Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १० को नमूनाबस्तीमा सात वर्षपछि सिंचाई

अलपत्र रहेको सिंचाई आयोजना वडा कार्यालयको पहलमा निर्माण
tribeni2

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिंचाई आयोजना हालै सम्पन्न भएको छ । २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमूनाबस्ती सिंचाई आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो ।

वडा कार्यालयको पहलकदमीको कारण उक्त आयोजना हाल सम्पन्न भएको हो । वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिंचाई आयोजना अत्यन्त मेहनतका साथ निर्माण सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिंचाई कार्यालय मार्फत सुरु गरिएको उक्त आयोजना बजेट अभावको कारण अलपत्र अवस्थामा रहेको थियो ।

स्थानीय तहको सुरुवातीसँगै उक्त योजना कुनै पनि कार्यालयको योजनामा समावेश हुन सकिरहेको थियो । यस वर्ष वडा कार्यालयले खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयसँग समन्वय गरेर बजेट प्राप्त भएपछि सम्पन्न भएको हो ।

पानीको ट्याङकी बन्दाबन्दैको अवस्थामा रहेको उक्त आयोजना हाल ३० लाख लगानीमा निर्माण सम्पन्न भएको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोले जानकारी दिनुभयो । केहि रकम लगानी भैसकेको अवस्थामा रहेको र आयोजना अलपत्रको कारण गाउँमा सिंचाई समस्या रहेकोले लगानी गरिएको कार्यालय प्रमुख महतोले उल्लेख गर्नुभयो ।

सिंचाई आयोजना निर्माणसँगै वडाका सुनारटोल, साउनेपानी र मानपुर बस्तीका ५६ घर प्रत्यक्ष लाभान्वित भएको वडा कार्यालयले जनाएको छ । आयोजना अन्तर्गत मुहानबाट ट्याङकीसम्म पानी ल्याएर घरघरमा पाईप लाईन पु¥याईएको छ ।

एक लाख ८९ हजार लिटर क्षमताको पानी ट्याङकी निर्माण गरिएको छ । त्यसैगरी ५६ वटै घरमा सिंचाईको लागि स्प्रिङकलर समेत वितरण गरिएको छ ।

स्थानीय ४५ बर्षिया कालि सुनारले सिंचाई आयोजना बनेपछि खेतीयोग्य जमिनमा आवश्यकता परेको बेलामा सिंचाई गर्न पाईने बताउनुभयो । पहिला वर्षेझरीको भरमा उक्त स्थानमा गहुँ र मकै खेती हुने गर्दथ्यो । सुनारले अब सिंचाई सुविधा पुगेकोले आलु, लसुन खेती पनि गर्ने जनाउनुभयो ।

यसका साथै करेसाबारीमा तरकारी उत्पादनका लागि पनि स्प्रिङकलर मार्फत सिंचाई गर्न सहज भएको उहाँको भनाई रहेको छ । नमूनाबस्तीका किसानहरु सिंचाई सुविधा पुगेसँगै खुसी भएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्