Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मूलको पानी संरक्षण गरेर घर-घरमा धारा

मुसिकाेट १० का घर-घरमा खानेपानी सुविधा
२०८० वैशाख २२
tribeni2

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१० मा रहेका विभिन्न पानीका मुहानहरु संरक्षण गरेर खानेपानीको सुविधा थप व्यवस्थित गर्न थालिएको छ । वडामा रहेका विभिन्न नौ वटा पानी मूहान (मूल) मार्फत वडाका नौ वटा बस्तीमा पानी व्यवस्थापनको काम सुरु भएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष धनबहादुर खड्काका अनुसार वडामा नौ वटा मुहानको पानी संरक्षण गरेर नौ वटै बस्तीमा व्यवस्थापन गर्ने कार्य तिब्र रुपमा भईरहेको बताउनुभयो । उहाँका अनुसार वडाको विभिन्न स्थानमा रहेका पानीका मुहानहरुमा इन्टेक निर्माण र पानी ट्याङकी समेत बनाएर घरघरमा धारा व्यवस्थापन गर्न थालिएको हो ।

वडाका चाँदनीगैरा गलमपाटी, औलीसेखोला, पँधेरीखोला, झ्याङ, झान्डारी, झारढुङगा भेरीखोला, होलटाकुरी, चच्चुडाँडा बुढाटोल र परियारटोलमा खानेपानी लाईन व्यवस्थान गर्ने काम तिब्र भईरहेको छ । अहिले बगिरहेको पानीलाई आफू अनुकुल उपयोग गरिरहेकोले त्यसलाई व्यवस्थापनका लागि वडा कार्यालयले नौ वटा योजना एकैसाथ सुरु गरेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालयको सहयोगमा नौ वटा बस्तीको खानेपानी व्यवस्थापनको काम चलिरहेको हो । खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालयले पाईप, फिटिङग र निर्माणका सामान दिनेछ भने उपभोक्ता समितिले बालुवा, सिमन्ट, ढुवानी र निर्माणको काम गर्नेछ ।

नौ वटा मुलमा इन्टेक निर्माण गरेर नौ बस्तीको छुट्टाछुट्टै पानी रिजर्भ ट्याङकी निर्माण हुने खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालयका प्राविधिक पुर्ण ओलीले बताउनुभयो । त्यसपछि नौ टोलका १४७ घरमा व्यवस्थित रुपमा पानी पुग्ने उहाँले जानकारी दिनुभयो । असार मसान्त भित्र सबै काम सम्पन्न हुने बताईएको छ ।

वडा कार्यालयका अनुसार परियार टोलका १७ घर, चाँदनीगैरा गलमपाटीका १३ घर, औलीसेखोलाका १० घर, पँधेरीखोलाका १६ घर, झ्याङका २३ घर, झान्डारीका १९ घर, झारढुङगा भेरीखोलाका १३ घर, होलटाकुरीका १७ घर र चच्चुडाँगा बुढाटोलका १९ घरपरिवार उक्त योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

घर-घरमा खानेपानी सुविधा

वडा कार्यालयले वडाका सबै घरमा खानेपानी सुविधा पुगेको जनाएको छ । वडाध्यक्ष खड्काले वडाका ३५६ वटै घरमा खानेपानीको सुविधा पुगेको दाबी गर्नुभयो । धारा व्यवस्थापन हुन बाँकि केहि घरमा वडा कार्यालयले धारा समेत बनाईदिएको उहाँको भनाई रहेको छ । यसका साथै वडाका विभिन्न स्थानहरुमा पानी रिजर्भ गर्न ट्याङकी निर्माण भईरहेका छन् ।

वडाको खर्सुपानी मूल संरक्षण गरेर बगीरहेको पानी व्यवस्थापन गरेको वडा कार्यालयले जनाएको छ । उक्त मूल संरक्षण गरेर ४८ हजार लिटर क्षमताको पानी ट्याङकी निर्माण गरिएको छ । त्यसैगरी होलटाकुरी टोलमा पनि ३० हजार लिटर क्षमताको अर्को ट्याङकी निर्माण भैरहेको छ ।

आपतकालिन अवस्थामा पानीको प्रयोग गर्न रिजर्भ ट्याङकी बनाईएको वडाध्यक्ष खड्काले जनाउनुभयो । त्यसैगरी दुई लाख ६० हजार लिटर पानी अट्ने तीन वटा इन्टेक पनि निर्माणधिन अवस्थामा रहेका छन् । कृषि विकास कार्यालय र खानेपानी, सिँचाई तथा उर्जा विकास कार्यालयको सहयोगमा निर्माण भईरहेको भेरिखोला चुनथाम लिफ्ट सिँचाई आयोजना मार्फत उक्त काम भईरहेको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्