Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा, दुई महिनामा साँढे पाँच सयको उपचार

tribeni2

रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेबाट फिजियोथेरापी सेवा पाउँदा बिरामीहरु खुसी भएका छन् । जिल्लामै पहिलो पटक फिजियोथेरापी सेवा प्रवाह हुँदा हाडजोर्नी तथा नशाको समस्या बिरामीहरुलाई थेरापीको लागि फाईदा भएको छ ।

पहिलोपटक जिल्लामा सुरु गरेको थेरापी सेवा दिन दिनुहुँ बिरामीहरुको संख्या समेत बढीरहेको छ । स्वास्थ्य सेवा कार्यालयले फिजियोथेरापी सेवालाई प्राथमिकता दिएपछि उक्त सेवा सुरु भएको हो । अस्पतालमा हाडजोर्नी तथा नशा रोगको उपचार सेवा सुरु भएसँगै फिजियोथेरापी सेवा अत्यावश्यक रहेको थियो ।

मुसीकोट नगरपालिका –१ मठका अमृता बिकले जिल्लामै फिजियोथेरापी सेवा पाउँदा आफूलाई सहज भएको बताउनुभयो । ढाड र कम्मरको उपचारको लागि महिनामा दुई पटक दाङ वा नेपालगञ्ज जानैपर्ने बाध्यता रहेकोमा अब उक्त समस्या समाधान भएको उहाँको भनाई रहेको छ ।

जिल्ला बाहिर जानुपर्दा आर्थिक रुपमा ठुलो खर्च हुने र अन्य विभिन्न समस्या समेत हुने गरेको जनाउनुहँदै बिकले अचेल जिल्लामै नियमित उपचार सेवा पाईरहेको उल्लेख गर्नुभयो ।

जिल्लाको त्रिवेणी गाउँपालिका –४ का दिपेन्द्र खड्काले आफ्नो हाडजोर्नी सुन्निने समस्याको उपचार जिल्ला अस्पतालमै गरिरहेको बताउनुभयो । घुँडा र जोर्नी दुखाईको उपचारको लागि यसअघि जिल्ला बाहिर गएर उपचार गराईरहेका खड्काले गत चैत महिनादेखि भने जिल्ला अस्पताल आएर नियमित सेवा लिईरहनु भएको छ ।

स्वास्थ्य सेवा कार्यालयले जिल्ला अस्पतालमा गत चैत महिनादेखि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो । फिजियोथेरापिष्ट डा. अस्मिता श्रेष्ठले जिल्लामै पहिलो पटक सुरु भएको फिजियोथेरापी सेवा लिन दैनिक बिरामीहरुको संख्या बढीरहेको बताउनुभयो । दुई महिनामा साढे पाँच सय बिरामीले फिजियोथेरापी अर्थात भौतिकचिकित्सा सेवा लिएको उहाँले जानकारी दिनुभयो ।

फिजियोथेरापी सेवा सञ्चालमा आएपछि हाडजोर्नीको उपचारसंगै नसा सम्बन्धी समस्या भएका विरामीले पनि सेवा लिईरहेका छन् । डा. श्रेष्ठका अनुसार अहिले अस्पतालमा हाडजोर्नी सुन्निने, ढाड र घाँटीको दुखाई, हड्डि भाँचिएका, नशाको समस्या भएका बिरामीहरु दैनिक २० देखि २५ जनासम्म आउने गरेका छन् ।

नशा चुडिएको, खुम्चिएको, च्यापिएको र मासु च्यातिएका बिरामीहरुले समेत फिजियोथेरापी सेवा लिन आउने गरेका छन् । बढी मात्रामा हड्डि भाँचिएका, कम्मर तथा ढाडको दुखाई भएका र हाडजोर्नी सुन्निने समस्या भएका जेष्ठ नागरिकहरुले सेवा लिईरहेका छन् ।

जिल्ला अस्पतालमा विषेश प्राथमिकताका साथ फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. शुसिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा हाडजोर्नी तथा नशा रोगको उपचार सेवा सुरु भएसँगै फिजियोथेरापी सेवा अत्यावश्यक रहेकोले उक्त सेवा सुरु गरिएको हो ।

दैनिक करिब ३० जना बिरामीहरुलाई अर्थोपेडिक सेवा दिएतापनि फिजियोथेरापी सेवाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकोले जिल्लामै उक्त सेवा सुरु गरिएको डा. पोखरेलेको भनाई रहेको छ ।

अस्पतालको फिजियोथेरापी शाखामा फ्लोअप सेवाका लागि समेत बिरामीहरु आउने गरेका छन् । भौगोलिक दुरीको कारण अस्पतालसम्म बिरामीहरुको सहज पहुँच नभएकोले घरमै फिजियोथेरापी गर्नको लागि परामर्श समेत दिईने गरिएको छ । डा. श्रेष्ठले बोर्डमा लेखेर, फोटो तथा भिडियो खिच्ने व्यवस्था गरेर घरमै पनि फिजियोथेरापी गर्न बिरामीहरुलाई सिकाईरहेको बताउनुभयो ।

ग्रामिण क्षेत्रका बिरामीहरुको घरायसी व्यवहार तथा जिम्मेवारीको कारण दैनिकी परिवर्तन गर्न नसक्ने भएकोले उक्त सेवाको प्रभावकारीतामा चुनौती रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्