सोसल मिडिया
कखरा सिक्ने उमेरको बच्चा । बालगीत मन पराउने बेलामा उट्पट्याङ गीत रुचाउँछ । रेडियोले कतिबेला उट्पट्याङ गीत बजाउँछ भनेर कान थापी बस्छ । रेडियोको मिटर घुमाइरहन्छ । सीप नचले अभिभावकसँग फलानो गीत आउने रेडियो बजाइदिनु भनी रोइकराइ गर्छ । उसलाई रेडियोको नाम थाहा हुँदैन तर उट्पट्याङ गीतको छाप दिमागमा परिसकेको हुन्छ ।
एकजना साथीको जिल्ला सदरमुकाममा पाँचवटा सामुदायिक एफएम रेडियो छन् । तिनले बजाउने सामग्रीमा साना बच्चालाई परेको नकारात्मक छापले भावुक र चिन्तित भैदिन्छन् । ‘सामुदायिक रेडियो भनेका छन्, साथीहरूले के बजाउँछन् – बजाउँछन्,’ उनले भने । अस्ती गाउँ गएका बेला छिमेकी दिदीले आफ्नी छोरीको बारेमा मुख खोलिन् । कोठामा पढ्न बसेकी छोरी स्थानीय एक रेडियोमा बज्ने प्रेमकथा सुन्न व्यस्त हुन्छिन् । एकदिन कोठा सफा गर्ने क्रममा दुईपाना लामो कथा लेखेर रेडियोको ठेगानामा पठाउन ठिक्क पारेको पनि दिदीले भेटेकी रहिछन् । मध्य ‘टिन एज’की छोरीले यो बर्ष एसइइको परीक्षा दिइन् । छोरीले एसइइ परिक्षा लगत्तै ती दिदीले पीर गर्दै भनिन्, ‘छोरी पोइल गैहाल्ली भन्ने चिन्ता छ ।’
सञ्चार जगतमा छापा, रेडियो, टेलिभिजन हुँदै अनलाइनको फेजसम्म आइपुग्दा हाम्रा गाउँघरमा सर्वसुलभ र भरपर्दाे माध्यम भनेकै रेडियो भएको छ । जटिल भौगोलिक अवस्था र सर्वसुलभ यातायात सुविधा नभएका कारण पत्रपत्रिका दुर्गमतिर समयमा पुग्दैनन् । टेलिभिजन हेर्नका लागि बिजुलीको पहुँच छैन । अझै पनि विकटमा समुदाय कुपी र टुकीका भरमा रात कटाउन बाध्य छन् । अनलाइन समाचारका लागि इन्टरनेट पहुँच छैन । फोनमा कुरा गर्नकै लागि डाँडाकाँडा धाउनुपर्छ । तर रेडियोका लागि यति धेरै कष्ट व्यहोर्नुपर्दैन । स्थापना गर्न पनि अन्यको तुलनामा आर्थिक रूपमा केही सस्तो छ । गाउँघरमा पहुँचका हिसाबले लोकप्रिय मानिन्छ । रेडियोमा फुकेको जानकारी एकैचोटी थुप्रै ‘अडियन्स’सम्म पुग्छ । यसैले गर्दा हरेक जिल्लाका सदरमुकाम, बजारमा अझ शहरको त टोलैपिच्छे जस्तो रेडियो खोल्ने लहर नै चलेको छ । संख्या बढ्नु सकारात्मक पक्ष हो । देश संघीय संरचनामा गएको छ ।
हरेक स्थानीय तहलाई जवाफदेही बनाउने र प्रेस स्वतन्त्रताको पक्षमा बोल्ने मिडिया हाउस र सञ्चारकर्मीहरू बढिरहेका छन् । कुनैबेला शासक वर्गले मात्रै स्वार्थका लागि आफ्नो अनुकूल रेडियो प्रयोग गर्थे । अहिले विश्वभर आमनागरिकको पहुँचमा पुगेको छ । हाम्रोजस्तो विकासोन्मुख देशमा आमनागरिकमा सूचनाको पहुँच बढिरहेको छ । मनोरञ्जन दिएको छ । तर सूचना र मनोरञ्जन दिने बहानामा हामीले खोलेका सामुदायिक रेडियो समुदायको हितमा छन् कि छैनन् ? हामीले कस्ता सन्देश दिइरहेका छौँ ? माथिका दुई उदाहरणबाटै पनि थाहा पाउन सकिन्छ । सन् १८९५ मा इटालियन वैज्ञानिक मार्कोनीले बिनातार आवाज सम्प्रेषण गर्न सफल भएपछि रेडियोको विकास भएको हो ।
नेपालमा पद्ममशमशेरको पालामा वि. सं. २००४ बाट सर्वसाधारणले रेडियो बजाउन पाए । उनीहरूले घरमा रेडियो सेट राख्न लाइसेन्स लिनुपथ्र्यो । युरोप र अष्ट्रेलियाबाट रेडियो प्रसारण शुरु भएको एक शताब्दीपछि नेपालमा रेडियो बज्न थालेको मानिन्छ । २००७ साल चैत्र ७ मा विराटनगरबाट रेडियो नेपालले औपचारिक प्रसारण शुरु गरेको थियो ।
वि.सं. २०४७ सालको आन्दोलनपश्चात नागरिकलाई लेख्ने र बोल्ने स्वतन्त्रता प्राप्त भयो । पत्र÷पत्रिकाको प्रकाशन तीव्र भयो । वि. सं. २०४९ सालमा राष्ट्रिय सञ्चार नीति २०४९ जारी भयो । एफएम रेडियो सञ्चालन गर्न पाउने आधार भयो । वि.सं. २०५२ मा राष्ट्रिय प्रसारण नियमावली आयो । यही नीति तथा नियमावलीलाई टेकेर छापामाध्यमको तीव्र विकास भैरहेका बेला नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले नेपालमा एफ.एम. प्रविधिको रेडियो भित्र्याएको हो । वि.सं. २०५४ जेठ ९ मा रेडियो सगरमाथाले इजाजत लिएको थियो । जसलाई नीजी क्षेत्रबाट एफएम प्रणालीको रेडियो सेवा प्रारम्भ गर्ने पहिलो मानिन्छ । रेडियो सगरमाथा दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो पनि हो ।
सूचना तथा सञ्चार मन्त्रालयको पछिल्लो तथ्याँक हेर्ने हो भने इजाजतप्राप्त एफएम रेडियो ७ सय ४० छन् । तीमध्ये देशभर ३ सय २५ सामुदायिक रेडियो छन् । एक रेडियोमा औसत २० जना कर्मचारी छन् । दुईदशकको अन्तरालमा एफएम रेडियोको विकासको गति हेर्दा हामीहरू सूचना र मनोरञ्जनको पहुँचका हिसाबले कत्ति पनि पछि छैनौँ जस्तै लाग्छ । तर त्यो समुदायसम्म पु¥याउनुपर्ने पहुँचका बारेमा नियाल्ने हो भने जीब्रो टोक्नुपर्ने अवस्था छ । कुनै खास टोल, समुदाय, जिल्लालाई समेट्नका लागि खोलिएका सामुदायिक रेडियोहरूले बजाउने समाचार तथा मनोरञ्जनका सामग्रीहरू ती समुदायका नभएर कुनै राजनीतिक दल वा व्यापारीको स्वार्थमा प्रयोग भएका पाइन्छन् । गाउँका कृषकको कृषिकर्मलाई उजागर गर्नुपर्नेमा काठमाडौंमा राजनीति गरिबसेको ‘टुरिष्ट’ नेतालाई कार्यक्रममा बोलाएर घण्टौँ अन्तर्वार्ता लिने, समय बर्वाद पार्ने काम हुन्छन् । दुर्गममा सिटामोलको औषधि किन्नकै लागि घण्टौँ पैदल हिँड्नेका पीडा, सानो लगानीमा उत्पादनशील आयआर्जन गरिरहेका नागरिकका कुराहरू बाहिर ल्याउन खोलिएका रेडियोहरू कुनै नेताको बखान गाएर बसेका हुन्छन् ।
हाम्रो समाज राजनीतिक क्रान्ति पार गरेर आइसकेको छ । अबको आवश्यकता आर्थिक र सामाजिक क्रान्तिको हो । सामुदायिक रेडियोहरूले यस दिशातर्फ मार्गप्रशस्त गर्नुपर्नेमा राजनीतिक रवाफमा झुलिरहेको पाइन्छ । यसो हुनुका पछाडि राजनीतिक दलले स्वार्थ बस खोलेका, उनै सञ्चालक हुनुको कारण पनि हो । राजनीतिक दलहरूले समुदायको नाममा गरेको खेलवाडले गर्दा रेडियोहरू उद्देश्यविपरित सामग्री बजाउन बाध्य भएका छन् । दलहरू आफ्नो साख जोगाउनकै लागि आफू निकट पत्रकारसँग रेडियो खोल्ने मिसनमा जुटेका हुन्छन् । पत्रकारहरूले व्यवसायिक धर्म नै बिर्सेर कुनै दलको अन्धभक्त हुनु सबैभन्दा गलत छ । अर्कोकुरा च्याउसरी खोलिएका रेडियोमा जनशक्ति छन् तर दक्ष छैनन् । न उनीहरूलाई क्षमता विकासका लागि रेडियो सञ्चालकले ध्यान दिएका छन् । न त आफैँले इच्छाशक्ति देखाएका छन् । रेडियोमा काम गर्नेहरूले रेडियोमा बोल्ने दम्भ पालेकै कारणले पनि समुदायले चाहेका सामग्री बजाउन सकेका छैनन् । पछिल्लो समय पत्रकारहरूमा पढ्ने बानी ह्वात्तै घटेको छ । अझ रहर र लहडमा छिरेकाहरूको संख्याले पत्रकारितालाई नै फोहोर बनाइ रहेको छ । यो समस्या रेडियोहरूमा अधिक देखिन्छ ।
सामान्य लाग्ने तर रेडियोकर्मीहरूले ध्यान नदिँदा श्रोताको रोजाइमा पर्न सकेका छैन् । पूर्वको एक सामुदायिक रेडियोबाट ‘क्विज’ खेलाउने कार्यक्रममा सञ्चालकले अनेक अभिनय गरेर बोल्ने, रवाफिलो हाउभाउले गर्दा सुन्दै गरेको रेडियो बन्द गर्नु परेको थुप्रै श्रोताले सुनाउने गर्थे । ‘सामुदायिक रेडियो भनेको छ, जे पायो त्यही बोलेको छ, समुदायको लागि कलंकजस्तै लाग्छन्,’ थुप्रै श्र्रोताले सुनाउने गर्छन् । अनुशासन, इमान्दारिता, दक्षता यहीँनिर मेल खान पुग्छ । रेडियोको बढ्दो संख्या तर श्रोताको घट्दो रुची । सामुदायिक रेडियोहरूलाई साख जोगाउन सजिलो छैन । त्यसैले रेडियो र जनशक्तिको बृद्धिसँगै गुणस्तरमा पनि जोड दिनुपर्ने देखिन्छ । किनकि सामुदायिक रेडियो प्रत्यक्ष रूपमा समुदायसँग जोडिएको हुन्छ । समुदायका थुप्रै चाहना हुन्छन् रेडियोबाट । आफ्ना आवाज बुलन्द भएको सुन्न चाहन्छन् । परिवर्तन चाहन्छन् । जीवनशैली बदल्न चाहन्छन् । सामुदायिक रेडियोका नाममा उनीहरूका अपेक्षालाई कुल्चन पक्कै मिल्दैन ।
कतिपय यस्ता सामुदायिक रेडियो छन्– व्यापारी अथवा नेताले लगानी गरेका २४ घण्टा विज्ञापन र गीत बजाइदिन्छन् । विज्ञापन रेडियोको आम्दानीको स्रोत हो भन्दैमा लगातार बजाएर श्रोतालाई दिग्दार त पारिएको छैन ? सामुदायिक रेडियोहरूले सोच्नुपर्ने बेला भएको छ । कस्ता गीत बजाउँदा कुन उमेर समूहलाई कस्तो प्रभाव पारेको छ ? सधैँ गीत र विज्ञापन बजाएर रेडियो चल्छ ? रेडियो स्थापना गर्नुपूर्व तयारी नहुँदाका असरहरू हुन् यी ।
लगानी गरेर मात्रै सामुदायिक रेडियो हुँदैन । मिसन र भिजन दिने व्यक्ति छैन भने त्यो लगानी अभिषाप हुन्छ । आमनागरिकसँग हरक्षण जोडिने तर रेडियोले निभाउनुपर्ने संवेदनशील भूमिकाप्रति सचेत नहुने संख्या बढेकै कारण पत्रकारितामाथि प्रश्नचिह्न उठिरहेका छन् । रेडियोमा यस्ता अवस्थाहरू आइलाग्नुका पछाडि कारण छन् जसले रेडियोलाई समस्या र चुनौती थपिरहेको छ । रेडियोमा काम गर्ने कर्मचारीहरूको तलब नै मुख्य कारण हो । जब सामुदायिक रेडियोका सञ्चालकले कर्मचारीलाई पाल्न सक्दैनन्, न्युनतम तलब दिन सक्दैनन्, दक्ष कर्मचारी रेडियोमा बस्दैनन् । रेडियो चलाउनैपर्ने हुन्छ । सडकबाट टपक्क टिपेर ल्याएको कर्मचारीले रेडियोको स्तरवृद्धि गर्न सक्दैन । उसलाई क्षमताअनुसारको तालिमहरू दिनुपर्ने हुन्छ । यस कुरामा लगानीकर्ताहरू चुकेका छन् । लगानीकर्ताहरू चुकेको भए पनि कर्मचारीहरू संगठित भएर झकझक्याउने कोसिस गरेको पनि पाइँदैन । यसले प्रष्ट हुन्छ कि पत्रकारिता फेसन भएको छ । गम्भीरता घटेको छ । अर्कोकुरा सामुदायिक रेडियो जति पनि खोल्न दिने व्यवस्थालाई नियन्त्रण गर्नुपर्छ ।
मापदण्ड कति पुरा गरे सामुदायिक रेडियो खोल्न पाउने त्यो नीति ल्याउनुपर्छ । मापदण्डभित्र रेडियोले समुदायका कुरा कसरी समेट्छ ? कर्मचारीको दक्षता कति हुनुपर्छ ? सञ्चालकले कर्मचारीलाई न्युनतम तलब दिन सक्छ ? रेडियोले मापदण्ड पुरा गर्न सकेका छन् छैनन् प्रेस काउन्सिल, पत्रकार महासंघलगायत नियमन गर्ने निकायले बेला बेला अनुगमन गर्नुपर्छ । यस्ता मापदण्ड पुरा गर्न नसक्ने रेडियोलाई मर्ज गर्ने नत्र स्वतः खारेजीको व्यवस्था ल्याउनुपर्छ ।