Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सडक निर्माण गुणस्तरहिन भएपछि आठबिसकोट नगरपालिकाले चलायो डोजर 

अघिल्लो दिन अनुगमन, भोलीपल्टै 'एक्सन'
सोमबार, जेठ २९, २०८०
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकाको केन्द्र राडिमा निर्माणाधिन सडकमा डोजर लगाएर भत्काईएको छ । 

मापदण्ड विपरित र गुणस्तरहिन काम भएको पाईएपछि निर्माणकै क्रममा रहेको सडक भत्काईएको हो । नगरप्रमुख रबि केसी सहितको टोलिले निर्माणधिन सडकको अनुगमनका क्रममा  मापदण्ड विपरित निर्माण भैरहेकाे पाईएपछि आज सोमबार डोजर लगाईएको हो । 

आठविसकोट नगरपालिका ९ मा निर्माणाधिन राडि बजार देखि दाजे जोड्ने र पसानेदेखि रामघाट जोड्ने सडक अनुगमनका क्रममा मापदण्ड विपरित रहेको पाईएको थियो । सोहि सडकखण्डको गुणस्तरहिन काम भएको ठाउँमा भत्काईएको नगर प्रमुख केसीले बताउनुभयो । बाँकि काममा गुणस्तरियता कायम गर्न समेत उहाँले निर्माण कम्पनीलाई अनुरोध गर्नुभयो । 

आईतबार गरिएको अनुगमनपश्चात सडकखण्ड निर्माणमा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्न निर्माण कम्पनीलाई निर्देशन दिईएको थियो । 

अनुगमन टोलीले सडकछेउमा नाला निर्माण गर्दा गिट्टी र ढुंङ्गाको मात्रा ६०/४० हुनुपर्नेमा ढुंङ्गा मात्रै राखेर ढलान गरेको पाईएको जनाएको छ । त्यसैगरी निर्माण भएको नाला कतै भासिएको, एक हप्ता नपुग्दै भत्किएको पाईएको थियो । आरसीसी गरेको सडक समेत केहि दिनमै भत्किएर छड देखिन थालेको अनुगमन टोलीले जनाएको छ । 

बसपार्क र क्याम्पस नजिकको ढलानमा बालुवा, सिमेन्ट र गिट्टीको मात्रा नमिलेपछि भत्किन थालेको, एकातिर निर्माण पुरा नहुँदै र अर्कातिरबाट भत्किन सुरु गरेको भन्दै स्थानीय नगर सरकार समक्ष गुनासो गरेका थिए ।  

मापदण्ड मिचेर बनाईएका विकास संरचनाहरु दिगो नहुने गरेको बताउनुहुँदै नगरप्रमुख के.सी.ले गुणस्तरहिन काम सहन नसकिने उल्लेख गर्नुभयो । गलत ढंगले भईरहेको निर्माणका काम रोकेर मापदण्डसहित काम गर्न उहाँले आग्रह गर्नुभयो । स्थानीय सरकारको निर्देशन अवज्ञा गरेमा सह्य नहुने समेत उहाँको भनाई रहेको छ ।  

शहरी विकास मन्त्रालय मार्फत भईरहेको उक्त सडक निर्माणको ठेक्का गौरीशंकर हिमालयन कन्ट्रक्सन र शुभारम्भ कन्ट्रक्सन प्रालीले लिएको बताईएको छ । गौरीशंकर कन्ट्रक्सनले राडी बजारदेखि खारखारा सम्म ग्रावेल, मेसनरीवाल र नाला सहित १४ करोडमा  र शुभारम्भ कन्ट्रक्सन प्रालीले ६२ लाखमा ठेक्का सम्झौता गरेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्