Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री शर्माले वैशाख १५ गते विश्वासको मत लिनु हुने

२०८० वैशाख १२
tribeni2

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिनु हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा गत आइतबार पत्र दर्ता गर्नुभएको छ। प्रदेश सभा सचिवालयका अनुसार विश्वासको मत लिने प्रयोजनसम्बन्धी पत्र दर्ता भएको छ। वैशाख १५ गते बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने बताइएको छ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा मुख्यमन्त्री शर्मा नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँले माघ ६ गते प्रदेश सभाबाट पहिलो पटक विश्वासको मत प्राप्त गर्नुभएको थियो।

मुख्यमन्त्री शर्माले पहिलो पटक विश्वासको मत प्राप्त गर्दा ४० जना प्रदेश सभा सदस्यमध्ये २५ जनाले विश्वासको मत दिएका थिए तर राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले चैत १७ गते प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिनुभएको थियो।

दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपाबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका थिए। दोस्रो पटक ४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा ३९ जना मतदानमा सहभागी भएका थिए।

जसअनुसार मुख्यमन्त्री शर्मालाई विश्वासको मत पक्षमा ३८ जना प्रदेश सभा सदस्यको विश्वासको मत परेको थियो तर नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले फेरि विश्वासको लिनु परेको हो। केन्द्रमा बनेको नेकपा एमाले र माओवादी केन्द्र सहित सात दलको सत्ता गठबन्धन भत्किएसँगै कर्णालीमा पनि सत्ता समीकरण फेरिएको छ।

अहिले तीन मन्त्रालयसहित नेपाली कांग्रेस सरकारमा सहभागी बनेको छ। कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र गरेर एकएक जना प्रदेश सभा सदस्य रहेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्