Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १३ मा आलुको उत्पादन राम्रो, तर बजार छैन

२०८० वैशाख १२
tribeni2
  • घनश्याम खड्का

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१३ मा उत्पादित आलुले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौर लगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो रहेको छ ।

मुसीकोट नगरपालिका १३ का आलु उत्पादक किसान कालीकुमारी खड्काले वर्षमा दुई पटक आलु खेती हुने गरेको तर समयै बजार नपाएको बताउनुभयो । “आलुको उत्पादन राम्रो हुन्छ,” खड्काले भन्नुभयो, “उत्पादित आलु बिक्रिको लागि साह्रै समस्या हुने गरेको छ ।” उहाँले एक सिजनमा आफूले मात्र एक सय क्विन्टल आलु उत्पादन गरेको जानकारी दिनुभयो । खड्काले करिब दुई हजार तीन सय वर्ग मिटर जग्गामा आलु खेती गरेको जानकारी दिनुभयो ।

सोहि गाउँका छबिलाल खड्काले स्थानीय बजारमा फाट्फुट बिक्रि हुने गरेतापनि समयमै बिक्रि नहुँदा सस्तो मूल्यमा बिक्रि गर्न बाध्य भएको बताउनुभयो । उहाँकाले बीउ किन्दा एक क्विन्टरलाई पाँच हजार रुपिँया मूल्य तिर्नुपरेको तर बजारमा दुई हजार रुपिँयामा एक क्विन्टल आलु मुश्किलले बिक्रि हुने गरेको जानकारी दिनुभयो ।

उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस क्षेत्रमा सिँचाई सुविधा र बजारीकरणको समस्या किसानहरुले बर्षौदेखि झेल्दै आएको उहाँको भनाई रहेको छ ।

बजारमा भारतबाट आयातित आलुको कारण स्थानीय उत्पादन बिक्रि हुन नसकेको बताईएको छ । सस्तो तथा गुणस्तरहिन तरकारी बजारमा पाईने भएकोले गाउँमै उत्पादन भएको आलु कमै बिक्रि हुने गरेको किसाको भनाई छ ।

उक्त वडामा मात्र व्यवसायीक रुपमा करिब ६० घर किसानले आलु खेती गर्दै आएका छन् । वडामा एक वर्षमा मात्र करिब एक हजार क्विन्टल आलु उत्पादन हुने गरेको वडाध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष आलुको उत्पादनको लागि स्थानीय सरकारले बीउमा अनुदान उपलब्ध गराएको थियो । बीउ उत्पादनमा सहयोग गरेतापनि बजारीकरणमा समस्या झेलिरहेको उहाँको भनाई रहेको छ । यसका लागि संकलन केन्द्र र बजारको सुनिश्चितताको जरुरी रहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्