सोसल मिडिया
मनको पाखाभरी देश फुल्थ्यो । खोइ कसले रोपिदिएको हो ? मनमा उम्रिएको देशभक्तिको सपनाको फूल हरियो र वास्नादार थियो । सोही स्वप्नाको सुगन्धित उर्जाले जीवन दौडाएको थिएँ । हजारौं म जस्तैलाई मेरो सपना भित्र फुलाउने मेरो अर्को सपना थियो ।
चेतनामा सदा देश बोकेर दौडिने म आज परदेश पुगेको छु । खाडिको तातो घामले देशभक्ती सपना मुर्झाएको छ । हुन त रेमिटलाई माध्यम बनाएर पनि मैले मेरो देशभक्ती जीवितै राखेको छु क्यारे । तर मेरो सपनाको देशभक्ति कन्दरामा जीवनको फुल फुलाउने आदर्शको थियो ।
बल्न लागेको दियो राजनीतिक हुण्डरिले निभाइछोड्ने हाम्रो देशको बिडम्बना रहेछ । श्वास फेर्न पनि पार्टिहरुबाट हावा पैचो माग्नुपर्ने परिस्थितीमा पार्टिवाला झोला कन्टेनरमा फ्याँकिदिएको मलाई परदेश नहिडी सुखै भएन ।
सामान्य आर्थिक हैसियत भएको परिवार छ, हाम्रो । मेरो पढाइ अलपत्र परिसकेको थियो । पढाइ नभएका हामीले के काम पाउनु देशमा । काम गर्ने चेष्टा नभएको पनि होइन । धेरै ठेकेदारसँग लेबर गरेको छु । नाली खनेको छु । ढुङ्गा फोडेको छु । सिमेन्ट,गिट्टी र बालुवा सबैसँग खेलेको छु ।
देशमा काम गर्नुको दुइटा समस्या छ । पहिलो ज्याला कम छ र दोस्रो समयमा ज्याला पाइदैन । कमाएको ३० हजार पाउँन ६० दिन संघर्ष गरेको भोगाइ छ मेरो । यहि भोगाइ ले त परदेशीन प्रेरणा दियो ।
उमेर बढेपछि भबिष्यको चिन्ता पनि बढ्दो रहेछ । भबिष्य बनाउने नेपाली सुत्र त त्यही हो पासपोर्ट। पासपोर्ट नबनाई भबिष्य कुन नेपालीको बन्छ र ?
बन्छ होला, नेतासँग फोटो खिच्नेहरुको । नेता जिको दैलोमा चाकडी टक्र्याउनेको । उहाँको आदेशमा 'गु' लाई सुन भन्नेको । अनि सामुहिकताको नारा दिएर धनको कुम्लो एक्लै उठाउनेको ।
दुनियाँको दौडले मेरो मगजको ढोका उघारिदियो । ढोका भित्र ठूलो अक्षरमा लेखेको थियो 'जीवन आदर्शले चल्दैन, पैसाले चल्छ ।' पैसा कमाउने साधन बिदेश भन्दा अर्को भेटिएन । तब त काठमाडौ हानिय भिजा लगाउन। खाडिको भिजा लगाउन पनि दिशा निस्किने रहेछ । पूरा दुई महिना लाग्यो ।
भिजा लाग्दा मन दोधार भयो । खुशी हुनु कि दुखी ? एकातिर देश छाड्न पटक्कै मन नभएको, अर्कोतिर ट्राइ गरेको भिजा सफल भएको । बिदेश के म मात्रै जाँदै छु र ?
बग्ने सबै खोलाहरु नदिसम्म पुगे जस्तै त हो, नेपालीका लागि परदेश । खोला र नेपाली जवानहरुमा एउटै फरक त छ । खोलाहरु फर्किएर मुहानसम्म आउने चाहना गर्दैनन्, जवानहरु फर्केर घर आउने सपना देख्छ्न ।
भिजा झरे पछि एजेण्टले काठमाडौं बोलाए । प्लेन कहिल्यै नचढेको म, जेट विमान चढ्ने कल्पनामा मुग्ध हुदै काठमाडौको गाडी चढेँ । काठमाडौँ पुगेपछि थाहा भयो प्लेन चढ्ने धेरै दिन बाँकी रहेछन् । टिकट नै लिइएको रहेनछ । अब टिकटको पर्खाइमा बस्नुपर्ने भो । हिजो भिजाको पर्खाइ आज टिकटको पर्खाइ भोलि प्लेनको पर्खाइ । यो जिन्दगिमा, कतिवटा पर्खाइ परेका होलान मेरो भागमा ?
म काठमाडौँमै थिएँ । टिकट फिक्स भएको खबर पाएँ । त्यही दिन आमालाई बिरामले च्यापेको पनि सुनेँ । खुशी र दुखसँगै घोलिएर किन आएको होला ? आमालाई काठमाडौमै ल्याएर उपचार गर्नुपर्ने भयो ।
पर्सि टिकट छ, आमा अस्पतालको बेडमा हुनुहुन्छ । देश छाड्दा त्यसै त मन कमजोर हुन्छ । झन कमजोर परिस्थिती किन बनाएको होला दैवले ? हुन त मेरो हिम्मतको परीक्षा होला यो ।
उड्ने दिन आयो । ९ः३० बजेको प्लेन टिकट थियो । सबै तयारी हिजै सकेको थिएँ । आजको काम आमासँग बिदा माग्नु र प्लेन चढ्नु थियो । श्री बिरेन्द्र अस्पताल छाउनीको बेड नं २६६ मा आमा पल्टिनु भएको थियो । कुरुवा दिदी हुनुहुन्थ्यो ।
अब म हिंड्नुपर्छ, म जान्छु भन्नै आँटेको थिएँ । ओठहरु कापेँ, आँखा नियन्त्रण बाहिर गए । आँखाको साउने मुल फुट्यो । छुट्न खोजेको डाँको रोक्दै हत्तपत्त बाहिर निस्किएँ । अस्पतालको गेटमा आएर आँसु पुछेँ ।
ल राम्ररी गएस है भन्न खोजेकी आमाको गला अबरुद्ध थियो । आमाले म तिर हेर्न सक्नुभएन । जमिनमा आँखा जोतेर जा रामरी जा भन्नुभयो । तब त मेरो पनि मुटु फुट्ला जस्तो भएको हो । आमासंग बिदा मागेर त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल तिर सोझिए । खिन्न मनले आफ्नै शरीर गह्रुङ्गो लागेको थियो आफैलाई ।
आमालाई अस्पतालको बेडमा सुताएर हजार डाँडा र सातौँ समुन्द्रको आकाश छेड्नुपर्ने कस्तो मेरो देश ? कस्तो हाम्रो बाध्यता ? थुक्न मन लाग्यो । देशलाई थुक्न भएन । नेतालाई थुकेँ, प्रशासनलाई थुकेँ । यो देशको सत्ता शक्ती र समग्र सिस्टमलाई थुकेँ । थुकेर पो के हुन्छ र है ?
हस्पिटलबाट बिमानस्थल हिड्दा ७ बजिसकेको थियो । बाटोमा जाम रहेछ। हाय रे काठमाडौँ । मान्छेको यात्रा एक आधा घण्टा नरोके त के काठमाडौँ ? सब चिज भुल्न मिल्छ तर आफ्नो पहिचान त भुल्नै भएन नि होइन र ? जाम छिचोल्दै बिमानस्थल पुग्यौँ । मलेशियासम्म संगी नपाए पनि एअरपोर्ट सम्म म एक्लो भैन । मलाई गाउँका दाइलेहरु पुर्याउन आउनुभएको थियो ।
बिचरा ती दाइहरु । अस्ति भर्खर घर फर्किए । मलेशिया गएको तीन महिमामै घर फर्किनुपर्यो । फर्किन के सजिलै पाएर ? फर्किनकै लागि कति आँसु बगाए । कति रात अनिदो बसे । कति जना सामु गुहार गरे । कतिपटक आफ्नै दाँत किटे । उहाँहरुलाई देश झिकाउन मैले पनि मेहनत गरेको थिएँ ।
बिदाइका लागि उहाँहरुले खादा लगाईदिनुभयो । हाम्रो जस्तै उद्दार नपरोस, राम्रोसँग गएस, राम्ररी बसेस् भन्दै एकदुइटा तस्बिर खिचेर उहाँहरु फर्किनुभयो । अब म एक्लो भएँ । फेरि मन बुझाएँ । सयौं जना अटाउने यत्रो प्लेनमा म एक्लो कसरि हुन सक्छु ? सबै नेपाली त हाम्रा दाजुभाइ हुन ।
बिमानस्थल कहिले गएको थिएन । प्रकृया पार गर्न गाह्रो हुने । सबै सोधेरै गरेँ। वैटिङ रुममा बसेर फेसबूक खोलेँ । फेसबूकमा फेरो त्यही अघि खिचिएको फोटो देखेँ। क्याप्शन शुभयात्रा भान्जा लेखेको थियो । मैले पनि त्यही फोटो तानेँ। "सत्य पैशा, बाकी सबै भ्रम, लागियो परदेश", क्याप्सन लेखेर पोस्ट गरेँ ।
मेरो पोस्ट देखेर होला तारन्तार फोन आउन थाले । मैले जाँदै छु भनेर धेरैलाई जानकारी गरेको थिइन । कसैको कल उठाइन । फेसबूक कमेन्ट पनि हेर्न सक्ने अबस्थामा पनि थिएन । सबै शुभचिन्तकलाई पुगेर फोन र रिप्लाइ गर्ने मनस्थिती बनाएँ ।
हिड्न लागेको कुरा भन्नुपर्ने जतिलाई भनेको छु जस्तो लागेको थियो । तर बा छुट्नुभएछ । अरु एक दुई जना पनि छुटेछन । साथी दिपेन्द्र र प्रेमिकासंग झगडा परेको थियो । उनिहरु पनि छुटेछन् । प्लेन चढ्नु अघि अर्को फोटो पोस्ट गरेँ ।
यो पोस्ट प्रेमिकालाई समर्पित गरेको थिएँ । पोस्टको क्याप्सन थियो, "जीन्दगीमा धेरै साथ र सहयोग गर्दा पनि जीवनभर नभुल्ने पीडा दिएर जाने मेरो प्यारो मान्छेलाइ फोन गर्न नपाए पनि सम्झेको छु।"
प्रेममा अबरोध आएको थियो । मानौँ एउटै रबर चुडिएर दुइटा भएका छन् जस्तो । उ फरक व्यवहार देखाउन थालेकी थिइ । मनै दुख्ने शब्द बोलेकी थिइ । मैले उसलाई जीन्दगिको भिटामिन ठानेँको थिएँ । उ त क्यान्सर रहिछे । कहिल्यै निको नहुने गरि मनको रोग लगाई ।
प्लेन चढियो अब त फोन अफ । मलेशियाको बिमानस्थल पुगेर फोन खोलेँ । मसँग मलेसियाको सिम पहिल्यै थियो । सिम हालेर फोन अन गरेँ । फेसबूकमा छिरेँ । धेरै शुभचिन्तकका कमेन्ट र पोस्टहरुमा शुभयात्रा लेखेका सन्देशहरु रहेछन् । सबैलाई कमेन्ट रिप्लाई गरेँ।
'बा' संग अझै कन्ट्याक्ट् हुन सकेन । कसरी गरौँ ? बा'ले फेसबूक नचलाउने । बा'को माया हुरक्कै लागेर आयो । टाढा हुँदा परिवारको याद झन गहिरो हुँदो रहेछ । परिवार, साथिभाइ, मेरो जन्मभुमि र मेरा सपनाहरु सम्झिदै रिसिभर पर्खेर बसेँ ।
यहाँको ५ बजे पुगेको मैले ११ बजे सम्म रिसिभरलाई कुर्नुपर्यो । ११ बजे उ आयो । बिमानस्थल बाहिर ल्याएर उसले ट्याक्सी चढायो । चिल्लो सडकमा ट्याक्सी चिप्लिन थाल्यो । बाटोको एउटा होटलमा खाना खाइयो । मलेसियाको पहिलो गाँस गजब लाग्यो । कम्पनी पुग्न ६ घण्टा लाग्दो रहेछ । यात्राभर उस्तो रमाइलो नभए पनि त्यति मजा पनि लागेन । छेउमा भाषा मिल्ने मान्छे भए पो मजा आओस् ।
कम्पनीमा पुगेपछि एकजना नेपाली आए । उनले अरु नेपाली भएको रुममा छोडिदिए । बल्ल म खुशी भएँ । परदेशमा नेपाली देख्दा आफ्नै दाजुभाइ जस्तो लाग्ने । सबैसँग घुलमिल भएँ ।
अनि गफ सुरु भो । घुममिल भनेकै एकले अर्कोलाई बुझ्नु त हो । एउटा दाइले कति तिरेर आयौ ? भन्नुभयो । २ लाख ८० हजार नगद खन्खन्ती बुझाएको थिएँ । त्यही भनेँ । क्रमशः कति पढेको छौ ? उमेर कति भयो ? भनेर सोध्नुभयो । मैले २० बर्ष भएको र १० कक्षा पढेको बताएँ ।
दाइले मेरो अनुहार हेर्दै बिष्मयको भाव प्रकट गर्नुभयो । अलि हैरानिको स्वरमा भन्नुभयो, यति सानो उमेरमा ,थोरैभए पनि पढेको मान्छे किन आको होला ? हामी त भाग्ने तयारीमा छौँ ।
म झसङ्ग भएँ । ला फसियो भन्ने लाग्यो । त्यत्रो पैसा ऋण काढेर, आमालाई अस्पतालमा छोडेर आइया छ । अरु परदेशमा अलपत्र पर्दा उद्दारको कोसिस गर्थेँ । अब आफ्ना लागि कसलाई भनुँ ? दिमागमा चक्कर लाग्यो । पृथ्बी नाँच्न लाग्यो । हातगोडा लुथ्रुक्क भए । सम्हालिनु त थियो नै, नेपालमा मेरो टिम छदै छ, केही गरि अलपत्र परेँ भने जसरी नि असुल गर्न सकिन्छ भन्ने आत्माविश्वास जाग्यो ।
मैले दाइलाई सोधे किन भाग्ने र दाइ ? के छ र यहाँ ?
"यहाँ कामको कुनै फिक्स छैन । पठाउदा नेपालको सदिक्षा मेनपावर कम्पनिले माछा प्याकिङ भनेर पठाको हो । यहाँ त जे पनि गर्नुपर्छ । कहिले जंगल फडानी गर्न वन कुद्नुपर्छ । कहिले जहाज रंगाउन शिपमा झुन्डिनुपर्छ । कहिले ६०/७० किलोको माछा उठाउनुपर्छ ।" -दाइको यति बृत्तान्तले झन हैरान भएँ ।
गफका कुरा थिए ति। अब कम्पनी भोग्न सुरु भयो । काम गर्न निस्कियौँ । म पनि सि फुड माछा प्याकिङ भनेरै आएको हो । पहिलो दिन जंगल फाड्ने हतियार भिराएर जंगल पठाइदियो ।
जंगल फडानी त नाम मात्रै रहेछ । त्यहाँ त जुकाको आहारा हुन गएका रहेछौँ हामी । कहाँ कहाँ पसेन जुका ? कति रगत चुस्यो चुस्यो ? बिष लाग्थ्यो भने २० चोटि मरिन्थ्यो होला त्यो टोकाइबाट । अझ सर्पको डर हुन्छ भन्थे साथिहरु ।
कुनै सर्प आएर शिरमा टोकेको भए के हुँदो हो ? मृत्यु घेरामा जीवन कैद भएको थियो । दिउँसो १२ बजे कामबाट फर्किएर अर्को काम जानुपर्ने भयो । काम थियो जालसँग समुन्द्रमा फाल्ने बलक बनाउनुपर्यो । लागियो सिमेन्ट र बालुवा संग धमाधम ।
आजभोली काम डुंगाबाट माछा उठाउने । तौलिने र त्यसलाई ट्वाङमा हाल्ने, प्याक गर्ने काम गर्नुपर्छ । कामको कठोरता भनिसाध्य छैन । बिहान ७ः३० देखि बेलुका ४ः३० सम्म एकछिन रोकिन मिल्दैन । मेसिन बरु बिग्रेरै सहि, रेस्ट पाउँछ होला । तर परदेशमा मुनुष्यले पाइदैन । नेपाली त झन हेलाँका मुनुष्य । न सम्मान छ, न सजिलो काम छ ।
माछा उठाउँदा उठाउँदा हात फत्रक्क गल्छन् । गह्रौँ भएर पिरो पीडाले तुरुक्क आँसु चुहिन्छ । माछा राखिने पानीमा साएद एसिड हुदो हो । हातका औलाहरु मा हरेक दिन घाउ लाग्छ । औला यसरी नकाम हुन्छन, मोबाइलको स्क्रीन टच पनि हुदैन । हात टाउको कतै पनि कुनै सेफ्टी छैन ।
मेसिनले बखतमा आइलिङ पाउछ । जति सम्भार र स्याहार मेसिनले पाउँछ, त्यति हामी कामदारले नपाउनु कस्तो अचम्म । परदेश चट्टान भन्दा कठोर हुदो रहेछ। मृत्यु भन्दा पराइ हुदो रहेछ । फोहोर भन्दा घिनलाग्दो हुदो रहेछ, र राक्षस भन्दा नरभक्षी हुदो रहेछ ।
आँउदा आइहालियो । ऋण छ,अब जसोतसो दुई बर्ष कटाएर फर्किनुपर्ला । अनि आफ्नै जन्मभुमिको माटोमा पसिना रोपेर सन्तुष्टि फलाउनुपर्ला भन्ने सोच गरेको छु ।
- (रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ निवासी रोकाय हाल मलेसिया पहाङमा हुनुहुन्छ । )