सोसल मिडिया
‘अमेरिकी राष्ट्रपति नेपाल आएर प्रधानमन्त्रीलाई भेटे र १०० अर्ब डलर दिने घोषणा गरे... यस्तो हेडलाइनको समाचारसँगै सोमबारका केही अनलाइन भँगेराको टाउको जत्रा अक्षरले भरिभराउ थिए । समाचारमा निकै लामो वर्णन र व्याख्या गरिएको थियो कि रातारात कसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाल आएर प्रम ओलीलाई भेटे अनि के–के सहमति भए, अझ समाचारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भनेको भन्दै उनका कुरा पनि कोट गरिएको थियो। त्यो समाचार पढुञ्जेल लाग्थ्यो कि अचम्मै पो भएछ आइतबार अर्थात्, चैत १७ गते राती ।
केही अनलाइनमा प्रकाशित उक्त समाचार पुरै पढ्न करिब पाँच÷सात मिनेट लाग्थ्यो। समाचारमा तस्विर पनि थियो ट्रम्प र ओलीले बिमानस्थलमा हात मिलाएको। त्यस्ता समाचार प्रसारण गर्ने अनलाइनहरूमा www.nepaliinabroad.com र www. nepalsamaya.com हुन्। अन्यअनलाइनले पनि त्यस्ता भ्रामक समाचार प्रसारण गरेको भए त्यसको तथ्याङ्क पक्कै प्रेस काउन्सिलसँग सुरक्षित होला ।
जब समाचारको अन्त्यमा पुगियो त्यहाँ लेखिएको भेटियो, ‘नोटः अप्रिल फुल विशेषका लागि यो सामग्री तयार गरिएको छ । मनोरञ्जनका लागि तयार गरिएको आमपाठकमा कुनै भ्रम नपरोस्।’ अन्त्यमा जे लेखिएको भए पनि त्यो समाचारले पाठकमा सकारात्मक होस् वा नकारात्मक एकखाले भ्रम वा प्रभाव छरिसकेकै थियो। दिमागमा परिसकेको भ्रम र त्यसले पारेको प्रभाव अब कसरी हटाउने ? कुनै समाचार भूलबश वा नियोजित रुपमा प्रकाशित भइसकेपछि त्यसले मानिसको दिमागमा पारेको प्रभाव कसरी मेटाउने ? गलत समाचार अर्काइभबाट डिलिट गरे पनि अथवा ‘भूल सुधार’को सूचना प्रकाशित गरे पनि पाठकको दिमागबाट कसरी डिलिट हुन्छ ? अप्रिल फुलका नाममा गरिने त्यो ढँटुवा र पितपत्रकारिताले पत्रकारिताको खिल्ली उडाएको छ, त्यसले केवल बाघ र बाख्राको कथामा ढाँट्दा अन्ततः बाघले कसरी बाख्रा सखाप पा¥यो र गोठालो रुँदै घर फर्किनु परेथ्यो ? त्यस्तै अवस्था सिर्जना नगर्ला भन्न सकिँदैन । के पत्रकारिताले यस्तो लेख्ने छुट दिएको छ ? यदि त्यसलाई साहित्यका रुपमा लेखिएको हो भने साहित्य कोलमअन्तर्गत राख्नुपथ्र्यो, अप्रिल फुल मनाउनकै लागि लेखिएको भए ‘अप्रिल फुल विशेष’ अथवा शीर्षकमै उक्त प्रसङ्ग खुलाएर लेखिदिएको भए भ्रम हुने थिएन । सोही अप्रिल फुलकै दिन अर्थात्, चैत १८ गते सोमबारका अनलाइनन्यूज पोर्टलहरू र सबै दैनिक पत्रपत्रिकाले बारा र पर्साको दुर्दान्त प्राकृतिक प्रकोप (आँधी) को समाचारलाई प्राथमिकताकासाथ प्रकाशन÷प्रसारण गरेका थिए । त्यसो त यो समाचारलाई पनि आम पाठक, दर्शक, स्रोता, सरकार र जनताले त्यही अप्रिल फुलकै समाचारको रुपमा बुझेको भए के हुन्थ्यो ? अप्रिल फुलकै दिन उसैगरी उत्तिकै प्राथमिकतासाथ अपत्यारिलो ढंगले आएका ती समाचारलाई पनि पत्याउनै पर्ने कारण नहुन पनि त सक्थ्यो नि ! त्यसैले पत्रकारिता केवल खेलौना होइन अनि यो कोरा कल्पना पनि होइन ।
सत्य, तथ्य, निष्पक्ष वस्तुनिष्ठ घटना, दुर्घटना, परिवेश र परिस्थितिको प्रस्तुति नै पत्रकारिता हो। सामग्री पठनीय बनाउने कला त पत्रकारको हो। तर पत्रकारिताले आम मानिसलाई ढाँट्ने, छल्ने र दुःख दिने होइन, यो समाजको सेवक हुन जरुरी छ । त्यसैले पत्रकारितालाई राज्यको चौथो अंग पनि भन्ने गरिएको हो। चौथो अंगका रुपमा समाजले बुझेको र त्यहीअनुसार व्यवहार गरिएको यो पेशालाई कसैले पनि दुरुपयोग गर्नु हुँदैन । यसलाई थप जिम्मेवार र मर्यादित पार्दै लैजाने काम हामी पत्रकारकै हो। एउटा पत्रकार र मिडियाले गर्दा आमपत्रकार र पत्रकारिता जगतकै बेइज्जत र बद्नाम गर्ने काम कहीँ कतैबाट हुनुहुँदैन । त्यस्ता गैरजिम्मेवार मिडिया पाठकको नजरबाट विस्तारै गिर्दै जानेछन् र अन्ततः प्रकाशकले त्यस्ता मिडिया आफैं बन्द गर्न बाध्य हुनुपर्ने छ ।