नुवाकोटमा अन्तरपालिका स्तरिय समन्वय बैठक, यस्ता छन् निर्णय

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका - ९ मा विभिन्न चारवटा स्थानीय तह बिच समन्वय बैठक सम्पन्न भएको छ ।

शनिबार त्रिवेणी गाउँपालिकाको हिमालय माबि नुवाकोटमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका र सल्यानको दार्मा गाउँपालिका बिच अन्तरपालिका समन्वय बैठक सम्पन्न गरिएको हो ।

विकास निर्माणका काम र साझा समस्याहरुको बारेमा छलफल गर्न अन्तरपालिका बैठक आयोजना गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकबाट विभिन्न चारवटा निर्णय गरिएको छ ।

झुल्नेटा - बागखोर - भेरिपोखरा - चोरबाटा - नुवाकोटडाँडाहुँदै सानिभेरी गाउँपालिका को वडा न ११ बाट सिम्लि जोड्ने ग्रामिण सडक स्तरोन्नती, जलेखर्क - बागखोर भेरिपोखरा - चोरबाटा - दुलाचौर - दार्माकोटहुँदै सिलिङ्गीसम्म जोड्ने ग्रामीण सडक स्तरोन्नती र नुवाकोटडाँडा - नाउली - साक्चाखाेला हुँदै खोलागाँउसम्मको ग्रामिण सडक स्तरोन्नतीको लागि कर्णाली प्रदेश सरकार समक्ष योजना माग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी अन्तरपालिका स्तरिय सद्भाव कायम राख्दै साझारुपमा पहल गर्नुपर्ने बिषयहरुलाई आगामी दिनमा पनि साझा रुपमा हल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले उल्लेख गर्नुभयो ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसीको अध्यक्षतामा बसेको समन्वय बैठकमा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, दार्मा गाउँपालिका ५ का वडाध्यक्ष सुदिप केसी, त्रिवेणी गाउँपालिकाका कार्यपालिका सदस्यहरु, स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्