Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गाउँमै सस्तो पसल सुरु, बहुउपयोगी बनाएर थप सेवा दिईने

सस्तो पसलबाट धुम्रपान र मद्यपानजन्य सामान बेच्न नपाईने
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१० मा सस्तो पसल सञ्चालन गरिएको छ । वडा कार्यालयको पहलमा स्थानीय छबि बहुउद्धेश्यीय सहकारी संस्थाले गाउँमै सस्तो पसल सञ्चालनमा ल्याएको हो ।

गाउँमै सुलभ मूल्यमा दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने उद्धेश्यका साथ सस्तो पसल सञ्चालन गरिएको सहकारीले जनाएको छ ।

सस्तो पसल उद्घाटन कार्यक्रममा वडाध्यक्ष धनबहादुर खड्काले वडाका करिब चार सय घरधुरीले सस्तो पसलबाट फाईदा लिन सक्ने बताउनुभयो । बजार मूल्य भन्दा गाउँमा सस्तो मूल्यमा सामाग्री पाउँदा गाउँवासीलाई फाईदा हुने उहाँको भनाई रहेको छ ।

सस्तो पसललाई बहुउपयोगी बनाउन सकिने समेत वडाध्यक्ष खड्काले उल्लेख गर्नुभयो । गाउँमा पैचो पसलको रुपमा पनि विकसित गर्न सकिने र उत्पादनलाई साटफेर गर्न पनि सकिने गरी सस्तो पसलले योजना बनाउन आवश्यक रहेको उहाँको भनाई रहेको छ ।

सामान ढुवानीका लागि गाउँसम्म आउने यातायातका साधानहरु रित्तै फर्कनु भन्दा गाउँका कृषि उत्पादनहरु ढुवानी गरेर पठाउनलाई सस्तो पसलले गाउँका उत्पादन संकलन गर्नतर्फ पहल गर्नुपर्ने उहाँले जनाउनुभयो । त्यसका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्न तयार रहेको बताईएको छ ।

गाउँका कृषकले लशुन, प्याज, फलफूल, टिमुर लगायतका उत्पादन दिएर कापि, कलम लगायत दैनिक उपभोग्य सामाग्री लिन सक्ने व्यवस्था गर्नुपर्ने वडाध्यक्ष खड्काले उल्लेख गर्नुभयो । अहिलेलाई वडा कार्यालयले बीउ पुँजिको रुपमा सहकारी मार्फत सस्तो पसललाई सहयोग गर्ने जनाएको छ ।

दुध संकलन केन्द्र सञ्चालनको लागि डि फ्रिज, क्यान लगायतका सामान तत्काल दिने र अन्य कार्यका लागि करिब डेढ लाख रकम सहयोग गरिने वडाध्यक्ष खड्काले बताउनुभयो ।

छबि बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष टेक बहादुर कठायतले गाउँवासीलाई सेवा दिने गरी सस्तो पसल सञ्चालन गरिएको बताउनुभयो । उहाँले अहिलेलाई सरकारीले तीन लाख र वडा कार्यालयले समेत लगानी गरेर सस्तो पसल सुरुवात गरेको जनाउनुभयो ।

अध्यक्ष कठायतले सस्तो पसलबाट दैनिक उपभोग्य सामाग्रीहरु (दाल, चामल, नुन, तेल, बेसार आदि) बजारको मूल्य भन्दा सस्तोमा बिक्रि गरिने बताउनुभयो । उहाँले सस्तो पसलबाट मदिरा, चुरोट, खैनी लगायतका धुम्रपान र मद्यपानजन्य सामाग्री भने बिक्रि नहुने जानकारी दिनुभयो ।

कृषि उपजको खरिद गरेर समेत अगाडि बढ्ने सहकारीले जनाएको छ । सस्तो पसललाई बहुउपयोगी बनाएर नमूना कार्य गरिने सहकारीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्