कर्णालीकै सर्वाधिक राशिको भलिबल खेल रुकुम पश्चिममा उद्घाटन

विजेतालाई पाँच लाख र उप विजेतालाई दुई लाख ५० हजार पुरस्कार
२०८० वैशाख १९

रुकुम पश्चिम / रुकुम पश्चिममा कर्णाली प्रदेशकै सर्वाधिक राशिको रुकुम कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको उक्त प्रतियोगिताको मङगलबार मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभएको छ ।

रुकुमपश्चिमको सदरमुकाम मुसीकोट खलंगाको बराहटाकुरामा साविक मध्यपश्चिमाञ्चल जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको हो । आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजबिक्रम बिएमले प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

सुर्खेत, रोल्पा, प्युठान, सल्यान, एक विभागिय (सशस्त्र प्रहरी) र रुकुम पश्चिमका गरी १० वटा टिमले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता वैशाख २४ गतेसम्म चल्ने बताईएको छ ।

यो प्रतियोगिता कर्णाली प्रदेशकै हालसम्मको ठूलो राशिको भएको आयोजकको दाबी रहेको छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपिँया पाउने छ । उप विजेताले दुई लाख ५० हजार पाउँदा सेमिफाइनलमा पुग्ने दुई टिमले समान १/१ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । विभिन्न व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिने छ । वेष्ट प्लेयरलाई १० हजार र अन्यलाई पाँच/पाँच हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

खेल हेर्नका लागि जिल्लामा पहिलो पटक टिकट शुल्क तोकिएको छ । एक सय रुपिँया प्रवेश शुल्क तोकिएको अध्यक्ष बिएमले जानकारी दिनुभयो । कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको र व्यवस्थित रुपमा संचालन गर्न लागिएकोले टिकटको व्यवस्था गरिएको अध्यक्ष बिएमको भनाई रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्