'लोकस्टार' बलारामलाई गृह जिल्लामा स्वागत

२०८० वैशाख २३

रुकुम पश्चिम / ‘हिमालय लोकस्टार सिजन –२’ को उपाधी विजेता बलराम विश्वकर्मालाई गृह जिल्ला रुकुम पश्चिममा स्वागत तथा सम्मान गरिएको छ । शनिबार जिल्ला आएको अवसरमा विश्वकर्मालाई स्वागत तथा सम्मान गरिएको हो ।

सानीभेरी गाउँपालिका –३ निवासी विश्वकर्मालाई गृहपालिका सानीभेरी गाउँपालिकामा स्वागत तथा सम्मान गरिएको हो । पूर्व अर्थमन्त्री एवम् प्रतिनिधी सभा सदस्य जनार्दन शर्मा, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट लगायतले स्वागत तथा सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा पूर्वमन्त्री शर्माले कलाकारहरु राष्ट्रको गहना भएको उल्लेख गर्नुभयो । बलराम रुकुमको मात्र नभएर सिङगो देशको गहना भएर उदाएको बताउँनुहुँदै शर्माले यस्ता सिर्जनाहरु निरन्तर उदाउनुपर्ने जनाउनुभयो । गीत, सङगीत र कलाको संरक्षण गर्नु सरकारको दायीत्व भएको समेत पूर्वमन्त्री शर्माले बताउनुभयो ।

कार्यक्रममा लोकस्टार विजेता विश्वकर्माले आफूले उपाधीको विजेता हुनुमा जिल्लावासीको ठुलो साथ र सपोर्ट रहेको बताउनुभयो । सम्मानपछि उहाँले आफूलाई निरन्तर साङ्गीतिक क्षेत्रमा लाग्न थप उर्जा र प्रेरणा मिलेको समेत जनाउनुभयो । साङ्गीतिक क्षेत्रबाट समाज, जिल्ला र देशको नाम राख्न निरन्तर लागिपर्ने विश्वकर्माले प्रतिबद्धता जनाउनुभयो ।

गत वैशाख १३ गते सम्पन्न साङ्गीतिक रियालिटी शो हिमालय लोकस्टारमा उपाधी जित्नुभएको थियो । शीर्ष पाँच प्रतियोगिलाई पछि पार्दै विजेता बन्नुभएका विश्वकर्माले १५ लाख रुपियाँको पुरस्कार र सात लाखको जीवन बीमा हात पार्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्