Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

७० लाखमा खनिएको सडक सुचारु नभई बन्द हुने अवस्थामा

२०८० जेठ १०
tribeni2

रुकुम पश्चिम / स्थानीय जनताको सहजताको लागि सरकारले ७० लाख बजेट खर्च गरेर बनाएको रुकुमका दुइ सडक सञ्चालनमा नआउँदै बन्द हुने अवस्थामा पुगेका छन् ।

जिल्लाको चौरजहारी नगरपालिका १४ को वडा कार्यालय देखि लामाडाँडा हुँदै पाथिहाल्न - तिमीले जोड्ने सडक निर्माण भएतापनि सुचारु नभइ बन्द हुने भएको छ ।

सडक गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको थियो भने त्यसपछि वर्षामाम सुरु भएको थियो । वर्षाको कारण बिग्रेको उक्त सडक हालसम्म मर्मत नुहँदा सञ्चालनमा आउन नसकेको हो ।

गत वर्षको स्थानीय निर्वाचनमा चुनावी नाराको रुपमा अघि सारिएको उक्त सडक मर्मत नहुँदा स्थानीयले समस्या हुने गरेको बताएका छन् । स्थानीय बिरबहादुर ओलीले वर्षा सकिएपछि सडक सुचारु होला र घरनजिकै यातायात सुविधा लिन पाईएला भनेर गरेको आशा पुरा हुन नसकेको बताउनुभयो ।

उक्त सडक मर्मत भएमा वडा कार्यालय तथा नगरपालिका कार्यालय जानलाई यातायातका साधनहरु चलाउन सजिलो हुने उहाँको भनाई छ । ओलीले निर्माण सम्पन्न भएको सडक अघिल्लो वर्षको वर्षाले बिगारेको र मर्मत हुन नपाउँदे फेरि बर्षा सुरु हुन थालेको जनाउनुभयो ।

पटक पटक वडा र नगरपालिकाको कार्यालयमा कुरा राख्दा पनि बजेट नभएको भन्दै पन्छिने गरेको स्थानीयको गुनासो रहेको छ । वडा कार्यालय र नगरपालिका कार्यालय जोड्ने सडक सुचारु गर्न सरकारसँग आग्रह गर्दा पनि सुनुवाई नभएको बताईएको छ ।

सडक मर्मत नहुँदा वडा कार्यालयमा जाने सर्वसाधारणहरु एक घण्टा लामो बाटो तिमीले-पाथिहाल्न-लिउरेवारी-नुवाकोटडाँडा-नाउली - बिचकटिया हुँदै जानुपर्ने बाध्यता रहेको छ ।

गत बर्षको असारमा कर्णाली प्रदेश सरकार र चौरजहारी नगरपालिकाको साझेदारीमा करिब ७० लाख बजेटको लगानीमा उक्त सडक बनाईएको थियो । निर्माण पश्चात यातायातका साधनहरु सञ्चालन हुन नपाउँदै बर्षाको कारण अवरुद्ध भएको थियो ।

वडा अध्यक्ष थलबहादुर कँवरले वडामा बजेट नभएको र नगरपालिकामा माग गर्दा पनि बजेट नपाईएको बताउनुभयो ।

त्यसैगरी चौरजहारी नगरपालिका १३ को लम्फाकोट - टिलोहाल्न - घुघुती हुँदै पाथिहाल्न - लम्फाकोट - टिलोहाल्न - सगुननेरीसम्मको सडक पनि निर्माण भएको तर मर्मत नहुदा सुचारु भएको छैन । गत वर्ष निर्माण गरेका यी दुई सडक बर्षात पछि मर्मत नहुँदा सुचारु नभएका हुन् । 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्