Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

असार देखि भदौसम्म सडक खन्न नपाइने

tribeni2

काठमाडौँ / यस वर्ष पनि असार देखि भदौसम्म सडक खन्न नपाईने भएको छ ।

सडक विभागले विगतमा झैँ यस वर्ष पनि ‘असार १ गतदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने’ सूचना जारी गरेको छ। सो अवधिमा सडक विभागमातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले बिहिबार जारी गरेको सूचनामा जनाएको छ।

कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिने गरिए पनि सडक विभागले अहिलेसम्म कसैलाई कारबाही गर्न सकेको छैन। सडक विभागले विगत १० वर्षदेखि यसप्रकारको सूचना सार्वजनिक गर्दै आएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको स्पष्ट पार्नुभयो।

उहाँले सडक खन्न नदिने सडक विभागको सूचनालाई यो वर्ष कुनै पनि निकायले अटेर गरेमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

सडक नखन्न सार्वजनिक सूचना जारी गरिए पनि पाइप फुटेर वा लिक भएर अत्यावश्यक सेवाका रूपमा रहेको खानेपानी वितरणमै समस्या आउन सक्ने भएको अवस्थामा सम्बन्धित निकायले सडक विभागसँग अनुमति लिएर सडक खनी पाइपको मर्मत गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो।

त्यसै गरी सडकमा खानेपानी वा ढलको पाइप चुहिएको अवस्थामा त्यसको मर्मतसम्भार गर्न दिएन भने सडक झन् बिग्रन सक्ने भएकाले त्यस्तो अवस्थामा सम्बन्धित निकायले अनुमति लिएर सडक खन्न सक्ने उहाँको भनाइ छ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्