रुकुम कारागारबाट पाँच जना कैदीबन्दी रिहा

रुकुम पश्चिम / गणतन्त्र दिवसको अवसरमा रुकुम कारागारबाट पाँच जना कैदीबन्दी रिहा गरिएको छ ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम पाँच जनालाई कैदमुक्त गरिएको रुकुम कारागारले जानकारी दिएको छ ।

कारागार कार्यालयका प्रमुख प्रवेश बढुवालका अनुसार कैदमुक्त भएका पाँच जनामध्ये बहुबिवाह मुद्धाका दुई जना, डाँकाचोरी मुद्धाका एक जना, कुटपिट अंगभंग मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका एक जनाले कैद जीवन बिताइरहेका थिए ।

मुद्दा नकारात्मक सुचीमा नपरेका, असल चालचलन भएका र ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका आधारमा उनीहरुको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा नामावली पठाइएको थियो । सोही आधारमा उनीहरुको कैद मिनाहा गरिएको हो ।

कैदमुक्त भएका उनीहरु बाँकी जीवन घर परिवार र समुदायको हितका लागि बिताउने प्रतिबद्धता गर्दै कारागारबाट बिदा भएको कारागार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २२:०५
प्रतिक्रिया दिनुहोस्