Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

धमाधम गाईगोरु बिरामी हुन थालेपछि किसानहरु चिन्तित

छालामा लाग्ने लम्पी रोगसँग मिल्दो लक्षण, उक्त रोग विरुद्धकाे खाेप नै छैन
२०८० वैशाख १४
tribeni2

रुकुम पश्चिम / विगत एक महिना यता घरमा पालिएका गाईगोरुहरु धमाधम बिरामी पर्न थालेपछि रुकुम पश्चिमका पशुपालक किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाका विभिन्न स्थानका गाईगोरुमा ज्वरो आउने, गिर्खा देखा पर्ने, आँखा तथा नाकबाट फिँज निकाल्ने लगायतका समस्याहरु देखिन थालेको किसानहरुको भनाई रहेको छ ।

आठबीसकोट नगरपालिका –७ का पशुपालक किसान धने बुढाले घरमा पालिएका दुबै गोरुको घाँटी तथा पछाडिको भामा गिर्खा आउने, आँखाबाट कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिज धेरै निकाल्ने, गिर्खाहरु फुटेर गहिरो घाउँ हुने समस्या देखिएको बताउनुभयो । पशु सेवा केन्द्र आठबीसकोटमा उपचारका लागि गोरु सहित आउनुभएका बुढाले दुई हप्ता देखि गाउँका अन्य गोरुहरुमा पनि यस्तो समस्या देखिन थालेको जानकारी दिनुभयो ।

आठबीसकोट नगरपालिका –९ का किसान नन्ने बटालाले गोरुमा ज्वरो आउने, खाना मन नलगाउने, तौल घट्ने जस्ता समस्या देखा परेको जनाउनुभयो । नजिकैको पशु सेवा केन्द्रमा गएर गोरुको उपचार गरेको बटालाले बताउनुभयो । यस खालको लक्षणको कारण किसानहरु चिन्तामा रहेका उहाँको भनाई रहेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले एक महिना देखि जिल्लाको विभिन्न स्थानहरुमा रहेका गाई र गोरुहरुमा बढी मात्रामा यस्तो लक्षण देखापरेको बताउनुभयो । उहाँका अनुसार पशुचौपायहरुको छालामा लाग्ने लम्पी रोगको लक्षणसँग मिल्ने उक्त भाईरल रोग सुरुमा मुसीकोट नगरपालिका –११ र १२ मा फैलिएको थियो ।

त्यसपछि जिल्लाको विभिन्न स्थानहरुमा फैलिएको जानकारीपछि कार्यालयले स्थानीय तहहरुलाई केहि औषधि समेत पठाएको शर्माले बताउनुभयो । “यो रोग बिरुद्धको भ्याक्सिन उत्पादन भएको छैन,” निमित्त प्रमुख शर्माले भन्नुभयो, “ज्वरो कम गर्ने, घाउ सुकाउने एन्टिबायोटिक औषधि प्रयोग गरेर भाईरस फैलनबाट रोक्ने प्रयास भईरहेको छ ।”

पछिल्लो समय आठबीसकोट नगरपालिका र त्यसक्षेत्रमा रहेका गाईगोरुमा उक्त खालको समस्या बढीरहेको पशु सेवा केन्द्र आठबीसकोटका नायब पशु सेवा प्राविधिक यज्ञ थापाले बताउनुभयो । उहाँका अनुसार सेवा केन्द्रमा दैनिक १२ देखि १५ वटा गाई र गोरु उपचारका लागि किसानहरुले ल्याउने गरेका छन् भने करिब २० जनाले घरमै औषधि लिएर जाने गरेका छन् ।

विशेष गरेर गोरुहरुमा व्यापक रुपमा फैलिरहेको पाईएको पशु सेवा प्राविधिक थापाले जानकारी दिनुभयो । उहाँले समयकै सम्भावित क्षति न्युनीकरणका लागि पशुचौपायहरुको उपचारतर्फ लाग्न अनुरोध गरिएको समेत जनाउनुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्