम्बन्धित विद्यालयलाई जानकारी हुने उहाँको भनाई रहेको छ ।

तत्काल कारबाहि हुन्छ

यस विषयमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले अवैध पैसा उठाईएको पाईएमा तत्काल कारबाहि हुने बताउनुभयो । उहाँले अनुगमन समितिको नाममा एक पैसा उठाईएको पाईएमा सह्य नहुने समेत बताउनुभयो । प्रजिअ पन्तले राष्ट्रिय परीक्षा बोर्डले निश्चित मापदण्ड तोकेर खर्च समेतको व्यवस्थापन सोहि अनुसार गरेकोले परीक्षार्थीबाट पैसा उठाउन नपाईने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०९:०४
प्रतिक्रिया दिनुहोस्