Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

किताब नदेखेरै एसइई, एक पाठ नपढी बार्षिक परीक्षा !

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा कक्षा दशका विद्यार्थीहरुले शैक्षिकसत्रभर कुनै बिषयको पुस्तक नै नदेखेर एसइई दिएका छन् भने अन्य कक्षामा पुस्तक भएपनि पढाई नै नभएर बार्षिक परीक्षा दिएका छन् ।

जिल्लाको सानीभेरी गाउँपालिका – ११ मा रहेको शिव माध्यमिक विद्यालय काफलबोटका विद्यार्थीहरुले ऐच्छिक भूगोल विषयको पुस्तक नै नपाएर परीक्षा दिन बाध्य भएका हुन् । त्यसैगरी सोहि बिद्यालयको कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरुले कक्षामा पढाई नै नभएर बार्षिक परीक्षा दिनुपरेको जनाएका छन् ।

उक्त विद्यालयमा अध्ययन गरेर एसइई दिएका छात्र श्याम ओली (नाम परिवर्तन) ले भूगोल बिषयको पुस्तक कस्तो हुन्छ भन्नेसम्म थाहै नपाई परीक्षा दिनुपरेको बताउनुभयो । “मसँगैका ३८ जना विद्यार्थीले वर्षभरिमा एउटा किताब पाएनौ,” ओलीले भन्नुभयो, “पुरानो गेसपेपरका भरमा परीक्षा दिएको छु ।” उहाँले केहि उत्तर जानेको जस्तो भएतापनि पुस्तक र पढाईबिनै परीक्षा हलमा बस्दा तीन घण्टा बिताउन मुश्किल भएको बताउनुभयो ।

उक्त विद्यालयबाट भूगोल विषय रोजेर परीक्षा दिएका सबै बिद्यार्थीहरुले किताब नै नदेखेकोले को सरले पढाउनुहुन्छ भन्नेसम्म थाहा नपाएको जनाएका छन् । उनीहरुले अनिवार्य गणित विषयको पढाई पनि राम्रोसँग नहुँदा ट्युशन पढ्न बाध्य भएको बताएका छन् । सरकारले निशुल्क पाठ्यपुस्तकको व्यवस्था गरेतापनि यहाँका बिद्यार्थीहरुले पुस्तक नै नपाएर शैक्षिकसत्र सकिएको छ ।

सोहि विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले पढाई नै नभएर बार्षिक परीक्षा दिन बाध्य भएको जनाएका छन् । भूगोल विषयको पढाई बर्षदिनमा एक पाठ पनि नभएर बार्षिक परीक्षा दिन बाध्य भएको भन्दै विद्यार्थीहरुको भविष्य माथी खेलवाड गरिएको उनीहरुको बुझाई रहेको छ ।

“भूगोल बिषयमा एक पाठ पनि पढाई भएन,” एक छात्रले भन्नुभयो, “अङग्रेजी विषयको पाँच पाठसम्म पढाई भयो, सामाजिक विषयमा आधा कितावसम्म मात्र कक्षामा पढाई भयो ।” ऐच्छिक बिषयको रुपमा रहेको स्वास्थ्य तथा शारिरीक बिषयमा पनि पुरा पढाई नभएको उहाँको भनाई रहेको छ ।

पढाई नहुँदा पनि पुरै कोर्सको प्रश्न सोधिएको अर्का बिद्यार्थीको भनाई रहेको छ । अलिअलि जानेको उत्तरहरु लेखेको तर धेरै प्रश्नहरुको उत्तर नलेखेर उत्तरपुस्तिका बुझाईएको उहाँले उल्लेख गर्नुभयो । उक्त विद्यालयको शिशु कक्षादेखि कक्षा नौ सम्मको बार्षिक परीक्षा चैत १२ गते सम्पन्न भएको थियो ।

पढाई नभएको बिषयमा विद्यार्थीहरुले बारम्बार विद्यालय प्रशासनसँग कुरा गर्दा पनि वेवास्ता गरिएको उनीहरुको भनाई रहेको छ । कहिले कुनै शिक्षकले पढाउनु हुन्छ, कहिले कुनै शिक्षकले पढाउनुहुन्छ भन्दाभन्दै शैक्षिकसत्र नै सकिएको विद्यार्थीहरुले जनाएका छन् ।

यस बिषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर खड्काले भूगोल बिषयको किताब बिद्यार्थीहरुले नपाएको स्विकार गर्नुभयो । दुईचार जनालाई मात्र पुस्तक पाईएको आफूले सुनेको खड्काको भनाई छ । आफू फागुन महिनामा मात्र अध्यक्षमा चयन भएकोले किताब खरिदको बेलाको कुरा प्रष्ट थाह नभएको अध्यक्ष खड्काले बताउनुभयो ।

सानीभेरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल सिं विष्टले उक्त विद्यालयमा ऐच्छिक भूगोल विषयको पुस्तक नपुगेर परीक्षा भैसकेको बताउनुभयो । उहाँले समयमै पाठ्यपुस्तक उपलब्ध नहुँदा यो समस्या आएको जनाउनुभयो ।

सुरुमा प्राविधिक कारणले देशभर पुस्तक पुग्न नसकेको र पछि पुस्तक विक्रेताले वास्ता नगरेकोले विद्यार्थीेले पुस्तक पाउन नसकेका हुन् । शाखा प्रमुख विष्टले अनिवार्य विषयको पुस्तक खरिदको पैसा गाउँपालिकाबाट भुक्तानी भएको तर ऐच्छिक बिषयको पुस्तक खरिद नभएकोले विद्यालयले भुक्तानी नपाएको समेत जानकारी दिनुभयो ।

अन्य कक्षाको अधुरो पढाईको विषयमा विष्टले नयाँ अनुमति प्राप्त विद्यालय भएकोले विषयगत शिक्षकको उपलब्धता नहुँदा सुरुमा केहि समस्या आएतापनि पछि शिक्षक व्यवस्थापन गरिएको बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्