Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
बाढी पहिरो

बर्षाको वितण्डाः १८ जनाको मृत्यु कैयाै‌ं बेपत्ता

काठमाडौं २७ असार ।
tribeni2

केहि दिनदेखीको वर्षाका कारण बाढी र पहिरोमा परि १८ जनाको मृत्यु भएको छ । पहिरो, बाढी तथा डुवानले जनजीवन अस्तव्यस्त भएको छ । बर्षापछि काठमाडौँको मुलापानीस्थित बाबा चोकमा पर्खालले च्याँपेर बाराकी ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया मिनु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको छ । यी तीनै जना एकै परिवारका हुन् । खोटाङको खोटेहाङ गाउँपालिका–२ मा वाप्लुखा बाघपच्याङका विष्णु राईको घर पुरिँदा उनकी श्रीमती रेखा राई र दुई नावालक छोराको मृत्यु भएको छ । काभ्रेको बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको मृत्यु भएको छ । रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ ।


भोजपुरमा पानीको भेल घरभित्र पस्दा रामप्रसाद राई गाउँपालिका– ७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ । ललितपुरको बागमती गाउँपालिका–२ माल्टा बगुवामा पन्चलाल जिम्बाको घरमाथिको ढिस्को भत्किएर पुरीदाँ उनका १३ वर्षिय छोरा सरोज जिम्बाको मृत्यू भएको छ । रौतहटको लाल बकैया खोलामा मोटरसाइकलसहित डुब्दा इशनाथ नगरपालिका ३ औरैयाका ३५ वर्षीय रामपुकार पटेलको मृत्यु भएको छ । यसैगरी, सिन्धुलीको फिक्कल गाँउपालिकामा पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ दम्कीबाट महाभिर खोला तर्ने क्रममा बाढिले बगाउँदा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षीया सञ्चना बलामीको मृत्यु भएको छ । यसैगरी पर्साको पर्सागढी नगरपालिका १ का १० वर्षिय निखिल पटेलको सिंग्याइ खोलाले बगाउँदा मृत्यु भएको छ । यस्तै धादिङ र ओखलढुंगामा एक–एक जनाको मृत्यु भएको छ । झापामा एक नाबालीका सहित २ जनालाई खोलाले बगाएको छ ।


बाढी र पहिलोमा ८ जना बेपत्ता भएका छन् । पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, महोत्तरी, रौतहट र काठमाडौंमा १÷१ जना बेपत्ता भएका छन् । उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै बाढी र पहिरोमा परि खोटाङ, रामेछाप, मकवानपुर, धादिङ दोलखामा एक–एक र काभ्रेमा दुई जना गरि ७ जना घाईते भएका छन् । अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका मध्ये र पुर्वि पहाडी भेगका विभिन्न स्थानमा बाढि र पहिरोले जनधनको क्षती पुर्याएको छ । जसमध्ये प्रदेश तीनका पहाडी जिल्ला सबैभन्दा बढि प्रभावित भएका छन् ।

अबिरल बर्षाले तराई क्षेत्र पनि नराम्ररी प्रभावित बनेको छ । तराईमा बाढी र डुबानका कारण जनधनको क्षती भएको छ भने बर्षा प्रभावितले राहत र उद्धार नपाएको गुनासो गरेका छन् ।

लगातारको बर्षाकाकारण सबैभन्दा बढी प्रदेश २ का ८ जिल्ला प्रभावित भएका छन् । धनुषामा प्रदेश सभा कार्यालय र जिल्ला अस्पताल डुबाएको छ । सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकाम रमिर्चैया बजारमा पानी जमेको छ । ५० घर दलीत बस्ती डुबानमा परेका छन् । रौतहटमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । रौतहटको बागमती नदीको बगरमा गाइभैसी चराउन गएका १७ जना गोठाला नदीमा फसेका थिए । भारतीय पक्षले दशगजा सीमानाकामा ठूलो बाँध बनाएपछि सदरमुकाम गौर लगायतका गाउँहरु डुबानमा परेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

महोत्तरी, सर्लाही, बारा र पर्साका सयौं घर डुबानमा परेका छन् । बाग्मती नदी कमला नदी र स्थानीय खोलामा सर्वसाधारण फसेका छन् । मान्छे बगाएको छ । स्थानीयले राहत र उद्धार समयमै हुन नसकेको गुनासो गरेका छन् ।

प्रदेश २ सरकारले भने राहत र उद्धारकालागितयारी अवस्थामा रहेको दावि गरेको छ । प्रदेश १ कामोरङ सुरसरी र झापामध्ये मोरङ र सुनसरीमा बाढीले वितन्डा मच्चाएको छ । मोरङमा बाढीले मोरङमा ४ सय ७० घर परिवारका झण्डै दुई हजार मानिस विस्थापित भएका छन् । प्रशासन कार्यालयले उद्धार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षितस्थानमा लैजाने काम भइरहेको जनाएको छ । बक्राहा, लोहन्द्रा, सिंघीया र केसलीयाखोलामापानीको बहाब बढेकाले१७ वटै स्थानीयतहरुलाई सचेत गराईएको छ । स्थानीयले बाढीले खानबस्न समस्या भएको बताएका छन् ।

सुनसरी–मोरङ औद्योगिक करिडर क्षेत्रका एक दर्जनबढी उद्योग डुबानमा परेका छन् । सुनसरीको इटहरी, खनार, दुहवी, झुम्का, इनरुवा, देवानगन्ज, भुटाहा, हरिनगर लगायतका स्थान जलमग्न भएका छन्। झापाका विभिन्न स्थान डुबानमा परेका छन् । प्रदेश सरकारले बाढी सम्भावित क्षेत्रमा राहत र उद्धारकालागि सम्पुर्ण रुपमा तयार भएको जनाएको छ । चितवनको नारायणी र राप्ती नदीमा बहाब बढेपछि सर्तकता अपनाउनहाई अलर्ट सुचना जारी गरिएको छ ।

यसैवीच जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिन देशैभर निरन्तर बर्षा भईरहने जनाएको छ । महाशाखाले आगामी ३ दिनको मौसम विश्लेषण सम्बन्धी विषेश बुलेटिन जारी गर्दै तीन दिनसम्म मनसुन अति सक्रिय भइरहने र अधिकांश स्थानमा भारी बर्षा हुने जनाएको हो । भोलीदेखी देशको पश्चिम भेगमा पनि भारी बर्षा हुने महाशाखाका मौसमवीद् मिनकुमार अर्यालले बताए । निरन्तरको वर्षाले देशका मुख्य नदीमा पानीको बहाव बढ्ने खतरा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ । बागमती, कमला, कन्काई र कोशी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन भनिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् । गृहमन्त्री रामबहादुर थापाले बाढी र पहिरोका पीडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  २२:०७
प्रतिक्रिया दिनुहोस्