सोसल मिडिया
बायोचार (Biochar) के हो ?
बायोचार एक कोइला जस्तो पदार्थ हो जुन पाइरोलिसिस (pyrolysis) भनिने नियन्त्रित प्रक्रियामा कृषि र वनजन्य फोहोरहरू (जसलाई बायोमास पनि भनिन्छ) बाट जैविक सामग्री जलाएर बनाइन्छ । अक्सिजन–सीमित वातावरणमा बायोमासको थर्मोकेमिकल रूपान्तरणबाट प्राप्त ठोस पदार्थ बायोचार हो ।
मिचाहा झार काटेर निश्चित प्रक्रिया अपनाई अक्सिजनरहित अवस्थामा जलाएर बनाइने अंगार नै बायोचार हो । यसको प्रयोगले माटोको भौतिक, रासायनिक, जैविक र पर्यावरणीय सुधार गरी उत्पादन वृद्धि गर्ने भएकाले स्थानीयलाई आकर्षित गर्न सकिने अनुसन्धानकर्ताको विश्वास छ । बायोचार अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (२००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा जलेर बनेको एक किसिमको अंगार हो ।
जलवायु परिवर्तनले विश्वभर खाद्य सुरक्षालाई खतरामा पारेको छ । कम–अक्सिजन अवस्थाहरूमा बायोमास जलाउँदा बायोचार, कार्बन–सम्पन्न पदार्थ बनाउँछ जसलाई केही विशेषज्ञहरूले माटोको कायाकल्पको कुञ्जीको रूपमा विज्ञापन गर्छन् । तुलनात्मक रूपमा हल्का तौल र छिद्रपूर्ण, बायोचारले स्पन्ज जस्तै काम गर्न सक्छ र माटो र बिरुवाको स्वास्थ्यलाई प्रवर्द्धन गर्न चिनिने धेरै लाभदायक माटो सूक्ष्मजीवहरूको लागि बासस्थानको रूपमा काम गर्न सक्छ ।
बायोचारलाई मलको रूपमा प्रयोग गरिँदैन । यद्यपि, यो प्रयोग गरिएको माटो मलिलो हुन्छ । यसले माटोको गुणस्तर बढाउनुका साथै माटोमा बोटबिरुवालाई आवश्यक खाद्य तत्व सुरक्षित राख्न सघाउँछ । बहुपक्षीय उपयोगिताका कारण यसलाई कृषिको ‘कालो सुन’ भन्न थालिएको छ । बायोचार बन्दा त्यसमा धेरै छिद्र हुन्छन् । त्यसकारण यसमा धेरै पानीको मात्रा धारणा गर्ने क्षमता हुन्छ ।
बायोचार बिधि
जैबिक पदार्थलाई कम अक्सिजनमा तताउदा कार्बनयुक्त अंगार बन्छ । त्यो माटोमा प्रयोग गर्दा उत्पादन बढ्ने हो । यसरी बन्ने अंगार माटोमा प्रयोग गर्ने बिधिलाई बायोचार बिधि भनिन्छ ।
सामुदायिक वनको विकास संगै वायोचार बिधिको प्रयोग शुरु गर्न लागिएको हो । वन ब्यवस्थापनमा निस्कने झाडी, पात पतिङ्गर र काम नलाग्ने छेस्काहरुलाई चिम्नीको सहयोगमा अंगार बनाइ खेतबारीमा प्रयोग गर्दा त्यसले माटो खुकुलो पार्दछ । कोइलाको रुपमा देखिने यस्ता अंगार हातले छुदा प्याट्ट फुट्ने गर्छ ।
खेर जाने पात–पतिंगर, वनमारा, पराल, खोस्टा, सल्लोको पात, सुकाएको केरोको बोट आदिलाई प्रयोग गरेर बायोचार अर्थात् प्रांगारिक मल उत्पादन गरिन्छ । बायोचारले कृषि उत्पादन रासायनिक मलले भन्दा दोब्बर बढाउने नाष्टको अध्ययनले देखाएको छ । १०० किलोग्राम पातपतिंगर पोलेर ३० केजी अंगार बनाउन सकिन्छ । पानी र मल छिर्ने उक्त अंगारमा गाईको मूत्र (गोमूत्र) हाल्यो भने रासायनिक मलले भन्दा राम्रो काम गर्छ ।
बायोचार प्रविधिमा विभिन्न झारहरु एउटा खाडलमा राखेर डढाइन्छ । तर, पूरै खरानी हुनेगरी भने डढाइँदैन । डढाएर तयार पारेको अंगारको डल्लोमा गोमूत्र मिसाइन्छ । त्यसपछि बन्छ बायोचार । वनमारालाई जीवनस्तरसँग जोड्न यो प्रविधिको विकास गरिएको हो । कर्णाली प्रदेश सरकारले अग्र्यानिक प्रदेश’ बनाउने घोषणा गरेपछि बायोचार मलको प्रयोग कर्णालीमा बढाउन नाष्टले जोड दिएको छ । बायोचार बिधि वातावरण मैत्री रहेको छ ।
उत्पादन बढाउन बायोचार
झारलाई अंगारमा परिवर्तन गरी बनाइएको बायोचारलाई खेतीपातीमा प्रयोग गर्न सकिन्छ । बायोचारलाई बाली लगाउनुअघि खेतबारीमा हालिन्छ । प्रतिहेक्टर १० टन बायोचार हाल्दा उब्जनी ६ गुणा बढ्छ । बायोचार प्रयोगले माटोको उर्वराशक्ति कायम रहन्छ ।
यस्तै, वातावरण संरक्षण हुनुका साथै कृषि उब्जनी बढ्छ । बायोचारको प्रयोगले माटोको कृषियोग्य क्षमता कम्तीमा हजार वर्ष सुरक्षित हुने विज्ञहरुको भनाई छ ।
बायोचारको बहुउपयोगिता
बायोचार एक बहुउपयोगी पदार्थ हो । यसलाई धमिलो वा दूषित पानी प्रशोधन गर्न, कृषि भूमि उर्वर बनाउन, गाईवस्तु तथा कुखुरा बस्ने ठाउँ चिस्यानबाट बचाउन, दानाको रूपमा प्रयोग गर्न, नाला वा अन्यत्रको दुर्गन्ध हटाउन, कार्बन स्थिरीकरण गर्न जस्ता धेरै कार्यमा उपयोग गर्न सकिन्छ । माटोमा पीएच धेरै अम्लीय भएमा यसलाई पीएच बढाउन प्रयोग गरिन्छ ।
माटोमा बायोचार राख्नुपर्ने आवश्यकता
बायोचार माटोमा गलेर वा सडेर जाँदैन । एकैपटक वा अलिअलि गरेर मात्रा पुग्नेगरी हालेपछि त्यसले माटोलाई खुकुलो, ओसिलो र क्षारीय बनाइराख्न सघाउँछ । माटोको अम्लीयपन हटाउन यो विशेष बायोचारसँगै यसको कच्चापदार्थमा रहेका पोषक तत्व र सूक्ष्म तत्व पनि माटोमा जान्छ । त्यसैले प्रयोगपछि लगत्तै लगाइने बाली उत्पादनमा पनि यसको राम्रो प्रभाव पर्छ ।
जब किसानहरूले बायोचारलाई माटोमा प्रयोग गर्छन्, उनीहरूले निम्नलिखित फाइदा प्राप्त गर्छन् । - धेरै उब्जनी - स्वस्थ माटो - कम अम्लता - राम्रो पानी अवधारण- बलियो बिरुवा - समृद्ध माटो जीवन - कम प्रदूषण - उच्च उर्वरता- बीउ अंकुरणलाई बढावा दिन्छ, आदि ।
- (त्रिभुवन जनता उच्च मावि खलंगा रुकुम पश्चिममा कार्यरत लेखक केसी, सिभिल ईन्जिनियर हुनुहुन्छ ।)