Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकारसँग २५ रुपैयाँ घुस मागेपछि .......

फणीन्द्र फुयाल ज्वाला
tribeni2

जापानमा बस्ने आफन्तका लागि हुलाकमार्फत् सामान पठाउन गत भदौमा काठमाडौँको सुन्धारास्थित गोश्वारा हुलाक कार्यालय पुगेको थिएँ ।भन्सार तिर्नुपर्ने रहेछ । भन्सार कार्यालय पनि हुलाककै हाताभित्रः एक के.जी सामानको एक हजार नौ सय रूपैयाँ तिरेँ र बिल काटेँ । सामानमा लाहा छाप हान्ने एकजना मोटो ज्यान भएका व्यक्ति छेउमा मैनबत्ति बालेर बसेका थिए । उनी सामान प्याकिङ गरेको पोकाको बाहिरी भागमा लाहा छाप हान्दै रु. २५ रूपैयाँ माग्दै थिए । मैले हेरिरहेको थिएँ, उनी सबैसँग लाहा छाप हान्दै पैसा माग्थे, अरुचाहिँ खुरुखुरु आज्ञाकारी भएर पैसा दिन्थे । केही समयमा मेरो सामानको पोकोमा लाहा छाप हान्ने बेला आयो । ती व्यक्तिले छाप मारे र मसँग पनि २५ रूपैयाँ मागे । मैले भनेँ, मलाई २५ रूपैयाँको बिल काटेर दिनुहोस् अनिमात्र पैसा दिन्छु नत्रभने भित्र गएर हाकिमसँग कुरा गर्छु । मलाई थाहा थियो– उनले पैसा आफूखुशी लिइरहेका थिए ।

मैले फेरि भनेँ, सामान जोखेर पठाएवापत लाग्ने दस्तुर १९ सयको बिल काटेको छु, फेरि २५ रूपैयाँ किन ? मलाई २५ रूपैयाँको बिल दिने भएमात्र पैसा दिन्छु नत्र यो तपाईले मसँग मागेको घुस हो, म दिन्न । उनी त्यसपछि अक्क न बक्क भए र एकैछिनमा तपाईको पैसा चाहिँदैन जानुस् भने । मैले वरिपरी बस्ने सबै सामान पठाउने मानिसहरूलाई यी भन्सारका कर्मचारीले घुस मागेका हुन् तपाइँहरू कसैले सामानको पोकोमा लाहा छाप लगाएको पैसा नदिनु, दिनै परे २५ रूपैयाँको बिल काटेर मात्र दिनु भनेँ । करिब एक घण्टासम्म उनको निगरानी गरिरहेँ । म बसुञ्जेल उनले अरु कसैसँग पैसा लिएनन् मात्र पोकोमा लाहा छाप लगाउँदै पठाउँदै गरिरहे । ती कर्मचारीसँग नाम सोधेँ र आफू पत्रकार भएको अवगत गराएँ । उनले आफ्नो नाम राम भएको बताए तर थर बताएनन् । छेवैमा रहेका अर्का कर्मचारीले रिसाएर भने, यो देशमा किलोका किलो सुन एयरपोर्टबाट ओसार्नेलाई केही गर्न नसक्ने, हामीले २५ रूपैयाँ लिएकोमा यत्रो विरोध ? उनको आशय थियो– कर्मचारीलाई थोरै रूपैयाँ लिनचाहिँ छुट हुनुपर्छ ।

त्यसपछि भन्सारको ३१ नं कोठामा पुगेर आफूले भोगेको कुरा त्यहाँको एक जना महिला कर्मचारी (सायद हाकिम) लाई सुनाएँ । उनीसँग ती कर्मचारीको पूरा नाम र वतन मागेँ तर उनले दिन चाहिनन् । नाम सोधेँ तर नाम पनि बताउन चाहिनन् । भन्सारका अन्य कर्मचारीसँग र हुलाकका कर्मचारी पनि मैलेती लाहा छाप लगाउने कर्मचारीको पूरा नाम, तह सबै सोधेँ तर कसैले थप जानकारी दिन चाहेनन् । तिनै कर्मचारी चार बजेपछि कार्यालय परिसरमै चुरोटको धुवाँ उडाउँदै बसिरहेका थिए । सायद उनको ‘मुड अफ’थियो त्यो दिन ।

लाग्थ्यो, सरकारी अड्डा र सार्वजनिक स्थानमा धुमपान गर्न पाइँदैन भन्ने कानूनलाई उनले चुरोटको धुवाँसँगै उडाइरहेका थिए ! मलाई एकोहोरो हेरिरहे, म भने उनलाई नदेखेझैँ गरी फटाफट बाहिरिएँ । एकजना महिला कर्मचारीले ती कर्मचारी रिटायर्ड हुनै लागेको र उनले गल्ती गरेको बताइन् अनि उनका बारेमा केही समाचार प्रकाशन नगरिदिन साँझ ०१४२४०९६४ नं. बाट कल गरिन् । पत्रकारिता के हो भन्ने विषयमा मलाई
सिकाउने कोसिस् पनि गरिन् । मैले उनलाई आफू यही पेशामा एक दशकभन्दा लामो समयदेखि सक्रिय रहेको र यही विषयमा एमए गरेको हुनाले मलाई धेरै नसिकाउन आग्रह गरेँ र फोन राखिदिएँ ।

मलाई यस्तो लाग्यो कि गोश्वारा हुलाक सुन्धाराको भन्सार र हुलाकका कर्मचारीको सेवाग्राहीसँग पैसा असुली गर्ने सेटिङ छ र त गलत कामका विरुद्ध कोही बोल्दैनन् । सूचना माग्दा पनि लुकाउँछन् ।

राष्ट्रिय सूचना आयोगका आयुक्तहरू देशभरका सरकारी कार्यालयका कर्मचारीलाई आफ्नो कार्यालयको सूचना प्रवाह गर्न तालिम, गोष्ठी र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै हिँडेका छन् तर यो कार्यालयका प्रमुख लगायतका कर्मचारीहरूलाई सूचना प्रवाह गर्न कसले सिकाउने ? सुशासन कायम गर्न कसले सिकाउने ? देशको प्रमुख राजधानीमै यस्तो खुलमखुल्ला घुस माग्ने प्रचलन र सूचना लुकाउने कुप्रथा छ भने हामी संघीय गणतान्त्रिक मुलुक र सरकारसँग कस्तो अपेक्षा गर्न सक्छौँ ?

(यो लेख प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिताको २०७५ चैत अ‌ंकमा प्रकाशित छ)

 

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १७:०८
प्रतिक्रिया दिनुहोस्