Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पढाईको माग गर्दै बिद्यालयमा ताला, नाराबाजी सहित शिक्षकको घर घेराउ

सहमतिपश्चात ताला खोलीयो
tribeni2

रुकुम पश्चिम / बिद्यालयमा नियमित पढाई नभएपछि रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१४ मा रहेको जनकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीहरुले आन्दोलन गरेका छन् ।

नियमित पठनपाठन नभएको भन्दै मंगलबार विद्यालयमा तालाबन्दी गरेर नाराबाजीसहित शिक्षकको घर समेत घेराउ गरेका छन् । शैक्षिक सत्र सुरुभएसँगै नियमित पठनपाठन नभएपछि बिद्यार्थीहरुले आन्दोलन गर्नुपरेको जनाएका छन् ।

बिद्यार्थीहरुले अभिभावक, व्यवस्थापन समिति, विद्यालय प्रशासन, स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन नाराबाजी सहित आन्दोलन गर्नुपरेकाे जनाएका छन्। बिद्यालयका सबै बिद्यार्थीहरु जम्मा भएर बिद्यालयबाट वडा कार्यालयसम्म नाराबाजी गरेको उनीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी बिद्यालय नजिकै घर भएर पनि नियमित पढाउन नआएका शिक्षक डिलाराम ओलीको घर समेत घेराउ गरेको बताईएको छ । बिद्यार्थीहरुले बिद्यालयमा घेराबार नभएको, खानेपानीको सुविधा नभएको, शौचालयको राम्रो व्यवस्था नभएको र भौतिक पूर्वाधारको समस्या रहेको समेत जनाएका छन् ।

यसैबिच बिद्यालयमा तालाबन्दी भएपछि मुसिकोट नगरपालिकाबाट पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले जनप्रतिनिधि, बिद्यार्थी, व्यवस्थापन समिति र विद्यालय प्रशासन बिचमा छलफल गरेको छ । बिद्यालयका प्रधानाध्यापक टेकबहादुर बिष्टले छलफल पश्चात लगाईएको ताला खोलिएको बताउनुभयो ।

बिद्यालयमा नियमित पठनपाठनको व्यवस्था मिलाउने, भौतिक पूर्वाधार तथा खानेपानी व्यवस्थापनको लागि नगरपालिकाले पहल गर्ने, शिक्षकले बिद्यालयमा मदिरा सेवन गरेर नआउने लगायतका सहमतिपश्चात ताला खोलिएको प्रधानाध्यपक बिष्ट जानकारी दिनुभयो ।

बाल विकास देखि आठ कक्षासम्म सञ्चालित यस विद्यालयमा कक्षा पाँच सम्मको पढाई हुनेगरेतापनि कक्षा ६, ७ र ८ को पढाई नियमित भएको थिएन । विद्यालयमा हाल तीन जना स्थायी दरबन्दीका, तीन जना नगर शिक्षक, एक जना राहत र एक जना बालविकास शिक्षक कार्यरत रहनुभएको छ । एक दरबन्दी रिक्त रहेको र एक जना राहत शिक्षक भर्नाको प्रक्रियामा रहेको प्रधानाध्यापक बिष्टले बताउनुभयो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बिद्यार्थीका जायज मागहरु तत्काल सम्बोधनका लागि निर्देशन गरिएको समेत बताउनुभयो । आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुका मागहरु सकारात्मक रहेकोले छलफल पश्चात समाधानउन्मुख भएको उहाँको भनाई रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्