Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पितिबाङ खोलाको पुल छिटो सम्पन्न गर्न पूर्वमन्त्री शर्माको निर्देशन

ठेक्का अलपत्र हुँदा विकास निर्माण हुन सकेन
२०८० वैशाख २४
tribeni2

रुकुम पश्चिम / पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ११ र १२ जोड्ने निर्माणाधिन मोटरेबल पितिबाङ पुल तत्काल निर्माण सम्पन्न गर्न निर्देशन गर्नुभएको छ ।

पुल निर्माणस्थलमा सरोकारवालाहरु सहित पुग्नुभएका शर्माले पुल निर्माणको काम अलपत्र हुँदा जनाताले दुख पाईरहेकोले अब बर्षाअघि नै काम सक्न निर्माण कम्पनीलाई निर्देशन गर्नुभयो ।

अनुगमनका क्रममा मूर्वमन्त्री शर्माले विकास निर्माणका काम पेटिठेक्कामा दिनु गलत भएको उल्लेख गर्नुभयो । उहाँले मुख्य ठेकेदारले भित्रभित्रै पेटिठेक्का दिदा समयमै काम सम्पन्न हुन नसकेको बताउनुभयो । शर्माले कमिशनको नाममा पेटिठेक्का दिने चलनले विकास निर्माणका काममा ढिलाई भएको जनाउनुभयो । “समयमै काम पनि हुँदैन, योजनाहरु अलपत्र हुन्छन्,” उहाँले भन्नुभयो, “निर्माण कम्पनीहरुले समयमै काम सम्पन्न गर्न नसक्दा विकासको काममा अवरोध आएको छ ।”

अलपत्र परेका योजनाहरुमा आफूले प्राथमिकताका साथ चासो दिएको बताउँनुहुँदै पूर्वमन्त्री शर्माले जिम्मेवार कार्यालय र निर्माण व्यवसायीलाई घच्घच्याउने काम भैरहेको जनाउनुभयो ।

पितिबाङ पुलको निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनमा प्रमुख केशव लामिछानेलाई यस वर्ष पुलको काम पुरा नभएका चितवनमै गएर अनसन बस्ने चेतावनी समेत दिएको शर्माको भनाई रहेको छ । अलपत्र अवस्थामा रहेको पुल निर्माणस्थलमा ठेक्का दिने कार्यालय, निर्माण कम्पनी, प्रमुख जिल्ला अधिकारी, स्थानीय सरकारका प्रतिनिधी लगायतसँग छलफल गर्नुहुँदै शर्माले समयमै काम सम्पन्न गर्न र जनतालाई विकासको अनुभूति गराउन निर्देशन दिनुभयो ।

सडक डिभिजन कार्यालय चौरजहारीका ईन्जिनियर अविनाश अर्यालले संरक्षण निर्माण सेवाले पुल निर्माणको लागि २०७६ असार ८ गते सम्झौता गरेको जानकारी दिनुभयो । उहाँले २०७८ बैशाख ७ गते काम सक्नुपर्ने सम्झौता भएतापनि हालसम्म पुरा हुन नसकेको बताउनुभयो । २०७९ असारमा सम्पन्न हुने गरेर म्याद थप गरेतापनि उक्त म्याद गुज्रिसकेको छ ।

पाँच करोड २८ लाख रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता रहेकोमा हालसम्म १५ प्रतिशत मात्र बित्तिय प्रगति भएको ईन्जिनियर अर्यालले जनाउनुभयो । उहाँले निर्माण व्यवसायीलाई यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्न ताकेका गरिरहेको अन्यथा सम्झौता रद्ध गर्ने सार्वजनिक सूचना आह्वान गरिसकेको समेत जानकारी गराउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि लेकबिर घर्तीले आगामी असारभित्रै काम सक्नेगरी लागि परेको बताउनुभयो । एकातर्फको फाउन्डेशन तयार भैसकेको र अर्कोतर्फको फाउन्डेशन तयार हुँदै गरेकोले समयमै निर्माण सम्पन्न हुने विश्वास रहेको घर्तीको भनाई रहेको छ । उक्त स्थानमा पुल नबन्दा विशेषगरी वर्षायाममा सर्वसाधारणहरुले सास्ती पाउँने गरेका छन् ।

उक्त अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री गोपाल शर्मा, प्रदेश सभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्