सोसल मिडिया
राजनीतिमा उमेरको जोखना महत्वका साथ गरिन्छ । नीति बनाउन र असल नेतृत्व गर्न उर्जाशिल सोच र समयको घेरा महत्वपुर्ण हुन्छ । जसले वर्तमानको आवश्यकता र भविष्यको कल्पनामा दिर्घकालिन रंग घोल्नसक्ने ल्याकत राख्दछ,त्यो मान्छेले अरुलाई प्रभाव पार्न सक्दछ । अरुलाई सकारात्मक प्रभाव पारेर आफ्नोपछि हिडाँउन सक्ने खुबी उमेरले मात्र दिदैन,विचार र क्षमताले दिन्छ ।
मेरो विचारमा उमेर सर्वोपरी होइन। युवा हुँदैमा नेता हुने,देश विकाश हुने र कायापलट गर्ने भन्ने बुझाइ सर्वमान्य हुँदै होइन। यो त बृद्धावस्थाका नेताबाट वाक्क, दिक्क, प्याक्क भएकाहरुको मानसीक उपज हो यो । यसको मतलब बुढा नेता नै ठिक हो, म वृद्धहरुको पक्षमा छु भन्ने बुझाई झन् दुई सय प्रतिशत गलत हुनेछ ।
खास नेता पढेलेखेको अथवा उच्च शैक्षिक योग्यता हाँसिल गरेकै हुनुपर्ने हो ? अथवा विध्यावारिधी गरेकाहरु अरु नेता भन्दा अब्बल हुन्छन् ? डिग्री बिनाका नेता कामै नलाग्ने हुन्छन् ? यी कुरा आम युवाले सोच्ने र निकै मत मतान्तर हुने विषय हुन् ।
राजनैतिक नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषय एक वृहत विषय हो । यहाँ संक्षेपमा मेरा केहि धारणा राखिएको छ ।
१) प्रष्ट भिजन भएको : असल नेतृत्वमा देशको आर्थिक, सामाजिक, भौतिक विकास दिगो रुपमा कसरी गर्ने ? भावी पुस्ताको लागि विकास मोडल कस्तो हुने ? कहाँ, के निर्माण गर्ने ? कस्ता उद्योग स्थापना गर्ने ? कसरी रोजगारी सृजना गर्ने ? गरिबीको अन्त्य कसरी हुन्छ ? पछि पारिएका वर्गलाई कसरी राष्ट्रिय मूलधारमा ल्याउने ? विभेदको अन्त्य तथा समाजमा शान्ति, सुव्यवस्था र सुशासन कसरी कायम गर्न सकिन्छ ? लगायका विषयमा आफ्नो माटोको अध्ययन गरेर सहि मार्गदर्शन दिन सक्ने क्लियर भिजन हुनु जरुरी छ ।
यसको लागि व्यापक अध्ययन अनुसन्धान तथा विज्ञका राय सल्लाह समेत लिई एक मार्गचित्र तयार पार्न सक्ने खुबी जो सङ्ग छ त्यो नेता हो । बाँकी सबै नेताका अनुयायी हुन जान्छन् ।
२) दृढ ईच्छा शक्ति : नेतृत्वमा निस्वार्थ भावले देश र जनताको खातिर आफू र आफ्नो सारा जीवन समर्पण गर्नसक्ने क्षमता जरुरी छ । विकास र परिवर्तन सम्भव छ, त्यो पनि हाम्रै पालामा, मेरै कालखण्डमा भन्ने सोच राख्न सक्ने व्यक्ति नेतृत्वमा आउन जरुरी छ ।
सकारात्मक विकासका लागि कसैसँग गलत सम्झौता नगरी, नझुकी केवल विकास, समृद्धि, सुशासन, भ्रष्टाचारको अन्त्य, कमिसनको अन्त्य, दलाल र विचौलियाको अन्त्य गरि शुद्ध मनले म देश र जनताको खातिर हदैसम्मको त्याग र समर्पण गर्न सक्छु भन्ने दृढ़ संकल्प र सोही अनुसार कार्यनीति अपनाउने व्यक्ती मात्र असली रूपमा नेता हो,नेतृत्व हो। नत्र त स्यालको हुईया सरह मात्र हुन्छ ।
उदाहरणका लागि जनार्दन शर्माले उर्जा मन्त्रालय समाल्दै गर्दा वैकल्पिक उर्जाबाट प्राप्त कमिसन म खान्न/लिन्न, मैले लोडसेडिङ अन्त्य गरेरै देखाउछु भन्ने दृढ़ संकल्पले आज नेपाल उज्यालो बनेको छ । हर क्षेत्रमा यसरी नेता र नेतृत्वले केहि गर्छु भन्ने इच्छाशक्ति राख्यो भने परिवर्तन सम्भव छ।
३) निष्ठा र इमानदारीता : राजनीतिक अवसरलाई कसैले सात पुस्तालाई पुग्ने सम्पती कुम्ल्याउने मौका बुझ्छन् । मैले नियम बमोजिम बाहेक एक सुक्का लिन्न, यो मेरो नैतिक बल हो, इमान हो भन्ने नेताको अभाव देखिएको छ । पैसा कमाउने,ठेकेदारी गर्नेहरुले राजनीति भन्दा व्यवसाय रोज्ने हो, इमान बेच्ने हैन ।
पाएको अवसरलाई यहि त हो मौका ठानेर जनमत बेच्ने, लाखौं युवाको भविष्य अन्धकार बनाउने काम किमार्थ असल नेताको गुणमा पर्दैन । सेवा गर्न हिडेका राजनीतिज्ञलाई नाफा कमाउने छुट कुनै शास्त्रले पनि दिएको छैन ।
कमिसन खान्न,घुस खान्न, दलाली गर्दिन, देश र जनताप्रति गद्दारी गर्दिन बरु ईमानमा बाँच्छु, नीतिमा टेकेर समाज बनाउछु, नैतिक मूल्य बचाँउछु भन्ने सोच नेतामा पलाउनुपर्छ । समाज र देशको भलो नै मेरो राजनीतिक भविष्यको भलो हो भन्ने ज्ञान आर्जन गरेर व्यवहार सोहि अनुरुप बनाउने व्यक्ति नै असली नेता हो, नेतृत्व हो । तर नेपालमा यस्तो खालको नेतृत्वमा खडेरी परेको जस्तै छ ।
माथी उल्लेख गरिएका गुणहरु उमेर र शैक्षिक योग्यताभन्दा कैयन असल नेताका मापदण्ड समेत हुन् । यी मापदण्ड भित्र कोहि युवा पर्छ, अथवा डिग्री होल्डर पर्छ भने त्यो त सुनमा सुगन्ध भैहाल्यो । तर भिजन, दृढ़ इच्छाशक्ति र निष्ठाबिना कोहि असल नेता बन्न सक्दैन ।
-(लेखक शर्मा, विद्यार्थी नेता हुनुहुन्छ ।)