Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका २७ प्रहरी युनिटमा ‘नागरिक सहजकर्ता’

सेवा प्रवाहमा नमूनायोग्य कामको सुरुवात : नगरप्रमुख केसी
२०८० वैशाख ३१
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सबै प्रहरी चौकीहरुमा एक साथ नागरिक सहजकर्ता परिचालन गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालयमा नागरिक सहजकर्ता व्यवस्थापन कार्यक्रमको शुभारम्भ गर्दै प्रहरीले जिल्लाका सबै प्रहरी युनिटमा नागरिक सहजकर्ता परिचालन गरेको जनाएको हो ।

जिल्लाभरका २७ प्रहरी इकाईमा रहेका नागरिक सहायता कक्षको व्यवस्था गर्नुका साथै उक्त कक्षमा सहजकर्ताको परिचालन गरेको प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) नमराज भट्टराईले कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरुवात गरेको सुरक्षित कर्णाली बिशेष अभियान अन्तर्गत जिल्लामा नागरिक सहजकर्ता परिचालन गरेको जानकारी दिनुभयो ।

डिएसपी भट्टराईले आफ्नो काम वा सुरक्षा समस्या लिएर प्रहरी कार्यालय आउने नागरिकलाई बिचौलिएको सहयोगबिनै छिटो, छरितो र प्रभावकारी सेवा दिने उद्धेश्यका साथ यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले प्रहरी सेवा झन् सरल र सहज बनाउने मनसायले साथ एक साथ जिल्लाभरका प्रहरी युनिटमा सहजकर्ता परिचालन गरिएको जनाउनुभयो ।

सेवा प्रवाहमा नमूनायोग्य कामको सुरुवात : नगर प्रमुख केसी

कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले अन्य कार्यालयहरुले समेत सिक्न लायक काम प्रहरी कार्यालयबाट सुरुवात भएको बताउनुभयो । उहाँले यस कार्यले नागरिकमैत्री प्रहरी सेवा हुने र सुरक्षा तथा न्यायको अनूभुति गराउन थप मदत पुग्ने उल्लेख गर्नुभयो ।

नगर प्रमुख केसीले यस कार्यले प्रहरी र नागरिक बिचको सामिप्यता, विश्वास, भरोसा र सम्बन्ध थप प्रगाढ बनाउने विश्वास लिईएको समेत जनाउनुभयो ।

प्रहरी कार्यालयका अनुसार नागरिक सहायता कक्षमा कार्यरत प्रहरीलाई सहजकर्ताको रुपमा खटाईएको छ । त्यसका लागि सहजकर्तालाई बिशेष अनुशिक्षणको व्यवस्था गरिएको छ ।

प्रहरी गेटमा उभिने सेन्ट्रि प्रहरीले नागरिक सहजकर्तासम्म सेवाग्राहिलाई लिने र सहजकर्ताले अन्य आवश्यक कार्यमा सघाउ पु¥याउने बताईएको छ । सहजकर्ताले हरेक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काम गर्नेछन् ।

सहजकर्ताले सेवाग्राहिलाई नमस्कार तथा स्वागत गर्ने, बिनम्रताका साथ समस्याको सोधनी गर्ने, समस्याको बारेमा सम्बन्धित फाँट, कर्मचारी वा प्रमुख समक्ष समन्वय गरिदिने, सेवा प्रदान गरेको नागरिकको अभिलेख राख्ने, नम्र बोली, वचन र व्यवहारका साथ सेवाग्राहि समक्ष प्रस्तुत हुने गरी अनुशिक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुयभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र अन्तर्गत रहेका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरुमा नागरिक सहजकर्ता कार्यक्रम सुरुवात गरिएको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्