Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा कृषि अनुदान, उत्पादन र बिक्रिको आधारमा प्रदान

२०७९ चैत २७
tribeni2

रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा कृषकलाई उत्पादनको आधारमा अनुदान प्रदान गरिएको छ ।

कृषकले उत्पादन गरेर बिक्री गरेको परिमाणका आधारमा सानीभेरी गाउँपालिकाका वडा नं ७ र ९ का ८८ जना कृषकलाई अनुदान हस्तान्तरण गरिएको हो ।

सानीभेरी गाउँपालिका अन्तर्गतको कृषि विकास शाखाद्वारा १३ जना तरकारी उत्पादन गर्ने कृषकलाई र पशु शाखाद्वारा ७५ जना भैसी र खसीबोका पालन गर्ने कृषकलाई अनुदान दिइएको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो ।

वडा नं ७ को वडा कार्यालयको प्राङ्गणमा भएको पशु शाखा अन्तर्गतको अनुदान हस्तान्तरण कार्यक्रममा ६१ वटा सुत्केरी भैंसी पाल्ने कृषक र १४ जना खसी बोका उत्पादन गरेका कृषकलाई अनुदान प्रदान गरिएको हो । पशुपालन तर्फका कृषक वडा नम्बर ७ कि हिमा बुढाले सबैभन्दा बढी अनुदान प्राप्त गर्नुभएको छ । उहाँले ६ वटा खसी बोका २४५ किलो बिक्री गर्नुभएको थियो । प्रति किलो रु ५० का दरले जम्मा रु १२ हजार २ सय ५० अनुदान प्राप्त गरेको पशु शाखा प्रमुख भूपेन्द्र पुनले जानकारी दिनुभयो ।

त्यस्तै कृषि विकास शाखा अन्तर्गत ९ नम्वर वडाका १३ जना तरकारी उत्पादन गर्ने कृषकहरुलाई सानीभेरी गाउँपालिकाको कार्यालयमा अनुदान रकम हस्तातरण गरिएको छ । तरकारी उत्पादन गरेर सबै भन्दा बढी अनुदान प्राप्त गर्ने कृषक सानीभेरी ९ का टंक प्रकाश खड्का पर्नुभएको छ । उहाँले जम्मा रु १६ हजार ४ सय अनुदान प्राप्त गर्नुभएको छ । उहाँले १ हजार ६४० किलो टमाटर उत्पादन गर्नुभएको थियो । उहाँलाई प्रति किलो १० रुपैया अनुदान दिइएको छ ।

अनुदान हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले नयाँ जनप्रतिनिधिको भिजन अनुसार मापदण्ड पुगेका वास्तविक कृषकलाई प्रोत्साहन कार्यक्रम ल्याइएको र यस्ता कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

'उत्पादन बढी गर्नुस्, अनुदान पनि त्यतिनै दिन्छौ' उहाँले भन्नुभयो, 'आगामी दिनहरुमा यस्तो कार्यलाई अझै प्रभावकारी बनाएर लैजाने छौ ।' अध्यक्ष विष्टले बार्षिक १ हजार लिटर दूध उत्पादन गरेका कृषकलाई प्रती लिटर ५ रुपैया प्रदान गरिने व्यवस्था पनि पालिकाले गरेको जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले कृषकलाई अनुदान लागतका आधारमा दिँदा नक्कली कृषकले बढी लाभ लिने भएकाले उत्पादनको आधारमा अनुदान दिने गाउँपालिकाले निर्णय गरेको बताउनुभएको छ । दिगो पेशा भनेको कृषि भएतापनि उत्पादनमा आत्मनिर्भर हुन नसकेकोले कृषकले उत्पादन बढाई आत्म निर्भर हुन प्रोत्साहन स्वरुप यस्तो कार्यक्रम ल्याइएको अधिकृत बुढाथोकीले बताउनुभयो ।

वडा नम्बर ९ मा झन्डै ८७ हजार अनुदान हस्तान्तरण गरिएको छ भने वडा नम्बर ७ मा जम्मा रु २ लाख ८७ हजार १ सय रुपैया अनुदान प्रदान गरिएको छ ।

उत्पादनको आधारमा अनुदान कार्यक्रम गाउँपालिका भित्रका सबै वडामा लागु भएको छ । अन्य वडामा पनि छिट्टै अनुदान प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्