Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सञ्चार माध्याम जनताको अधिकार रक्षा गर्ने अघोषित सेना हुन् : प्रदेशसभा सदस्य केसी

रेडियो सानोभेरीको प्रशारण अब आफ्नै भवनबाट सुरु
tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेशसभा सदस्य महेन्द्र केसीले संचार जगत जनताको अधिकार रक्षा गर्ने अघोषित सेना भएको बताउनुभएको छ । आईतबार रुकुम पश्चिमको मुसिकोटमा रेडियो सानोभरी एफएमको गृह प्रवेश कार्यक्रममा बोल्नुहुँदै केसीले पत्रकारहरु पोशाकबिनाको सेना भएको उल्लेख गर्नुभयो ।

उहाँले जनअधिकारको वकालत गर्न र समाजलाई सूसुचित गर्न सञ्चार माध्यामले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताउनुभयो । गलत सूचना प्रवाहबाट जोगिएर तथ्य खबर प्रशारण गर्नु सञ्चार माध्यामको दायीत्व भएको जनाउँदै प्रदेश सभा सदस्य केसीले जनचेतना फैलाउन सञ्चारमाध्याम अग्रभागमा रहेको बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले समाजमा हुने हरेक खालका बिकृति बिरुद्ध सञ्चार क्षेत्रले अहम् भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले समाज रुपान्तरणको क्षेत्रमा मिडियाको भूमिका महत्वपूर्ण रहेकोले जनतालाई सहि, सत्य सूचना दिन आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मुलुकको परिवर्तनको लागि सञ्चार माध्यामको भूमिका प्रशंसनिय रहेको बताउनुभयो । उहाँले सरकारले मिडिया क्षेत्रलाई सहयोग गर्नुपर्ने र सञ्चार माध्यामको विकासमा सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

रेडियो सानोभेरी एफ.एम. ले आफ्नै भवनबाट प्रशारण सुरु गरेको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसीले स्थानीय सरकारको तर्फबाट मिडियासँग निरन्तर सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो ।

मुसिकोट नगरपालिका १ स्थित आफ्नै भवनबाट रेडियोले प्रशारण सुरु गरेको उक्त रेडियोले २०६४ सालबाट प्रशारण सुरु गरेको थियो । प्रशारणमा आएको १५ वर्षपछि आफ्नै भवन निर्माण गरेर प्रशारणलाई निरन्तरता दिएको हो ।

गृह प्रवेश कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक ध्रुव बिक्रम बुढाथोकीले भवन निर्माणको लागि प्राप्त भएको रकम र रेडियोको प्रशारण अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार हालसम्म भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट ९० लाख र खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयबाट चार लाख आठ हजार प्राप्त भएको छ ।

पाँच तले भवनको ईष्टिमेट तयार गरिएको भएतापनि बजेट अभावको कारण हाल दुई तला सम्म मात्रै भवन निर्माण गरिएको प्रबन्ध निर्देशक बुढाथोकीले जानकारी गराउनुभयो । रेडियो सानोभरी एफएम १००.८ र ८९.२ मेघाहर्जबाट प्रशारण हुँदै आएको छ ।

उक्त अवसरमा रेडियो सञ्चालक समितिका अध्यक्ष गोबिन्द रोकाले रेडियोलाई हालसम्म विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले निश्पक्ष रुपमा सूचना सञ्चारका क्षेत्रमा रेडियोले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्