Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा पहिलो पटक ब्लड बैंक सञ्चालन हुँदै

tribeni2

रुकुम पश्चिममा पहिलो पटक ब्लड बैंक सञ्चालन हुने भएको छ । बिरामीहरुलाई रगतको सहज ब्यवस्थाका लागि जिल्लाको चौरजहारी नगरपालिका –१ नाखिरामा ब्लड बैंक सञ्चालनको अन्तिम तयारी गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी चौरजहारी उपशाखा, चौरजहारी अस्पताल र चौरजहारी नगरपालिकाको त्रिपक्षिय साझेदारीमा ब्लड बैंक संचालन गर्न थालिएको रेडक्रस चौरजहारीका सभापति तेजबहादुर बटालाले जानकारी दिनुभयो । रेडक्रसको आफनै भवनवाट उक्त सेवा संचालन गर्न लागिएको हो । त्यसका लागि भवन निर्माण र आवश्यक सामाग्री व्यवस्थापन भईसकेको छ ।

स्थानीय टिकाराम गिरीले भवन निर्माणको लागि जग्गादान गर्नुभएको छ भने चौरजहारी नगरपालिकाले आवश्यक सामाग्री खरिदमा सहयोग गरेको छ । सभापति बटालाका अनुसार ब्लड बैंक सञ्चालनको लागि विभिन्न व्यक्तिहरुबाट समेत सहयोगको प्रतिबद्धता भएको छ । अहिले सोलार सिस्टम जडानको काम अन्तिम अवस्थामा रहेको उहाँले उल्लेख गर्नुभयो ।

ब्लड वैंकमा हाललाई दुई सय पोका रगत स्टोर गर्न सकिने बताईएको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा ब्लड वैंक सञ्चालन गर्ने तयारी भएपनि सोलार जडानको काम नसकिएकाले असार पहिलो साता संचालनमा आउने उहाँको भनाई छ ।

जिल्लामा ब्लड बैंक नहुँदा रगतको अभाव हुने गरेको छ । अहिले जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल लगायतका अस्पतालमा बिरामीहरुको लागि आवश्यक पर्ने रगत जुटाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्यलाई गुहार्नुपर्ने अवस्था रहेको छ ।

ब्लड वैंक स्थापना गरी संचालनमा आएको खण्डमा अस्पतालमा प्रसुती हुन आउने रक्तअल्पताका गर्भवती महिला तथा अन्य बिरामीहरुलाई सहज हुने विश्वास लिईएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो । उहाँले रुकुमपश्चिम र छिमेकी जिल्लाहरुमा समेत ब्लड बैंक नभएकोले बेलाबेलामा समस्या हुने गरेको उल्लेख गर्नुभयो ।

रुकुम पश्चिम र छिमेकी जिल्ला सल्यान र जाजरकोटलाई केन्द्रित गरी चौरजहारीमा ब्लड बैंक स्थापनाको लागि विगत तीन वर्ष पहिले देखि प्रक्रिया अगाडी वढाईएको थियो । ब्लड बैंकको नियमित सञ्चालनको लागि चौरजहहारी अस्पतालले प्राविधिक सहयोग गर्ने जनाईएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्