Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमका किसानलाई गहुँ काट्ने चटारो

यस वर्ष गहुँ उत्पादन १५ प्रतिशतले घट्ने अनुमान
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका किसानहरु यतिबेला गहुँ काट्ने काममा व्यस्त रहेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा लगाईएको गहुँ बाली पाकेसँगै किसानहरु गहुँ काट्ने चटारोमा रहेका छन् ।

जिल्लाको मुसीकोट नगरपालिकामा रहेका माछिमी, साधनचौर, दोपाई, सोलाबाङ लगायतका क्षेत्रमा यतिबेला किसानहरु गहुँ काट्ने काममा व्यस्त रहेका छन् । चौरजहारी नगरपालिकाको खोलागाउँ, नार्जी, खहरे, जिउँला, लामिछानेगाउँ, घारीगाउँ, टाटा लगायतका क्षेत्रमा पनि किसानहरु गहुँ खेती भित्र्याउने काममै रहेका छन् ।

चौरजहारी नगरपालिका –१ का किसान गोमा लामिछानेले गहुँ पाकिसकेकोले ढल्याउन भ्याईनभ्याई रहेको बताउनुभयो । काट्ने, दाँइ हाल्ने र घरमा भित्र्याउने कामले अरु कामबारे सोच्न नसकिने उहाँको भनाई रहेको छ । कतिपय किसानहरु खेतमा काटेको गहुँखेती मेशिनको प्रयोग मार्फत ढल्याउने गरेका छन् ।

मुसीकोट नगरपालिका –१३ का किसान ज्ञानबहादुर ओलीले गाउँमा गहुँ काट्न किसानहरु कस्सिएको बताउनुभयो । समयमै पानी नपर्दा गहुँ खेती भनेजस्तो नफस्टाएतापनि सिचाँई पुगेको क्षेत्रमा राम्रो गहुँ फलेको उहाँको भनाई रहेको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानहरुमा अहिले गहुँ काट्ने काम भैरहेको छ । किसानहरु अरु काम छोडेर पनि गहुँ खेती भित्र्याउने काममा व्यस्त रहेका छन् ।

गहुँ उत्पादन घट्ने अनुमान

गहुँ पाकिसकेकोले भित्र्याउने सिजन चलिरहेको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा नौ हजार ६९० हेक्टर जग्गामा गहुँ खेती गरिदै आएको छ । निमित्त प्रमुख केसीले गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा १५ प्रतिशत कमी आउने अनुमान गरिएको बताउनुभयो । खडेरीको कारण उत्पादन घट्ने अनुमान रहेको छ ।

गत वर्ष जिल्लामा ११ हजार २४१ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याङमा रहेको छ । कार्यालयका अनुसार गहुँको खेती गरिएको जग्गा मध्य ३२ प्रतिशत भूभाग मात्र सिँचाई क्षेत्र हो । जिल्लाको कुल एक लाख ४३ हजार १४४ हेक्टर क्षेत्रफल मध्य २३ हजार १७२ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य रहेको छ । जसमध्य १६ हजार ८४१ हेक्टर जमिनमा खेती हुने गरेको छ भने पाँच हजार ४०२ हेक्टर जमिनमा मात्र सिँचाई सुविधा पुगेको छ ।

जिल्लामा क्षेत्रफलको आधारमा सबैभन्दा बढी खेती गरिने बाली गहुँ नै हो । त्यसपछि मकै र धानको खेती हुने गरेको छ । गहुँ खेती जिल्लामा खाद्यन्नको रुपमा नै बढी मात्रामा उत्पादन हुने गरेको छ । कतिपय स्थानहरुमा उन्नत बीउको रुपमा समेत उत्पादन हुने गर्दछ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्