Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा शैक्षिक सुधारका लागि कार्यशाला सम्पन्न

२०८० वैशाख १७
tribeni2

रुकुम पश्चिम / चौरजहारी नगरपालिकामा शैक्षिक उपलब्धी सुधार सम्बन्धी कार्ययोजना कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा चौरजहारी नगरपालिकाको शैक्षिक अवस्था सुधारका लागि विभिन्न आठ वटा क्षेत्रका ५२ वटा क्रियाकलापहरू तोकिएको छ ।

चौरजहारी नगरपालिकाका प्रवक्ता खुमबहादुर खड्काका अनुसार कार्यशालाबाट पाठ्यक्रम कार्यान्वयन, शिक्षक पेशागत दक्षता विकास, कक्षा व्यवस्थापन, अभिभावक सहभागिता, निरीक्षण अनुगमन तथा सुपरीवेक्षण, व्यवस्थापन, नीतिगत व्यवस्था र शैक्षिक गुणस्तर परीक्षणका क्षेत्रमा कार्यक्रमहरू तय गरिएको छ ।

पाठ्यक्रम कार्यान्वनयका लागि २२ वटा, शिक्षक पेसागत दक्षता विकासका लागि ६ वटा, कक्षा व्यवस्थापनका लागि ५ वटा, अभिभावक सहभागिताका लागि ३ वटा, निरीक्षण अनुगमन र सुपरीवेक्षणका लागि ४ वटा, व्यवस्थापनका लागि ३ वटा, नीतिगत व्यवस्थाका लागि ६ वटा र शैक्षिक गुणस्तर परीक्षणका लागि ३ वटा क्रियाकलाप निर्धारण गरिएको प्रवक्ता खड्काले बताउनुभयो ।

सिकाइ समक्षता, सिकाइ सहजीकरण, सिकाइ उपलब्धीको लक्ष्य किटान, सिकाइ उपलब्धी अभिवृद्धि योजना, सिकाइका लागि थप सहायता कक्षा, व्यवसायिक तथा सामाजिक कार्यमा विद्यार्थी सहभागिता लगायतका क्रियाकलाप निर्धारण गरिएको छ । सहभागी सिकाइ सञ्चालन, स्वअध्ययन तथा गृहकार्य, डिजिटल डिभाइसको सदुपयोग, एकाघरको जागरुक अभिभावकलाई मेन्टर (सल्लाहकार) तोक्नुपर्ने क्रियाकलाप रहेका छन् ।

त्यसैगरी शिक्षकसँग प्रश्नोत्तर कार्यक्रम, विषयगत समिति गठन र परिचालनलाई शिक्षक पेसागत दक्षता विकाससँग सम्बन्धित गरिएको छ । उपलब्धिमा आधारित शिक्षक प्रोत्साहन, अभिभावक शिक्षा कार्यक्रम, विद्यालयमा एक दिन एक अभिभावक कार्यक्रम, निरीक्षण अनुगमन र सुपरीवेक्षण, बजेट व्यवस्थापन, स्रोत पहिचान र परिचालन, भौतिक पूर्वाधार व्यवस्थापन, सक्षमता विकास, सहकार्यमा जोड, कार्य दक्षता, शैक्षिक गुणस्तर परीक्षण इकाइ, स्तरमापन परीक्षा, शिक्षक सक्षमता मापन लगायतका क्रियाकलापहरू निर्धारण गरिएको छ ।

क्रियाकलाप कार्यान्वयनको समय, कार्यान्वयन विधि, प्रमुख र सहायक जिम्मेवारी तोक्नुका साथै कार्यसम्पादन सूचक समेत निर्धारण गरिएको छ । कार्यक्रमका विद्यालयको समग्र अवस्था व्यवस्थापन तथा सुधारका लागि ४७ बुँदे निर्देशन समेत गरिएको छ । कार्यशालाको सहजीकरण हिमालय मावि खोलागाउँका प्रधानाध्यापक भीमबहादुर ओलीले गर्नु भएको थियोे ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्