रिस के हो ? यसको व्यवस्थापन कसरी गर्ने ?

२०८० वैशाख १०
  • राेशन खड्का 

रिस स्वभाविक प्रक्रिया हो । प्राकृतिक रुपले उत्पन्न हुने भावनात्मक क्रिया हो । हाम्रा भावनाहरुले विभिन्न समयमा विभिन्न बिषयमा क्रिया गर्ने र क्रियाको प्रतिक्रिया जनाइराखेका हुन्छन् । हाम्रा यस्ता भावनाहरुलाई दिमागले संचालन गरिराखेको हुन्छ ।

विभिन्न प्रकृतिको भावनात्मक संवेग मध्ये रिस एउटा हो । यो हाम्रो भावनात्मक मानसिक संवेदनामा आघात पुग्दा तथा भावनामा चोट पुग्दा देखिने गर्दछ । प्रायः स–साना कुरामा झर्किने, रिसाउने स्वभाव मानिसमा हुन्छ नै । प्राकृतिक कारणले उत्पन्न हुने भएकाले सामान्य खाले रिस हरकोहीमा देखिन्छ । कुनै–कुनै अवस्थामा रिस उठ्नु स्वभाविक पनि हो ।

मानिस असाध्यै रिसाएको बेलामा आफुलाई नियन्त्रण गर्न पनि गाह्रो हुन्छ । यही कारणले रिसको आवेगमा ठुला–ठुला नराम्रा घटना भएको पनि सुनिन्छ । पारिवारिक कलह, झगडादेखि लिएर हत्या नै हुने जस्ता गम्भीर समस्या यही कारणले भएको सुनिन्छ । परिवारमा झगडाको नकारात्मक असर प्रत्यक्ष रुपमा बच्चामा पर्न सक्छ ।

चित्त नबुझेको कुरामा सामान्य रिस उठ्नु तनाव हुनु मानवीय गुण पनि हो । तर, यस्तो रिसलाई समयमा नै व्यवस्थापन गर्न सकिएन भने जिन्दगीभर पश्चाताप गर्नुपर्ने पनि हुन सक्छ । रिस एक प्रकारको भावनात्मक संवेग हो । सामान्यदेखि शक्तिसाली अवस्थासम्म पुग्न पनि रिसको उर्जाले सामर्थ्य राख्छ । रिस सधै नकारात्मक मात्र हुन्छ भन्ने हुँदैन ।

रिसकै कारण कतिपय मानिसले आफ्नो सामर्थ्यको पहिचान गर्छ । यसले जुनसुकै प्रतिस्पर्धालाई पनि सामना गर्न सिकाउँछ । रिस या प्रेममा, मानिसको जीवनमा उर्जाकै प्रभाव पारेको हुन्छ । उर्जा चाहे रिसको होस् या प्रेमको, त्यसको सहि व्यवस्थापन गर्न सकेमा सफलता प्राप्त गर्न सहज हुन्छ । रिसलाई बुझ्ने तरिका रिसबाट बाहिर निस्कन खासै गाह्रो हुँदैन । यसलाई बुझन नसक्दा भने गम्भीर समस्या उत्पन्न हुन् सक्छ ।

जब रिस उठ्छ हामी के गर्न सक्छौ ? रिसलाई दबाउन । रिसलाई पोख्न । रिसलाई होसपुर्वक हेर्न रिसलाई दबाउनु पक्कै राम्रो होइन । यसले शारीरिक, मानसिक र भावनात्मक रुपमा असर पुर्याउछ । रिसलाई पोख्नु त झनै राम्रो होइन । यसले त झन् भौतिक रुपमा असर पुर्याउने काम गर्छ । जसलाई रिस पोख्छौ झन् उसैसंग सम्बन्ध बिग्रन्छ ।

आफुलाई हानी बनाएर भित्तामा हान्ने, काट्ने, पिट्नेजस्ता क्रियाकलापले आफ्नै शरीरलाई हानी हुन्छ ।

जब रिस स्खलित हुन्छ, तब फेरी पश्चातापभन्दा अरु केही हात लाग्दैन। त्यसैले रिसलाई न त दबाउनु राम्रो हो न त अरुसामु पोख्नु नै । सबैभन्दा उत्तम उपाय भनेको रिसलाई होसपुर्वक हेर्ने हो ।

रिस उठ्न लागेको थाहा पाउनासाथ पुरा होसमा बस्ने । म के गर्दै छु, के बोल्दै छु भन्ने बोध गर्ने । जब रिसलाई निष्काम भावले केही समय हेर्छौ, तब यो आफै केही हद सम्म कम हुन सक्छ । यसो गर्दा उक्त रिसको उर्जा रुपान्तरण भएर प्रेम करुणा, क्षमामा परिवर्तन हुन्छ । कारण जस्तोसुकै होस् त्यसले व्यक्तिमा कुनै बदलाब ल्याउदैन ।

यसका लागि नियमित ध्यानको अभ्यास गर्नु अत्यन्त राम्रो हुन्छ । रिसले निम्त्याउने रोग रिसले मानसिक, भावनात्मक समस्या मात्र नभई शारीरिक समस्या पनि निम्त्याउने गर्छ । टाउको दुख्ने, रक्तचाप, मुटुरोग, ग्यास्ट्रिक, कब्जियत, अपचजस्ता शारीरिक समस्या पनि रिसको कारण उत्पन्न हुन सक्छ । रिस आफै उत्पन्न हुने भएकोले यसको नियन्त्रण गर्न पनि आफै अवश्य सकिन्छ ।

रिस उठेको बेलामा हामीले गरेको कामले कुनै पश्चतापनहोस भनेर सकेसम्म हामी सबैले रिसलाई कन्ट्रोल गर्नसक्नु पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार ‘मानिसले आफ्नो जीवनमा उत्पन्न हुने भावना अर्थात इमोसनलाई कन्ट्रोल गर्न सक्दैन भने त्यो मानसिक समस्या हो, स्वस्थ मानिसले मात्र आफूलाई कन्ट्रोलमा राख्न सक्छ।

रिसको व्यवस्थापन रिसको व्यवस्थापन गर्न रिस उठेको बेला मलाई रिस उठेको छ भन्ने थाहा पाउनु जरुरी छ । वास्तवमा मान्छेले चरम रिसको अवस्थामा होससमेत गुमाएको हुन्छ । जसले गर्दा नराम्रो घटना भएको पनि पत्तो पाउँदैनन् । होसमा मान्छेले नराम्रो कार्य गर्न सक्दैन ।

जब रिस उठ्छ, सो समयमा चार –पाँचपटक गहिरो लामो श्वास लिने र छाड्ने बानि गर्नुपर्छ । यस्तो बानीको विकास गर्नाले रिस कम हुन्छ । रिस उठ्नासाथ तुरुन्त मनलाई अन्ततिर लान कोसिस गर्नुपर्छ । साथै, सो परिवेशबाट उम्कने कोसिस गर्नुपर्छ । योग, ध्यान, प्राणायामलाई आफ्नो दैनिकीमा अभ्यस्त बनाउनुपर्छ साथै, मनोप्रामर्शदाता सँग परामर्श गर्नु पनि राम्रो हुन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्