Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेको 'मान्द्रे भिर'मा पुल निर्माण, सर्वसाधारण खुसी

२०८० वैशाख ४
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ को मान्द्रे भिरमा पक्कि पुल निर्माण गरिएको छ ।

वडा नम्वर २ को छिपखोला नायगाढ हुँदै वडा कार्यालय जोड्ने पैदल मार्ग भासिएर जोखिमपूर्ण बनेपछि सिस्ने गाउँपालिकाले पुल निर्माण गरेको हो ।

डरलाग्दो भिरमा रहेको साघुँरो बाटोमा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयहरु पुल निर्माणपछि खुशि भएका छन् । भिरमा पक्कि पुल बनेपछि गाउँपालिकाको केन्द्र रुकुमकोटबाट छिपखोलाबाट हुँदै २ नम्वर वडा कार्यालय र नायगाड गाउँ जान सहज भएको वडा अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो ।

अग्लो भिरबाट तलतिर हेर्दा नै चक्कर लाग्ने खालको बाटो भएकोले ज्यान नै जोखिममा हालेर सर्वसाधारणहरु ओहोरदोहोर गर्न बाध्य भएका थिए । अनकन्टार भिरमा स्थानीय सरकारले पक्कि पुल सहितको बाटो बनाएपछि सहज भएको वडाअध्यक्ष खड्काको भनाई रहेको छ ।

गत वर्षको वर्षायाममा उक्त बाटो भासिएको थियो । भिरमा रहेको उक्त पैदल बाटो भासिएपछि सर्वसाधारणहरु डोरीको सहायतामा झुन्ड्याईका काठमा हिड्न बाध्य थिए । सर्वसाधारणहरु आफैले डोरी र काठ बाँधेर बनाएको बाटो थप जिर्ण बनेको थियो ।

सिस्ने गाउँपालिकाका ईन्जिनियर कर्ण केसीका अनुसार उक्त भिरमा ६ मिटर लम्बाई र १.५ मिटर चौडाई भएको पुल निर्माण सम्पन्न गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र जनश्रमदान सहित जम्मा तीन लाख ३० हजारको लागतमा पुल निर्माण गरिएको हो ।

यसका साथै उक्त सडकखण्डका अन्य स्थानहरुमा पनि बाटो मर्मत र सुख्खा पर्खाल लगाउने काम सम्पन्न भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्