Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिम : जेष्ठ नागरिकको १५ महिनाको भत्ता वडाअध्यक्षको गोजीमा !

दोहोरो नाम परेकोले भत्ता दिन ढिलाई भएको हो : वडाध्यक्ष
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमका एक जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता हिनामिना भएको बताईएको छ । आठबिसकोट नगरपालिका –१ राँगिला गाउँका ७५ वर्षिय जेष्ठ नागरिक नर्बिरे बुढाको १५ महिनाको भत्ता हिनामिना भएको परिवारका सदस्यले बताएका छन् ।

नर्बिरेका नाती मिलनले हजुरबुवाको १५ महिनाको भत्ता वडा कार्यालयबाटै हिनामिना भएको पाईएको बताउनुभयो । उहाँले वडा सचिव र वडाअध्यक्षले बैंकबाट निकालेर उक्त भत्ता चलाएको आरोप लगाउनुभयो ।

“एक वर्ष भन्दा बढी समयसम्म भत्ता नआएपछि वडामै गएर बुझ्दा नाममा विवाद भएर नआएको जवाफ पाईयो,” मिलनले भन्नुभयो, “बैंकमा गएर बुझ्दा त बाजेको नाममा जम्मा भएको ६१ हजार रुपियाँ निकालिएको रैछ ।” उहाँले गत पुससम्म जम्मा भएको १५ महिनाको ६० हजार र ब्याज एक हजार गरेर जम्मा ६१ हजार रुपियाँ वडाअध्यक्षले चलाएको स्विकार गरेको जानकारी दिनुभयो ।

बाजे बिरामी भएकोले गाउँबाट बोकेर दुईदिनपछि आठबिसकोटको राडि स्थित प्रभु बैंकमा जाँदा पैसा नभएको र ऋण निकालेर नेपालगञ्ज हुँदै काठमाडौसम्म गएको उहाँको भनाई छ । पैसा निकालेको विषयमा वडा अध्यक्षसँग कुरा गर्दा वैशाख २ गते दिन्छु भन्नुभएको तर पैसा नदिएपछि काठमाडौबाट फर्काएर बाजेलाई घरमै ल्याउन बाध्य भएको उहाँले जनाउनुभयो ।

पैसा अभावमा बाजेको गतिलो उपचार गर्न नसकेको समेत मिलनले उल्लेख गर्नुभयो ।

दोहोरो नाम परेकोले भत्ता दिन ढिलाई भएको हो : वडाध्यक्ष

यस बिषयमा वडा अध्यक्ष देव बहादुर घर्तीले जेष्ठ नागरिकको दोहोरो नाम परेकोले विवाद नआओस् भनेर केहि समय भत्ता रोकिएको तर पछि उहाँकै नामको भत्ता भएको स्पष्ट भएको बताउनुभयो । वडा सचिवको रोहवरमा बैंकबाट भत्ता निकालिएको वडाअध्यक्ष घर्तीले स्विकार गर्नुभयो ।

उहाँले वैशाख २ गते उक्त रकम फिर्ता गर्ने भनिएतापनि शनिबार परेको र भोलिपल्छ बैंकमा सिस्टमले काम नगरेकोले निकाल्न नसकिएको उल्लेख गर्नुभयो । सामाजिक सुरक्षा भत्तामा कुनैपनि खराब नियत नभएकोले तर दोहोरा नाम रहेकोले विवाद नहोस् भनेर केहि समय रोकिएको उहाँको भनाई रहेको छ ।

लाभग्राहिहरुसँग आसपी सल्लाहमै भत्ताको बिषयमा सहमति भएको वडाअध्यक्ष घर्तीले जनाउनुभयो ।

जानकारी अनुसार गत पुसमा नर्बिरे बुढाको नाममा जम्मा भएको सामाजिक सुरक्षा भत्ता बैंकबाट निकालिएको थियो । खातावालाको सहमति तथा उपस्थिती बिना जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता निकालेर लामो समयसम्म वडाअध्यक्षले हिनामिना गरेको भन्दै पारिवारका सदस्यले अख्तियारमा उजुरी समेत हालेको बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्