Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सडक तातिएपछि मध्यपहाडीमा निस्कियो अलकत्रा, उत्रियो कालोपत्रे !

बालुवा छर्केर समस्या समाधान गरिदै
२०८० वैशाख २७
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका -३ खरखरे क्षेत्रको सडकबाट अलकत्रा निस्कन थालेको छ भने कालोपत्रे समेत उत्रिन थालेको छ ।

कालोपत्रे भएको चार महिनामै उत्रिन थालेको र सडक तातिएसँगै अलकत्रा बग्न थालेको स्थानीयले जानकारी दिएका छन् । राष्टिय गौरवको आयोजना रहेको मध्यपहाडी राजमार्ग अन्तर्गत पर्ने उक्त सडकमा गर्मी बढेसँगै अलकत्रा बग्न र कालोपत्रे उत्रिन थालेको हो । 

मुसिकोट नगरपालिका वडा नम्वर –३ का वडाध्यक्ष दशरथ केसीले गत एक महिना यता सडकबाट अलकत्रा निस्कन थालेको र कालोपत्रे समेत उत्रिन थालेको बताउनुभयो । उहाँले कालोपत्रेको गुणस्तर माथी प्रश्न चिन्ह उठेको भन्दै कालोपत्रेको गुणस्तरको मापदण्ड सार्वजनिक हुनुपर्नेमा जोड दिनुभयो ।

सडकका विभिन्न क्षेत्रमा निस्किएको अलकत्राको कारण दिनहुँ आवातजावत गर्ने सवारी साधनहरु दुर्घटनाको जोखिममा रहेको समेत वडाध्यक्ष केसीले उल्लेख गर्नुभयो । वडाध्यक्ष केसीका अनुसार सवारी साधनका टायर सडकमै जाम हुने भएकोले दुर्घटनाको थप जोखिम बढेको छ ।

मध्यपहाडि राजमार्ग योजना कार्यालय दैलेखका कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर युवराज पोखरेलले जाडो समयमा कालोपत्रे गरेको र अहिले गर्मीको कारण सडक तातिएर अलकत्रा निस्किएको बताउनुभयो । उहाँले अलकत्रा बढी परेको ठाउँमा यस्तो खालको समस्या आउने गरेको जनाउनुभयो । सरफेस ड्रेसिङ प्रकारको कालोपत्रे भएकोले एकलेयर अलकत्रामा गिठ्ठी हालेर कालोपत्रे गरिएको समेत पोखरेलले जानकारी दिनुभयो ।

ठेकेदार कम्पनीले अहिलेलाई अलकत्रा निस्किएको तथा बगेको ठाउँमा बालुवा वा मसिनो गिठ्ठी हालेर समस्या समाधान गरेको उहाँले बताउनुभयो । उक्त सडक क्षेत्र ठेकेदार कम्पनीबाट आयोजना कार्यालयलाई हस्तान्तरण नभएकोले निर्माण कम्पनीले नै मर्मतको काम गर्ने उहाँको भनाई रहेको छ ।

यस विषयमा उक्त सडकखण्डमा काम गरिरहेको यति विल्डर्स प्रा.लि.का भीमराज केसीले जाडो समयमा कालोपत्रे गर्ने क्रममा केहि ठाउँमा अलकत्रा बढी परेर अहिले बाहिर निस्किएको जनाउनुभयो । चिसोमा अलकत्रा नजम्ने डरले अलि बढी प्रयोग गरिएको तर अहिले सडक तातिएर अलकत्रा पोखिन थालेको उहाँको भनाई रहेको छ ।

उक्त क्षेत्रको करिब पाँच किलोमिटर सडक गत मङसिर महिनामा कालोपत्रे गरिएकोले केहि स्थानमा त्यस्तो समस्या आएको र अहिले बालुका राखेर समस्या समाधान गरिरहेको केसीले बताउनुभयो । अलकत्रा नबगोस् र सवारी साधनको टायरमा अलकत्रा नलागोस् भनेर बालुवा हालिएको हो ।

सडकखण्ड निर्माणकै क्रममा रहेको र एक वर्षसम्म हस्तान्तरण नहुने भएकोले पूर्ण रुपमा दुरुस्त बनाएर मात्र हस्तान्तरण गरिने उहाँले जनाउनुभयो । आयोजना कार्यालयसँगको सम्झौता अवधि सक्किनु अघि नै काम सम्पन्न गर्नुपर्ने भएकोले जाडोयाममै कालोपत्रे गर्नुपरेको कम्पनीले जनाएको छ ।

जाडो बाहेकको समयमा अन्य स्थानमा गरिएको कालोपत्रे भने दुरुस्त रहेको केसीले उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्