Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आवास पाएको सात वर्षपछि आठबिसकोटको नमूना बस्तीमा धारा

१५ घरपरिवार रहेको बादी समुदायमा एक धारा
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९ राडिमा रहेको बादी समुदायको बस्तीमा खानेपानी सुविधा पुगेको छ । सरकारले सात बर्षपहिला एकिकृत नमूना बस्तीको रुपमा विकास गरेको उक्त समुदायमा सात बर्षपछि खानेपानीको सुविधा पुगेको हो ।

२०७३ सालमा सरकारले आवासविहिन बादी समुदायको लागि एकिकृत नमूना बस्ती निर्माण गरेको थियो । सरकारले १५ परिवारको लागि बासस्थान, शौचालयसँगै गाउँका बिचमा धारा बनाईएको थियो । उक्त धारामा सात वर्षपछि पानी आउन थालेको छ ।

नमूना बस्तीका १५ घरपरिवारले बासस्थान पाएको लामो समयपछि खानेपानीको सुविधा पाएको भन्दै खुशि व्यक्त गरेका छन् । ३१ वर्षिय पदम नेपालीले बस्तीको बिचमा खानेपानीको धारा आउँदा सबैजना मख्ख भएको बताउनुभयो । स्थानीय सरकारले बादी समुदायको मागलाई सम्बोधन गरेर आवास व्यवस्थापनसँगै खानेपानी सेवा दिएको उहाँले उल्लेख गर्नुभयो । नमूना बस्तीका बादी समुदायले यस अघि नजिकैको भेरी नदिबाट पानी बोकेर पीउने गरेका थिए ।

नमूना बस्तीकी हिरा बादीले घर नजिकै खानेपानीको धारा आएकोले दैनिकी सहज बनेको बताउनुभयो । भेरीको पानी बोकेर प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा अब बस्ती बिचमा धारामै पानी आउन थालेको बादीले जनाउनुभयो । बादीले भन्नुभयो, “आजभोली त नियमित घर नजिकैको धारामा पानी आउँछ, गाग्री बोकेर भेरीनदि जानुपर्दैन ।” धाराको पानी पीउनका साथै लत्ताकपडा धुन, नुहाउन र करेसाबारीमा समेत प्रगोग गरिरहेको उहाँको भनाई रहेको छ ।

चाडपर्व, महामारी र आपतको बेलामा स्थानीय सरकारले बादी समुदायमा सहयोग गर्ने गरेको यहाँका स्थानीयले जनाएका छन् ।

आठबिसकोट नगरपालिका वडा नम्वर ९ का वडा सदस्य नवराज मल्लले बादी समुदायका १५ घरको लागि एक वटा धारा निर्माण गरिएको बताउनुभयो । वडा कार्यालयमा नगरपालिकाबाट आएको खानेपानी योजनाको बजेट मध्य प्राथमिकताका साथ नमूना बस्तीमा धारा पु¥याईएको हो ।

वडा सदस्य मल्लले १४ लाख बजेटबाट १५ वटा नारा निर्माण गर्ने योजना रहेतापनि पानीको पर्याप्तता र स्थानीयले श्रमदान गरेर धारा बनाउने भएपछि वडाभर ३५ वटा धारा बनाईसकिएको जानकारी दिनुभयो । नमूना बस्तीमा रहेका बादी समुदायमा यस अघि खानेपानीको सुविधा नहुँदा भेरीनदि र अन्य स्थानीयका घरमा जोडिएका धाराको पानी मागेर प्रयोग गर्दै आएको वडा सदस्य मल्लले जनाउनुभयो ।

आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले एकिकृत बस्तीमा घेराबार र घरघरमा खानेपानीका फिल्टरहरु माग हुने गरेकोले अब ती मागहरु सम्बोधन गरिने बताउनुभयो । सरकारले पछाडि पारिएका समुदायको सशक्तिकरणका लागि बिभिन्न खालका योजनाहरु पनि अघि सारिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

बादी समुदायका अगुवाहरुले निशुल्क स्वास्थ्य सेवा र गुणस्तरिय शिक्षाको लागि स्थानीय सरकारको सहयोगको अपेक्षा गरेको जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्