नेभिगेशन
राजनीति

आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग

सुर्खेत, चौरजहारी, जुम्ला विमानस्थल स्तरोन्नतिका लागि बजेट माग

काठमाडौँ /  कर्णाली प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदले आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग गर्नुभएको छ। सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बालुवाटारमा भेट गरी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग गर्नुभएको हो। 

कर्णाली विकासका लागि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई सांसदहरूले जोड दिनुभएको छ। कर्णालीमा निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेकाले समग्र विकासको हिसाबले कर्णाली अझै पछाडि रहेको ज्ञापनपत्रमा उल्लेख छ।

कर्णालीको गरिबी र बेरोजगारलाई न्यूनीकरण गर्न कर्णाली स्वरोजगार एवं गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम अभियान सञ्चालन गर्न पाँच अर्ब बजेट माग गरिएको छ । 

कर्णालीका सांसदहरूले पर्यटनको ठूलो सम्भावना उपयोग गर्न धार्मिक पर्यटनको केन्द्रका रूपमा लिमी भ्यालीलाई विकास गरी मानसरोवर कैलाश दर्शनद्वारका रूपमा अगाडि बढाउन माग गर्नुभएको छ। त्यसैगरी शे–फोक्सुन्डो, सरहतारा, उच्च मानव बस्ती हिमाल, ताल, जैविक विविधता र सिँजा सभ्यता संस्कृति सदुपयोगका लागि पूर्वाधार तयार पार्ने आवश्यक बजेटको आवश्यकता औँल्याइएको  छ। 

कर्णाली जैविक विविधता जडीबुटीसमेतलाई ध्यानमा राखी व्यावसायिक रूपमा जडीबुटी खेतीका साथै प्रदेश केन्द्रमा बृहत् जडीबुटी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना माग गरिएको छ। कर्णालीको वायुसेवा विस्तार गर्न प्रस्तावित प्रादेशिक एयरपोर्ट निर्माण कार्य शीघ्र रूपमा अगाडि बढाउन भनिएको छ। सुर्खेत, चौरजहारी, जुम्ला विमानस्थल स्तरोन्नतिका साथै हुम्लामा नयाँ विमानस्थलको सम्भाव्यता अध्ययनलगायतका सामाजिक आर्थिक विकासका लागि बजेट माग गरिएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका साथै सांसद जनार्दन शर्मा, हृदयराम थानी, दिक्पालकुमार शाही, महेन्द्रबहादुर शाही, अमरबहादुर थापा, कान्तिका सेजुवाल, मैना कार्की, धनबहादुर बुढा, ऐनबहादुर शाही, सीताकुमारी राणा, सूर्यकुमारी श्रेष्ठ, छिरिङ डम्डुल लामा भोटे, कल्पना मियाँ, चन्द्रबहादुर विश्वकर्मालगायतले यस्तो माग गर्नुभएको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति