Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भत्ता बाँड्न बैंकका कर्मचारी लिएर गाउँगाउँमा चौरजहारीका जनप्रतिनिधिहरु

२०८० वैशाख १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गाउँकै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाएको छ ।

लाभग्राहीहरूको सहजताको लागि नगरपालिकाले बैङ्कमा कर्मचरी गाउँमै लिएर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । शारीरिक अशक्तताका कारण बैङकसम्म पुग्न नसक्ने लाभग्राहीहरूको सहजताका लागि घर नजिक पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको नगरपालिकाले जनाएको छ ।

यस कार्यबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने विशेष गरी जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू लाभान्वित भएका छन् ।

चौरजहारी नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काका अनुसार सामाजिक सुरक्षा भत्ताको रकम निकासा गर्न बस चढ्नुपर्ने, दिनभर हिड्नेपर्ने, बैङ्कमा लाइन बस्नुपर्ने लगायतका सास्ती व्यहोर्नुपर्ने अवस्था रहेकोले गाउँमै गएर सेवा दिने व्यवस्था गरिएको हो ।

सो व्यवस्था अनुसार आइतबार नेपाल बैङ्क लिमिटेड चौरजहारी शाखाले वडा नम्बर १४ मा पुगेर १७७ जना लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वापतको रकम प्रदान गरेको छ । सामाजिक सुरक्षा वितरण कार्यक्रममा नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा बि.एम. को उपस्थिति रहेको थियो।

प्रवक्ता खड्काले दिनुभएको जानकारी अनुसार नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र लक्ष्मी बैङ्कले चौरजहारी नगरपालिकाका सबै वडाका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नेछन् । नेपाल बैङ्कबाट वडा नम्बर १० देखि १४, राष्ट्रिय वाणिज्य बैङ्कबाट ४ देखि ९ र लक्ष्मी बैङ्कबाट १ देखि ३ नम्बरका लाभाग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण हुनेछ ।

चौरजहारी नगरपालिका क्षेत्रभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकको सङ्ख्या एक हजार २१८ रहेको छ । त्यसैगरी जेष्ठ दलित २४१, एकल महिला १९२, विधवा ३८३, पूर्ण अपाङ्गता ८० र अति अशक्त १०४ जना रहेका छन् । दलित बालबालिका ७८४ र क्षेत्रतोकिएका बालबालिका २ हजार १० गरी चौरजहारी नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको सङ्ख्या ५ हजार १२ रहेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा जनप्रतिनिधिहरु, कर्मचारी, बैंकका कर्मचारीहरु, नेपाल प्रहरी, नगर प्रहरी लगायतको सहभागिता रहने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्