Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुई वर्षसम्म पहिरो नहटाईदा खेतीयोग्य जमिन बाँझै

जमिन बाँझो नराख्ने नीति कार्यान्वयन गर्दै आठबीसकोट नगरपालिका
२०८० वैशाख १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –११ मा दुई वर्ष अघि वर्षासँगै आएको पहिरो नहटाईदा खेतीयोग्य जमिन बाँझै रहेको हो । २०७८ र २०७९ सालको असार महिनामा वर्षासँगै आएको माटो र ढुङगाको कारण पुरिएका खेतीयोग्य जमिन अझैपनि पुरिएकै अवस्थामा रहेका छन् ।

धानखेतीसँगै पहिरोले पुरिएका खेतहरु अहिलेसम्म पुरिएकै अवस्थामा रहेका छन् । आठबीसकोट नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष प्रेमबहादुर पुनले वडाको विभिन्न स्थानमा आएको पहिरोले ११५ हेक्टर खेतीयोग्य जमिन पुरेको बताउनुभयो । उहाँका अनुसार वडाका चार क्षेत्रमा आएको पहिरोेले पुरेको जग्गाबाट अहिलेसम्म पहिरो हटाईएको छैन ।

वडा कार्यालयले संकलन गरेको तथ्याङक अनुसार घ्यारमखोला देखि गिजागाडसम्मको १० हेक्टर, गिजागाड देखि सिमबजारसम्मको ४० हेक्टर, सुवाखोला देखि चुच्चेडाँडा घुर्सेनी हुँदै चारखोलासम्मको ३५ हेक्टर र भित्रिखोला देखि गत्तासैना चिसापानी हुँदै धनेगौरासम्मको ३० हेक्टर खेतीयोग्य जग्गा पहिरोले पुरिएकै अवस्थामा रहेको छ । केहि जग्गा २०७८ साल असारमै आएको पहिरोले पुरिएको थियो भने गत वर्ष पनि ठुलो पहिरो आएर जग्गा परेको वडाध्यक्ष पुनले जनाउनुभयो ।

नगर सरकार तथा अन्य कुनै पनि निकायले पुरिएको जग्गाबाट माटो र ढुङगा हटाउन चासो नदिएको वडाध्यक्षको भनाई रहेको छ । “करिब तीन सय किसानको जग्गामा पहिरो रहेको छ,” वडाध्यक्ष पुनले भन्नुभयो, “खेतीयोग्य जग्गा यसरी पुरिदा गाउँमा भोकमरी हुनसक्ने चिन्ता रहेको छ ।” अब तत्कालै खेतीयोग्य जग्गामा रहेको पहिरो हटाउन पहल गर्ने वडाध्यक्ष पुनले बताउनुभयो ।

लगाएको धानबालीमा आएको पहिरो अहिलेसम्म हटाउन नसकिएको आठबीसकोट नगरपालिका –११ का किसान अमृता चन्दले जनाउनुभयो । धानखेती पुरिएको र पहिरो हटाउन नसक्दा गहुँ खेती पनि गर्न नसकिएको चन्दले बताउनुभयो । उहाँका अनुसार खेतीयोग्य जग्गा पहिरोको कारण बाँझै छोडिएको छ । आफ्नो जस्तै गाउँका धेरैजनाको मुख्य उब्जनी हुने जग्गा पुरिएको र पाखोबारीमा मात्र गहुँ खेती गरेको उहाँले उल्लेख गर्नुभयो ।

चौर गाउँमुनि रहेको आफ्नो उब्जनीयोग्य जग्गा पनि पोहोरसालदेखि पुरिएको अवस्थामा रहेको सोहि गाउँका शिवबहादुर बटालाले बताउनुभयो । बटालाले गाउँको मुख्य उब्जनी हुने क्षेत्रमा पहिरो आएर यत्रो क्षति गर्दापनि कहिकतैबाट राहत पाउन नसकेको जनाउनुभयो । “त्यो बेलामा आफू र घरपरिवारका सदस्य जोगाउन अर्को ठाउँ पुगेर बस्यौ,” बटालाले भन्नुभयो, “यता खेतीगर्ने जग्गाको हालत यस्तो भएको छ ।” पहिरोले क्षति गरेको जग्गाको विवरण संकलन गरेर राहत दिईनुपर्ने उहाँको माग रहेको छ ।

आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले किसानको उब्जनीयोग्य जग्गा ढुङगामाटोले पुरिनु दुखद भएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाले जग्गा बाँझो नराख्ने नीति ल्याएकोले सोहि अनुसार योजना बनाएर उक्त समस्या हल गर्ने बताउनुभयो ।

झरि परिरहने, पहिरो झरिरहने भएकोले तत्कालिन अवस्थामा पहिरो पन्छाउन नसकिएको तर अब सम्भावित पहिरोस्थान र खोलाको व्यवस्थापतर्फ लाग्ने नगर प्रमुख केसीको भनाई रहेको छ । वर्षे खोलाले नसोचेकै क्षति गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्