Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १३ का ९५ प्रतिशत घरपरिवार बिद्युत सेवाको पहुँचमा

tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ का सबै घरमा बिद्युत सेवाको सुविधा पुगेको छ । शुक्रबार वडा कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो ।

संघीयतापछिको दोश्रो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको एक वर्षको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गर्ने क्रममा उक्त कुराको जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष खल बहादुर खड्काले एक वर्षको अवधिमा सम्पन्न भएका र आगामी वर्ष प्राथमिकतामा रहेका योजनाहरुको विवरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँले यस अवधिमा प्रशासनिक रुपले एक हजार २०२ जनालाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गरिएको बताउनुभयो । एक वर्षमा २१ पटक वडा समितिको बैठक सम्पन्न भएको, ८९ वटा नागरिकता सिफारिस र ३५ वटा नाता प्रमाणित गरिएको वडाध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।

त्यसैगरी ४० वटा चारकिल्ला प्रमाणित तथा घरबाटो सिफारिस, अंग्रेजिमा १४ वटा सिफारिस र एक हजार २४ वटा अन्य सिफारिस गरिएको छ । वडाले मालपोत र सम्पती कर वापत ८१ हजार ३१५ र प्रशासनिक तथा सेवा शुल्क वापत दुई लाख २२ हजार ८१० गरेर जम्मा तीन लाख चार हजार १२५ राजश्व संकलन गरेको छ ।

वडा कार्यालयले मुसिकोट नगरपालिका, कर्णाली प्रदेश र संघीय सरकारको साझेदारीमा विभिन्न योजनाहरु सम्पन्न गरेको छ । खरको छाना मुक्त गर्ने अभियान अन्तर्गत सुरक्षित आवास कार्यक्रमतर्फ १३ वटा घरको छाना जस्तापाताको बनाईएको छ भने विपन्न, असाहय बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

वडामा एक घर एक धारा अन्तर्गत खानेपानी अभियान निरन्तरता दिईएको छ भने वडा भित्रमा साना सिंचाई, घट्टेखोला साधनचौर आरसिसि निर्माण सम्पन्न भएको छ ।

वडा भित्रका किसानलाई प्रोत्साहनका लागि अनुदानमा आधारित कार्यक्रमबाट सहयोग गरिएको छ भने वडाभित्रका ९५ प्रतिशत घरमा बिद्युतको पहुँच पुगेको छ । असल आमा सुत्केरी प्रोत्साहन कार्यक्रमतर्फ एक हजारका दरले १७ जना सुत्केरीलाई सहयोग गरिएको छ भने महिला स्वयम् सेविकाहरुलाई मासिक पाँच सयका दरले प्रोत्साहन भत्ता उपलब्ध गराईएको छ ।

यस अघि भाडाको घरमा सञ्चालन हुँदै आएको वडा कार्यालयले हाल आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गरिरहेको छ । 

वडा अध्यक्ष खलबहादुर खड्काको अध्यक्षमा भएको उक्त कार्यक्रम वडा सचिव जयमति बिष्टले सञ्चालन गर्नुभएको थियो भने वडा सदस्य ललिता सिर्पालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसी, महेन्द्र माविका प्राचार्य झलक पुन, वडा सदस्यहरु गोपालसिं केसी र बिरबहादुर रोका, पत्रकारहरु, सुरक्षाकर्मी र स्थानीयवासीको उपस्थिति रहेको थियो । सहभागीहरुले वडा सरकारले गरेका कामहरुको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्