Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डाँडागाउँमा ३८ वर्षमा बन्यो साढे सात किलोमिटर नहर

२०८० वैशाख १०
tribeni2

रुकुम पश्चिममा ३८ वर्ष पहिला निर्माण सुरु गरिएको एक सिँचाई नहर हालै सम्पन्न भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका –११ मा ७.५ किलोमिटर लम्बाई रहेको गिजागार–डाडाँगाउँ सिँचाई आयोजना ३८ वर्षपछि निर्माण सम्पन्न भएको छ ।

२०४२ सालमा निर्माण सुरु भएको नहर निर्माणपछि पानी आउँदा स्थानीयवासी खुसी भएका छन् । आठबीसकोट नगरपालिका –११ का ७६ वर्षिय लोकबहादुर खत्रीले पञ्चायतकालमा सुरु भएको कुलो निर्माणको काम गणतन्त्रको बेलामा मात्र पुरा भएको उल्लेख गर्नुभयो ।

बर्षौसम्म अधुरो रहेको कुलो निर्माण सम्पन्न भएर पानी आउँदा गाउँवासीमा खुशियाली छाएको खत्रीले बताउनुभयो । घर अगाडि बनेको कुलोमा पहिलो पटक पानी आएको र गहुँ खेतीमा सिँचाई गर्न पाएको उहाँले जनाउनुभयो । उक्त क्षेत्रमा रहेका चौर, गत्तासैना, तुसारे, सिमपाखा लगायतका टोलका खेतीयोग्य जमिन अब बाँझै नरहेको उहाँको विश्वास रहेको छ ।

सोहि गाउँका ६२ वर्षिय शिव बहादुर ओलीले लामो समयको प्रयासपछि सिँचाई कुलोमा पानी आउन सफल भएको बताउनुभयो । “सुरुको वर्षमा ७५ हजार बजेटले काम सुरु भएको थियो,” ओलीले भन्नुभयो, “त्यो बेला मैले पनि दैनिक पाँच रुपिँया ज्यालादारीमा यहि कुलो बनाउन काम गरेको हुँ ।”

यस अघि वडाको चौर, गत्तासैना, तुसारे, सिमपाखा लगायतका स्थानमा रहेका खेतीयोग्य जमिनमा बर्षेझरिको भरमा खेती हुँदै आएको थियो । केहि भूभागमा टारखोला, सुवाखोलामा आउने पानीले सिँचाई हुने गरेको ओलीले जानकारी दिनुभयो ।

भौगोलिक विकटता, जनयुद्ध, पाखोमा नहर बनाउनुपर्ने, बजेट अभाव लगायतको कारण उक्त योजना छोटो समयमा बन्न नसकेको बताईएको छ । माओवादी युद्धको समयमा निर्माणको काम करिब रोकिएको र त्यसबेला कुलो निर्माण लागि विभिन्न स्थानमा बिछ्याइएका फलामका सरियाहरु निकालिएको स्थानीयले बताएका छन् ।

खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमले तत्कालिन जिल्ला सिँचाई आयोजना अन्तर्गत टार सिँचाई कार्यालय चौरजहारी मार्फत काम सुरु भएको जनाएको छ ।

कार्यालयका प्राविधिक सहायक डिल्लीबहादुर ओलीले करिब छ करोड लगानीमा सिँचाई नहर सम्पन्न भएको बताउनुभयो । उक्त नहरले ८५ हेक्टर जमिनमा सिँचाई सुविधा दिने बताईएको छ । प्राविधिक सहायक ओलीले सिँचाई कुलोबाट करिब छ सय घरपरिवार लाभान्वित हुने जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालयको ३९ लाख र वडा कार्यालयको कृषि तर्फको एक लाख ५० हजार रुपियाँको लागतमा कुलो निर्माणको बाँकि काम पुरा गरिएको बताईएको छ । सडक निर्माणको क्रममा नहरको केहि भाग पुरिएको थियो भने दुई हजार तीन सय मिटर लामो नहर भासिएको थियो ।

वडा कार्यालय समेतको समन्वय दुवै समस्या समाधान गरेपछि नहरमा पानी आउन थालेको हो । 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्